|

काठमाडौं :  अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ लोकार्पण गरिएको छ। गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयंले संयुक्त रूपमा उपन्यास सार्वजनिक गरेका हुन्।

साहित्यकार धराबासी र कुमारी लामाले उपन्यासका विषय र शैलीका पक्षका आ–आफ्नो विचार प्रस्तुत गरेका थिए। मोहन बास्तोलाले सहजीकरण गरेको कार्यक्रममा धराबासीले समाजका यथार्थ पात्रहरूको जीवन्त घटना प्रस्तुत गरिएको विचार व्यक्त गर्दै यसमा प्रयोग गरिएको इ–प्रविधि, सर्जरीजस्ता नयाँ प्रविधिले उपन्यासलाई नयाँ विषयतिर उन्मुख बनाएको बताए। लेखक, पाठक तथा चरित्रलाई समेत संवाद गराएर उपन्यासभित्रै प्रस्तुत गरिएको भन्दै उनले उपन्यासमा उत्तरआधुनिक शैलीको प्रयोग गरिएको बताए।

कुमारी लामाले उपन्यास नारीवादको वैचारिक दृष्टिले सबल भए पनि पुरुषप्रतिको परम्परागत समर्पणलाई परित्याग गर्न नसकेको धारणा व्यक्त पनि व्यक्त गरिन्। नारीस्रष्टाका कलमबाट नारीका विचार तथा भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको भन्दै उनले उपन्यासमा यस प्रकारको परम्परा आउनुमा लेखकीय कमजोरीभन्दा सामाजिक धरातलको दोष रहेको बताइन्।

उपन्यासकार अर्यालले उपन्यासमा पात्रहरू स्वतन्त्र रहेकाले तिनीहरूको भूमिकाअनुसार आफ्नो चरित्र निर्माण गरेको बताइन्। नारीका उपन्यासहरूमा नै विद्यावारिधि अनुसन्धान गर्दै गरेकी अर्यालले नारीस्रष्टाका धेरैजसो उपन्यासहरू परम्परागत शैलीको भएकाले आफूले यसमा नयाँ प्रयोग गरेको बताइन्।

गुञ्जनका अध्यक्ष पाठकले नारी साहित्यकारहरूको यस संस्थामार्फत् कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पहिलो प्रयासमा नै यस प्रकारको सशक्त उपन्यास प्रकाशन गर्न सकेको भन्दै धन्यवाद व्यक्त गरिन। उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.