|

लमजुङ : ठाडो भाकाका सर्जक भेडीखर्के साइँलाको अर्धकदको सालिक अनावरण गरिएको छ। साेमबार ठाडो भाकाको संरक्षण र संवर्द्धनप्रति उनले गरेको योगदान स्वरूप वार्षिक तिथिका अवसरमा भेडीखर्के साइँला उर्फ स्वर्गीय दीर्घराज अधिकारीको शालिक अनावरण गरिएको हो।

नागरिक स्तरबाट भेडीखर्के साइँला संज्ञाबाट प्रख्याति कमाएका ठाडो भाका गायक अधिकारीको २०७४ भदौ २६ गते निधन भएको थियो। वार्षिक पुण्य तिथिअनुसार असोज १४ गते ‘भेडीखर्के साइँला स्मृति प्रतिष्ठान’ले उनको शालिक सुन्दरबजार नगरपालिका- ६ लक्ष्मीनारायण मन्दिर परिसरमा स्थापना गरेको छ।

भेडीखर्के साइँलाको शालिक अनावरण नेपाली राष्ट्र गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)को बाहुलीबाट भएको थियो। भेडीखेर्के साइँलाको गीत सुन्न कार्यक्रममा सर्वसाधारणको जमघट हुने गर्थ्यो। शालिक अनावरणमा भने स्रोताहरूको भन्दा पनि कलाकारको जमघट थियो। ‘ठाडो भाका नयाँ पुस्तामा हस्तान्तरण हुनमा भेडीखेर्के साइँलाको शालिकले केही न केही ऊर्जा दिन्छ’, भेडीखर्के साइँलाका समकालीन देवी गुरुङले बताए। उनले भेडीखर्केको बिँडो नथामे पनि नयाँ पुस्ताले ठाडो भाका थाम्नुपर्ने धारणा राखे।’

भेडीखर्के साइँलाबाट ठाडो भाका सिकेर विभिन्न कार्यक्रमहरूमा गाउने नयाँ पुस्ताकी तनहुँ बन्दीपुर निवासी अनिता गुरुङले भनिन्, ‘भेडीखर्के साइँला बाको बिँडो थाम्न नसके पनि ठाडो भाका गाउँछु।’ शालिक अनावरणका अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानहरूबाट ठाडो भाका गायनका नयाँ पुस्ताहरू उपस्थित भएको भेडीखेर्के साइँला स्मृति प्रतिष्ठानका अध्यक्ष शमशेर लौडारीले बताए। उनका अनुसार शालिक अनावरपछि सबै क्षेत्रबाट उपस्थित ठाडो भाका गायकहरूबाट भेडीखर्के साइँलाको विषयमा ठाडोभाका गायन भएको थियो।

ठाडो भाकालाई जीवन्तता दिन भेडीखर्के साइँलाको शिष्यको बाक्लो उपस्थिति रहेको थियो। स्टकोटमाथि कोट अनि शिरमा ढाका टोपी, आँखामा पावरवाला चस्मा र जोश जाँगर भएकका भेडीखर्के साइँलाको अर्धकदको शालिक जस्ताको तस्तै उतारिएको प्रतिष्ठानका सचिव सूर्यबहादुर केसीले बताए।

सुन्दर बजार नगरपालिका ११ सिन्दूरे तुर्लुङकोटमा १९९० साल भदौ २९ गते शुक्रबार साइँला छोराको रूपमा जन्मिएका स्व.अधिकारीको भेडीगोठमा बाल्यकाल बितेको थियो। ठाडो भाका गीत गाउन थालेपछि उनी भेडीखर्के साइँला भनेर स्राेताहरू माझ परिचित भएका थिए। देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले गाउने भाका ठाडो भाकालाई स्व. भेडीखर्के साइँलाले जोगाएका थिए। २०६४ सालमा हिमालचुली कला साहित्य प्रतिष्ठानले भेडीखर्के साहिँलालाई ‘ठाडो भाका शिरोमणि’ घोषणा गरेको थियो।

 भेडीखर्केले ठाडोभाका गीतको ‘मेरो सेरोफेरो’ प्रकाशन गरेका थिए। अहिले भेडीखर्केका अनुयायीहरूमा देउबहादुर दुराका नाति यामबहादुर दुरा, बुद्धिमान दुरा (धम्पु), उत्तम गुरुङ, मञ्जु बिक, सीता दुरा, अनिता गुरुङ, शंकर परियार, राधिका भन्डारी जस्ता अनगिन्ती कलाकारहरू ठाडो भाका गायनको मैदानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.