आकर्षण बढाउन कर्मचारीको नि:शुल्क स्वास्थ्य बीमा

|

सुर्खेत : कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको स्वास्थ्य बीमासम्बन्धी सरोकारवालाहरूकाे अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।

स्वास्थ्य संस्थामा अन्य बिरामीको तुलनामा बिमित बिरामीलाई फरक नजरले हेर्ने र पालोमा उपचार नगरिदिने, वेवास्था गर्ने लगायतका समस्याका कारण नागरिकहरूको बीमा कार्यक्रममा आकर्षण बढ्न नसकेको उनीहरूले बताएका हुन्। उनीहरूले स्वास्थ्य संस्थाहरूमा सेवा गुणस्तरीय नभए सरकारको बीमा कार्यक्रमा सफल नहुने बताए।

जिल्ला स्वास्थ्य सुर्खेतका प्रमुख धीरजंग शाहले बीमा दर्ता प्रक्रिया प्रभावकारी नभएको, बीमा दर्ता अधिकारी गाउँघरमा पुग्नु नसकेको र सक्रियता कम भएकाले पनि बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्य बीमा दर्ता अधिकारीहरू सबै ठाउँमा पुग्न नसकेको बताए। ‘स्वास्थ्य संस्थासँग सहकार्य र समन्वयमा दर्ता प्रक्रिया अगाडि बढाउनतिर पनि ध्यान दिनुपर्छ’ उनले भने।

कर्णाली प्रदेश सभाकी सदस्य पद्मा खड्काले बीमाका बारेमा नागरिकहरूले बुझे पनि बीमा नगरेको बताइन्। ‘बिमकहरू गाउँ-गाउँमा पुगेर बीमा गराउनु पर्ने हो तर त्यसो दखिँदैन’, उनले भनिन् ‘बीमाको प्रदेश बोर्डको स्थापना हुनुपर्छ। स्वास्थ्य संस्थाबाट सेवा लिँदा झण्झटिलो, लामो प्रक्रिया र वास्ता नगरेको नागरिकको गुनासो आएको छ। यसलाई सम्बोधन गरिनुपर्छ।'

कर्णाली अस्पतालका तथ्यांक अधिकृत विनोद बस्नेतले २५० बिरामी मध्ये  ६० देखि ७० जनासम्म बिमित बिरामी आउने गरेको बताए। ‘बीमा कार्यक्रमले स्वास्थ्य संस्थामा थप काम आइपरेको छ’ उनले भने, ‘जनशक्ति अभाव छ। थप कामको जिम्मेवारी भएकाले जनशक्ति पनि थप्नुपर्ने देखिन्छ।’ उनले थपे,‘बिमितको उपचारका लागि प्रविधिको विकास गर्नु पर्ने देखिन्छ। साथै छुट्टै सफ्टवेयरको व्यवस्था पनि गरिनु पर्दछ।’ सामाजीक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा स्थानीय तहमा बीमा बोर्डको संरचना पुर्‍याउनुपर्ने बताइन्। ‘वडास्तरमा पनि संरचना बनाएर सक्रियताका साथ बीमा कार्यक्रमको लागि अभियान नै सञ्चालन गरिनुपर्छ’ उनले भनिन्।


सुर्खेतका प्रमुख जिल्ला अधिकारी विनोद यादवले सरकारी बीमा बोर्डले नाफालाई मात्र नभएर जनताको स्वास्थ्यमो ख्याल गर्नुपर्ने बताए। सरकारका तिनै तहले बीमाको लागि जिम्मेवारी लिनुपर्ने र स्थानीय सरकारसँग समन्वय गरेर काम गरेमा प्रभावकारी हुने उनको सुझाव छ।

कर्मचारीको निशुल्क बीमा

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री कर्णालीमा कर्मचारी आउन नमानी रहेको अवस्थामा कर्णालीमा आउने कर्मचारीको स्वास्थ्य बीमा निशुःल्क गरेर भए पनि कर्मचारीलाई कर्णालीमा आकर्षण गर्ने योजना  प्रदेश सरकारको रहेको बताए। ‘कर्मचारीका लागि मात्र नभएर प्रदेशका पत्रकारहरूलाई निशुःल्क स्वास्थ्य बीमा गराउने तयारी गरेका छौँ', मन्त्री रावलले भने, ‘बाल विकास केन्द्रमा पढाउने शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि पनि निशुःल्क स्वास्थ्य बीमा गराउने सरकारले सोचिरहेको छ।’

मन्त्री रावलले जनताको स्वास्थ्य सरकारको दायित्व भएकाले आधारभूत स्वास्थ्य जनताले पाउने कुराको ग्यारेण्टी प्रदेश सरकारले गर्ने बताए। कर्णालीमा १०० प्रतिशत नागरिकको स्वास्थ्यबीमा गर्ने गरी सरकारले काम गर्ने उनको भनाई छ। राष्टिय बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादले बोर्डले कर्णाली प्रदेशलाई अग्रपंक्तिमा राखेर काम गर्ने बताए।

बीमा बोर्ड राज्यको नयाँ संरचना भएकाले ऐन बनिसकेको र नियमावली बन्ने तयारी मा रहेको जानकारी दिए। बोर्डको संरचना प्रदेश स्तरमा कस्तो बनाउने, भौतिक संरचना र मानवीय जनशक्तिको बारेमा गृहकार्य गरेर निर्णय लिने उनको भनाई छ। 

कर्णालीमा सबैभन्दा कम सुर्खेतमा 

कर्णालीमा सबैभन्दा कम सुर्खेतमा ६ प्रतिशत नागरिकले मात्र सरकारी बीमा गरेका छन्। कर्णाली प्रदेशमा ८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको छ।कर्णाली प्रदेशमा जम्मा १३ प्रतिशत नागरिकले बीमा गरेकोमा सुर्खेतमा सबैभन्दा कम नागरिकले बीमा गरेका छन्। सुर्खेतमा चार हजार ६८८ परिवारले मात्र बीमा गरेका छन्। 

कालिकोटमा पैसा तिर्न सक्ने ८५१ परिवारले र अति गरिब दुई हजार १०७ परिवारले बीमा गरेका छन्। त्यस्तै जाजरकोटमा पैसा तिर्न सक्ने दुई हजार,१०३ परिवार र अति विपन्न एक हजार ८९३ परिवारले रुकुम पश्चिममा तिर्न सक्ने तीन हजार ४१२ परिवार र अति गरिब इक हजार ८२ परिवारले, जुम्लामा  दुई हजार ४८७ परिवार र अति गरिब एक हजार ३३० परिवारले बीमा गरेका छन्। दैलेख सल्यानको तथ्यांक संकलन भइरहेको बताइएको छ। 

कर्णालीमा २१ बीमा सेवा प्रदायक संस्था  

कर्णाली प्रदेशभरि अहिले २१ वटा स्वास्थ्य संस्थाबाट सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सेवा प्रवाह भइरहेका छन्। जसमा सबैभन्दा बढी सुर्खेतका संस्थाले सेवा प्रवाह गरिरहेका छन्। सुर्खेतमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र र अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट बीमाका स्वास्थ्य सेवा प्रवाह भइरहेका छन्। 

यसैगरी रुकुम पश्चिमा, जिल्ला अस्पताल, रुकुम पश्चिमा सल्ले चौरजहारी मिसन अस्पताल, कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र, र आँखा अस्पताल, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र, जाजरकोटमा जिल्ला अस्पताल, दल्ली प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्र र लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह भइरहेको छ। यसैगरी सल्यानका थारमार प्राथमिक स्वास्थ्य केन्द्र र दैलेखको जिल्ला अस्पतालबाट बीमा स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.