|

कास्की : कास्कीको अन्नपूर्ण गाउँपालिका- १ अधिकारी डाँडाका चन्द्रबहादुर कुँवर (८०) को घर २०७२ बैशाखमा गएको भूकम्पले बस्नै नहुने गरी भत्कायो। घर भत्किएसँगै सम्पतिको नाममा त्यही घर मात्र रहेको कुँवरको परिवार विचल्लीमा पर्‍यो। उनी दैनिकी चलाउन प्रत्येक दिन अर्काको खेतबारीमा काम गर्न जान्छन्। यसरी नै उनले वर्षौंदेखि आफ्नो छ जनाको परिवार पाल्दै आएका छन्।

चार छोरीमध्ये एकले विवाह गरिसकिन्। घरमा अब तीन छोरी र बुढेसकाल लागेका दुई बुढाबुढी छन्। भूकम्पले घर भत्काएसँगै उनीहरूको परिवार नजिकैको छिमेकीको घरमा बस्न बाध्य छ। छिमेकी पनि पोखरा झरेका कारण पानी पर्दा चुहिने घरमा भए पनि जसोतसो दैनिकी चल्दै छ कुँवर परिवारको। उनको उमेर अब बसेर खाने हो। तर परिवारमा कमाउने कोही नभएपछि उनी अहिले पनि अर्काको खेतबारीमा हलो, कुटो, कोदालो गरेर आफ्नो परिवार पाल्दै आएका छन्। आफ्नो जग्गामा वर्षभरि खाने अन्न पनि पुग्दैन। त्यसैले पनि अर्काको खेत अधियाँ गरेर वर्षभरि खाने अन्न जोहो गर्छन्।

८० वर्षको उमेर पुग्दासम्म उनलाई एकैछिन पनि फुर्सद छैन। शुक्रबार उनको घरमा पुग्दा पनि उनी काम गर्न खेतमा गएका थिए। घरमा कोही थिएनन्। केहीछिनपछि उनका दुई छोरी हस्याङफस्याङ गर्दै आइपुगे। उनीहरूले बुबा खेतमा गएको र बेलुकी मात्र घर फर्कने बताए। भूकम्पले घर भत्काएपछि उनको परिवार घरविहीन बनेको रहेछ। पुनर्निर्माणका लागि भनेर सरकारले सहायता स्वरूप पहिलो किस्ताअन्तर्गत गत वर्ष ५० हजार रुपैयाँ दिएको रहेछ। त्यसमा ऋण गरेर केही रकम थप गरेर उनले जग हाल्ने, पिलर हाल्ने र डिपिसी गर्ने काम जसोतसो गरेका रहेछन्। त्यसपछि उनको उपाय चलेनछ। अहिले उनको बनाउँदै गरेको घर पैसाको अभावमा अलपत्र अवस्थामा पुगेको छ।

चन्द्रबहादुरका छोरीहरू लीला र संगीता

दोस्रो किस्ता आएपछि मात्र घर बनाउने भनेर उनी बसेका रहेछन्।  केही दिनअघि दोस्रो किस्तावापतको एक लाख ५० हजार रुपैयाँ उनको खातामा आएको रहेछ तर उनले निकालेका रहेनछन्। त्यति पैसाले पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसार घर नबन्ने पक्का जस्तै छ। अब कसरी घर बनाउने भन्ने चिन्तामा छन् उनी।

उनका दुई छारी अहिले पढ्दै रहेछन्। एक छोरी कक्षा ८ र अर्की १० मा। लीला र मीनालाई पढाउँदा वर्षको करिब १०-१२ हजार रुपैयाँ खर्च हुने गरेको जेठी छोरी संगीताले बताइन्। 'बहिनीहरूलाई पढाउन वर्षको १० हजारभन्दा धेरै खर्च हुन्छ', उनले भनिन्, 'मीना दश कक्षामा पढ्छे। खर्चले पुग्दैन, अब बहिनीलाई नपढाउने कुरा हुँदै छ।'

उनीहरूको दैनिकी अर्काको मेलापात गएर र अधियाँ गरेरै चलेको छ। 'अर्काकोमा मेलापात जान्छौँ। अधियाँ गरेर खाँदै आएका छौँ', उनले भनिन्, 'बहिनीहरू पनि छुट्टीका बेलामा मेलापात जान्छन्। यसरी नै चल्दै आएको छ।'

घर बनाउन पाए धेरै सहज हुने उनी बताउँछिन्। 'घर बनाउन पाए धेरै सहज हुने थियो। खान बस्न त बरु यसरी नै चल्छ। अब घरधनी पनि आउने भन्दै छन्। त्यसबेला त झनै समस्या होला। अरूको घरमा कतिबेला निकालिदिन्छन् पत्तै हुँदैन', उनले भनिन्, 'बुबाले पनि घर बनाउने त भनिरहनुभएको छ तर कसरी बनाउने भन्नेचाहिँ केही सोचेको छैन।' संगीताले पनि घरको कमजोर अर्थिक अवस्थाकै कारण कक्षा १० भन्दा माथि पढ्न सकेकी रहिनछन्। उनी पनि पोखरा बसेर केही महिना काम गरिन् तर पोखराको महँगीले गाउँ नै फर्कन बाध्य भइन् उनी। 'पोखरा बसेर तीन महिना काम गरेँ। त्यहाँ प्याकेजिङको काम थियो', उनले भनिन्, 'तर पोखरा बसेर दैनिक खर्च धान्नै गाह्रो। त्यसैले गाउँ नै फर्कें।'

चन्द्रबहादुरकी कान्छी छोरी लीलालाई कहिलेकाहीँ त पढाइ नै छाडिदिऊँ जस्तो लाग्छ। अरू साथीले झैँ लुगाकपडा लगाएर विद्यालय जान नपाउँदा, विद्यालयमा खाजा खान नपाउँदा त उनलाई विद्यालय नै जान छाडिदिऊँ कि जस्तो लाग्छ रे! अझ ठूलो पीडा त घरमा पढ्ने समय नपाउँदा हुँदोरहेछ उनलाई। 'स्कुलबाट आएर घरमा काम गर्नै पर्छ। पढ्ने समय भनेको साँझ हो', उनले भनिन्, 'तर साँझ पनि घरमा बिजुली छैन। टुकीको भरमा कति पढ्नु र?'

उनका बुबा अहिले जसरी पनि घर बनाउनुपर्छ भन्नेतर्फ लागेका रहेछन्। 'बस्नलाई घर बनाउनै पर्छ', उनले भनिन्, 'बुबाले सरकारले दिएको पैसाले जति बन्छ, त्यति बनाउनुपर्छ भन्नुभएको छ। तर केके मापदण्ड हुनेरहेछ। मापदण्डअनुसार बनाउन धेरै खर्च लाग्नेरहेछ।'

भूकम्पले घर भत्काएमध्ये त्यस गाउँपालिकामा सबैभन्दा गरिब चन्द्रबहादुरकै परिवार रहेको उक्त गाउँमा पुनर्निर्माणका लागि खटिएकी इन्जिनियर जमुना भट्टराई बताउँछिन्। 'गाउँमै सायद सबैभन्दा गरिब उहाँहरू होला। मलाई त सुरुमा उहाँहरूको कुरा सुन्नेवित्तिकै आँसु आयो', उनले भनिन्, 'तर सरकारको मापदण्डबाहिर रहेर हामीले पनि केही गर्न सकिँदैन। मैले उहाँहरूका बारेमा विभिन्न ठाउँमा कुराचाहिँ राखिरहेकी छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.