|

पोखरा  : उपल्लो मुस्ताङमा नयाँ एयरपोर्ट निर्माणको लागि डिपिआरको काम सुरु गरिएको छ। बुधबार घटस्थापनाको दिन साइत हेरेर सर्वेक्षणको काम सुरु गरिएको मुस्ताङबाट प्रदेशसभा सदस्यमा निर्वाचित इन्द्रधारा विष्टले जानकारी दिए। 

‘धेरै पहिलेदेखि यसको चर्चा भइरहेको थियो’, उनले भने, ‘अब भने यसले पक्कै गति लिनेछ। घटस्थापनाको दिन साइत पारेरै काम सुरु गरिएको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारी ज्यूको अग्रसरतामा अहिले प्राविधिक टोली गएर काम सुरु गरेको हो।’

उपल्लो मुस्ताङ आवतजवत गर्नका साथै दामोदरकुण्डसँगै विभिन्न धार्मिक क्षेत्रमा जाने तीर्थयात्रीहरुलाई लक्षित गरेर विमानस्थल निर्माणको अवधारणा ल्याइएको विष्टको भनाइ छ। 

बुधबार भएको निरीक्षणमा उद्घाटन कार्यक्रममा प्राविधिक टोलीसँगै प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, ल्होघेकार दामोदरकुण्ड गाउँपालिकाका प्रमुख राजु विष्ट, वडाध्यक्ष टासीढिन्डु ठकुरी, पूर्वगाविस अध्यक्ष माया विष्टलगायत स्थानीयहरुको सहभागिता रहेको थियो। नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेको नेतृत्वको प्राविधिक समूहले विमानस्थल निर्माणको लागि भौगोलिक सर्वेको काम सुरु गरेको हो। अब उक्त टोली नापजाँचको प्रारम्भीक रिपोर्ट लिएर मात्र फर्कने विष्टको भनाइ छ।  विमानस्थल सर्वेको काम पर्यटन मन्त्रालकै कार्यक्रमअनुसार गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.