मुस्ताङ : दसैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा र काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्।
भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन्। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ। सोमबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा. शिव भुसालले बताए।
दसैँका लागि जिल्लाबाट करिब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौं लैजाने भएको छ। ५५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले जानकारी दिए। थप ४५० च्याङग्रा पठाउने तयारी भइरहेको छ।
मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार रुपैयाँ तथा भेडा १४ हजारदेखि १७ हजारका दरले बिक्री भइरहेको छ। प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडाैंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।