|

भक्तपुर : हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौ राते मेला सुरु भएको छ। घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्छ। 

राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ। नवरात्र मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा टोलटोलबाट स्थानीय बाजा बजाउँदै केटाकेटी, युवायुवती र बुढाबुढी मेलामा सहभागी भएको स्थानीवासी जानकी श्रेष्ठले बताइन्। 

नौराते मेलामा पहिलो रात ब्रम्हायणी, दोस्रो महेश्वरी, तेस्रो कुमारी, चौथो भद्रकाली, पाँचौ महाकाली, छैटौँ महालक्ष्मी, सातौँ इन्द्रायणी, आठौँ त्रिपुरासुन्दरी र नवौँ रात बाराहीस्थानमा गरी नौ शक्तिपीठमा मेला लाग्छ। ब्रम्हायणीमा भने घटस्थापनाको रात, नवमीको रात र दशमीको दिनभर मेला लाग्छ। 

नवमीका दिन राति गछेंस्थित नवदुर्गा द्यौ छे अर्थात् नवदुर्गा मन्दिरमा रहेको महिषासुर दैत्यको प्रतीक मानिने खम्ये अर्थात् राँगोलाई मदिरा खुवाएर लठ्याइ पूजा गरेर लखेट्दै राति नै ब्रह्मायणी पुर्‍याएर बध गर्ने परम्परा छ। संस्कृतिकर्मीका अनुसार यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वासमा यो जात्रा मनाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.