|

दाङ : दसैंका लागि हरेक वर्ष दाङबाट काठमाडौं पठाउँदै आएको खसीबोका यस वर्ष नपठाउने भएको छ। खाद्य संस्थान केन्द्रीय कार्यालय काठमाडौंले चाडपर्वका लागि यस वर्षको दसैंका लागि दाङबाट ५०० वटा खसीबोका मगाएको थियो। तर, खाद्य संस्थान अञ्चल कार्यालय दाङले खसीबोका उपलब्ध गराउन नसक्ने भएको छ।

ढुवानीको समस्याले दाङबाट खसीबोका काठमाडौं पठाउन नसकिएको अञ्चल कार्यालय दाङका निमित्त प्रमुख कृष्ण चौधरीले बताए। ‘केन्द्रले दाङबाट ५०० खसीबोका काठमाडौं पठाउनु भनी परिपत्र गरेको थियो,’ उनले भने, ‘तर ढुवानीको व्यवस्था नहुँदा खसीबोका काठमाडौं पठाउन सकेनौं।’
विगतमा भाडाका गाडीबाट खसी–बोका काठमाडौं पठाइए पनि यस वर्ष भाडाका गाडीले ढुवानी गर्न नमानेकाले पठाउन नसकेको कार्यालयका निमित्त प्रमुख चौधरीले बताए। गाडीमा लाँदा बाटोमै मर्ने र त्यो घाटा सम्बन्धित गाडीवालाले नै व्यहोर्नुपर्ने भएकाले गाडीवालाले ढुवानी गर्न नमानेको बताइएको छ। 

‘गत वर्ष पनि हामीले निजीबाट ढुवानी गर्न पठाएका थियौं, त्यतिबेला ४/५ वटा खसी–बोका बाटोमै मरेका थिए’ उनले भने, ‘त्यसको घाटा स्वयं गाडीवालाले व्यहोर्नुपर्छ, त्यही भएर पनि रिस्क लिन मान्दैनन्।’

ढुवानीको व्यवस्था नहुँदा यस वर्ष खसीबोका समेत खरिद नगरिएको कार्यालयले जनाएको छ। अञ्चल कार्यालयको एउटा गाडी भए पनि त्यसले खाद्यान्न सामान मात्रै ढुवानी गर्ने गरेको छ। दाङबाट बर्सेनि दसैं, तिहार, छठपर्वका लागि खसी–बोका मगाउँदै आएको छ। गत वर्ष दाङबाट ३८५ खसी–बोका काठमाडौैं पठाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.