|

काठमाडौं : चिनी उत्पादक संघले पाँच दिनभित्र किसानहरूको बक्यौता रकम तिर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिनभित्र किसानहरूको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन्। सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको मंगलबार बसेको बैठकमा उनले चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरूको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रडिङमार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने सर्त पनि अघि सारे।

अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी बिक्री हुँदा आफूहरूले किसानहरूलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय  समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाए। किसानहरूको एक अर्ब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ।

संघले चिनीको मूल्यवृद्धि नभएको दावी पनि गरेको छ। गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ। अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तीएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरूले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टिकरण दिए।

बैठकमा उपसमितिका सदस्यहरूले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरूको चर्को आलोचना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.