|

विराटनगर :  पूर्व प्रहरी महानिरीक्षक भक्ति माझीले प्रहरी संगठन समय सापेक्ष चल्न नसकेको आरोप लगाएका छन्। ६३ औँ प्रहरी दिवसको अवसरमा बिहीबार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘प्रहरी संगठन आफैंमा एउटा विश्वासिलो र सशक्त संगठन हो,’ पूर्व प्रहरी महानिरीक्षक भक्ति माझीले भने, ‘अहिले प्रहरी समय सापेक्ष ढंगले कुनै मुद्दाहरूमा अगाडि बढ्न सकेको देखिँदैन। प्रहरी संगठनलाई स्वतन्त्र रुपले काम गर्न पनि दिनुपर्छ। राज्यले सरकारले आफ्नो अनुकूल प्रहरीलाई चलाउने कुरालाई अन्त्य गर्नुपर्छ अनि मात्रै प्रहरीको साख रहन्छ।’ 

पूर्व प्रहरी निरीक्षक बाबुराम श्रेष्ठ पनि अहिले प्रहरीको अनुसन्धान र क्रियाकलाप प्रभावकारी नभएको बताए।  ‘अहिले प्रहरी फोर्सलाई चाहिने विषय धेरै तयारी गरेको छ। हाम्रो पालामा एउटा गाडी पनि ठेलेर चलाउनुपर्ने अवस्था थियो। संचार सेटहरू पनि थोरै थियो,’ श्रेष्ठले भने, ‘तर पनि हामीले जनताको सेवामा ठिक बेलामा पुग्न सक्थ्यौं। अहिले प्रसस्त सुविधा प्राप्त हुँदा पनि नेपाल प्रहरी चुस्त नभएको हो कि जस्तो लाग्छ ।’

श्रेष्ठले प्रहरी संगठन यतिबेला राजनीतिमा बढी झुकाव दिएको हो कि जस्तो लागेको बताउँदै पछिल्लो पटक देखिएका कतिपय घटनाको ढाकछोप हुने र छिटो न्याय दिन नसक्ने अवस्था त्यसैको परिणाम भएको पनि बताए। पूर्व प्रहरीले मात्रै होइन सरकारमा बस्ने राजनीतिक नेतृत्वले पनि प्रहरीको साख गिर्दो अवस्था रहेको पटक पटक दोहोर्‍याई रहेका छन्।

प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रहरी प्रमुखको निर्देशनले मात्रै प्रहरीले अपराध अनुसन्धानमा गरेका कमजोरी सच्चिन सक्दैनन्। प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा परम्परागत मान्यतालाई तोड्दै नयाँ र प्रविधियुक्त प्रहरी बनाउनु अहिलेको आवश्यकता भएको पूर्व प्रहरी अधिकारीहरूको भनाइ छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.