|

काठमाडौं : शुक्लाफाँटा नगरपालिका कार्यालयसँगै जोडिएको झलारी स्वास्थ्य चौकीमा भौतिक पूर्वाधारको अभाव रहेको छ। स्वास्थ्यचौकी संचालनका लागि पर्याप्त भवन नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

भवनको अभावमा एउटै कोठामा स्टोर, भेटघाट कक्षका रुपमा प्रयोग भइरहेको छ। बिरामी चेकजाँच गर्ने कक्षमै कार्यालय सञ्चालन हुँदै आएको छ। भवनको ग्यालरीलाई बिरामीले विश्राम कक्षका रुपमा प्रयोग गर्दै आएका छन्। रात्री डयुटीमा रहने तीनजना कर्मचारीले एउटै बेडमा सुत्नु परेको छ। स्वास्थ्य चौकीका सिनियर अहेव हरि नाथले भने, ‘भान्सा घर समेत नहुँदा सोही कोठाको कुनामा भान्सा सञ्चालन गर्नुपरेको छ।’

बर्थिङ सेन्टर सञ्चालन हुदै आएको साँघुरा कोठा छन्। ती कोठामा बर्षातका बेला पानी चुहिँदा सुत्केरी हुन आउने महिलाहरूले निकै सास्ती खेप्नु पर्ने नाथले बताए। ठूलो वर्षा हुँदा त कोठाभित्रै छाता ओेढेर सुत्केरी गराउनुपर्ने हुन्छ उनले भने, ‘कोठाभरि पानी नै पानी हुने भएकाले कार्य गर्न निकै गाह्रो हुने गरेको छ।’

 बर्थिङ सेन्टरको कोठामा जडान गरिएको विद्युतको वारिङ जीर्ण हुँदा कयौं पटक स्वाथ्यकर्मीलाई करेन्ट लागेको छ। ज्यान मात्रै गएको छैन स्वास्थ्य चौकीका कर्मचारीले भने, ‘कर्मचारी घाइते भएका छन्। जीर्ण विद्युत वाइरिङको मर्मत नगरे अप्रिय घटना हुन सक्छ।’

स्वास्थ्यचौकी सञ्चालन हुँदै आएका भवन स्वास्थ्य चौकीको स्वामित्वमा रहेका छैनन्। स्वास्थ्यचौकीसँग आफ्नो स्वामित्वको जग्गा समेत रहेको छैन। जीर्ण भवन र जग्गा नगरपालिकाको स्वामित्वमा रहेको छ।

स्वास्थ्य चौकीमा छुट्टै शाैचालय सुविधा समेत रहेको छैन। स्वास्थ्य चौकीका लागि जग्गा र भवनको लागि नगरपालिकासँग गुहार गर्दा समेत हालसम्म सुनवाई हुन नसकेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू बताउछन्।  स्वास्थ्यचौकी पूर्व-पश्चिम राजमार्ग भन्दा दुई किलो मिटरको दूरीमा रहेको छ।

 दैनिक स्वास्थ्य चौकीमा विरामीको चाप बढ्दो छ 

वडा ६, ९,१० र ११ का स्थानीयलाई स्वास्थ्य सुविधा प्रदान गर्न सञ्चालन गरिएको स्वास्थ्य चौकीमा आठ वटा खोप केन्द्र, पाँच वटा गाउँघर क्लिनिक रहेका छन्। बार्षिक रुपमा स्वास्थ्य चौकीमा २० हजार बढीले सेवा लिने गरेका छन। नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर अर्को वर्ष स्वास्थ्य चौकीको भवन र जग्गाको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि योजना ल्याइने बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.