|

विराटनगर : प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै संचारकर्मीमाथि संसदको रोष्टमबाटै तितो पोखेका छन् । वर्षे अधिवेशनको अन्त्यका लागि प्रदेश १ सभा संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले यस्तो बताएका हुन्।

मुख्यमन्त्रीले सपनामा देखेर प्रदेश सरकारलाई संचारकर्मीले स्तरहीन टिकाटिप्पणी र कलम चलाएको भन्दै दुःख पनि व्यक्त गरे। उनले सके सरकारले गरेको कामको सकारात्मक कलम चलाउन र नसके स्तरहीन टिकाटिप्पणी नगर्न पनि संचारकर्मीलाई सचेत गराए। ‘विषयलाई हल्का ढंगले लिइयो, मिडियाको दुरुपयोग भयो,’ मुख्यमन्त्री राईले भने, ‘न्यूनतम व्यवसायिक मर्यादाको ख्याल नगरी त्यतिकै जस्तो पायो त्यस्तै लेख्ने, सहतमा टिका टिप्पणी गरी मिडियामा प्रकाशित गर्ने र सवै विषयमा छताछुल्ल पार्ने काम भयो।’  

मुख्यमन्त्री राईले संचारकर्मीबाट प्रदेशसभा सदस्यहरूलाई मानमर्दन भएको र लान्छित गर्ने काम भएको पनि बताए। मुख्यमन्त्री राईले आफूहरू त्यतिकै नआएको भन्दै  पनि उल्लेख गरे। ‘अस्वस्थ र नीच स्तरका अभिव्यक्ति र विचार सम्प्रेषण गरिएको छ। के ठानिरहेको छ प्रदेशसभा र मानीय सांसदहरूलाई?,’ मुख्यमन्त्रीले प्रश्न गरे,चेतावनियुक्त शैलीमा भने ‘प्रदेश हाँक्ने उद्देश्यले आएका माननीयहरूलाई अपमान गर्ने कामप्रति सह्य हुँदैन’ ।

प्रदेशसभाका ९३ जना सांसदहरू प्रदेशसभाको राजधानी र नामकरण गर्न अख्तियार प्राप्त भएको भन्दै उनले स्थायी राजधानी र नामको विषयमा कसैलाई पनि पजनी गर्ने अधिकार नभएको बताए। ‘९३ जना सांसदहरू अख्तियार प्राप्त जनप्रतिनिधि हुन्,’ मुख्यमन्त्री राईले भने, ‘स्थायी राजधानी र नाम पजनी गर्ने अधिकार अरु कसैलाई हुँदैन। अलिकति कलम चलाउँदा विचार गरेर मर्यादालाई ख्याल गर्न जरुरी छ।’ मुख्यमन्त्रीले संचारकर्मीलाई इंगित गर्दै सपना देखेर समाचार नबनाउन पनि आग्रह गरे। ‘सपना देखेर समाचार लेख्नु हुन्छ कि क्या हो तपाईंहरू,’ मुख्यमन्त्रीले भने, ‘सके राम्रा कुराहरू लेख्नुहोला नसके कमजोर स्तरहीन प्रदर्शन नगर्नु होला।’

मुख्यमन्त्री राईले प्रदेशसभाको यही अधिवेशनबाट आफूहरूले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने तयारी गरेको भए पनि सभामुख र दलहरूसँगको छलफलपछि यो विषयलाई रोकिएको पनि बताए। उनले सकेसम्म उच्चतम सहमतिको आधारमा प्रदेशसभाको तेस्रो अधिवेशनबाट नाम र राजधानीको टुंगो लगाउने पनि बताए। 

झण्डै आधा घण्टाको सम्बोधनमा मुख्यमन्त्री राईले त्यसमध्ये आधा समय पत्रकार तथा संचारकर्मीका बिषयमा गुनासो पोखेका थिए। तर पत्रकारले कुन समाचार र कस्ता समाचार हल्का भए र स्तरहीन भयो भन्ने विषयमा भने केही बोलेनन्। 

पत्रकार महासंघ प्रदेश १ का महासचिव विवके गौतमले संचारकर्मीलाई आफ्नो गल्ती ढाकछोप गर्न गाली गलौज गरिएको भन्दै आपत्ति जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.