|

बाँके : बाँकेको खासकुसुम क्षेत्रका बासिन्दाले ३० वर्षको लामो प्रयासपछि मंगलबारदेखि विजुली बाल्न पाएका छन्। ऊर्जा, जलस्रोेत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार बाँकेको राप्ती सोनारी-१ कुसुम बैरियामा निर्माण भएको अत्तरिया ग्रीड शाखाअन्तर्गत कुसुम सब स्टेसन १३२ र ११ केभी लाइनका उद्घान गरेपछि सो क्षेत्रका दुईहजार ५०० घर परिवारले विजुली बाल्न पाएका हुन्। 

आफ्नै घरको आँगनबाट राष्ट्रिय प्रसारण लाइन गए पनि ठूलो संघर्षपछि विजुली बाल्न पाएको कुसुम क्षेत्रका बासिन्दाले बताएका छन्। मन्त्री पुनले उद्घाटन गरेसँगै कुसुम क्षेत्रका बासिन्दाको विजुली बाल्ने सपना पूरा भएको स्थानीय छविलाल ओलीले बताए। विद्युत उद्घाटन भएपछि पहिलो चरणमा राप्ती नदी वारीका बासिन्दाले मात्र विजुली बाल्ने पाउने भएका छन्।

पहिलो चरणमा एक हजार परिवारलाई विद्युत वितरण गर्ने कार्यक्रम रहेको विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ। उद्घाटन कार्यक्रममा मन्त्री पुनले आगामी दुई महिनाभित्र बाँकेको सबै गाउँपालिकामा विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाइएको बताए। उनले विद्युतीकरणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए।

मन्त्री पुनले केही सरकारी नीतिका कारण बाधा अड्चन भएको बताउँदै विकास योेजनाका काममा ढिलो गर्नेलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे। उनले भौतिक र मानवीय विकास नभई विकास सम्भव नहुने भन्दै सरकारले यही दुई विषयलाई प्राथमिकता दिएको बताए। उनले योजनाको काम लिएर नगर्नेको पहिचान गरी कारवाही गरिने स्पष्ट पारे।

मन्त्री पुनले निर्माण व्यवसायीको कारण विकास निर्माणका योजनाहरू निर्धारित समयमा सम्पन्न नहुने गरेको दावी गरे। उनले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा विद्युतीकरण हुन नसकेको कारण आफूले पत्ता लगाएको बताउँदै उक्त ठाउँमा चाँडो भन्दा चाँडो विद्युतीकरण हुने आश्वासन दिए।

विद्युत प्राधिकारणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले जनताको लगानी भएको कुसुम ग्रामीण सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको विद्युतीकरण आयोजनाअन्तर्गत आगामी दुई महिनाभित्रै सबैले विद्युत उपयोग गर्न पाउने गरी काम हुने प्रतिबद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.