मापदण्डबिनै संचालन हुन्छन् प्रदेश १ मा गोल्डकप

|

इलाम : नेपालमा खेलाइने विभिन्न खेलमध्ये एक हो, फुटबल। यो खेललाई धेरैले सहजै बुझ्ने भएका कारण पनि यो खेल धेरै चर्चित छ। हालै रसियामा भएको विश्वकपले गर्दा नेपालमा पनि फुटबलप्रतिको मोह बढेको छ।

नेपालमा पछिल्लो समय फुटबल प्रतियोगिताहरू धेरै हुने गरेका छन्। यसरी प्रतियोगिताहरू संचालन हुनु राम्रो हो। यसले गाउँमा रहेका प्रतिभालाई पनि उजागर गर्न सहयोग पुर्‍याउँछ। नेपालमा गोल्डकपको नाम दिएर अहिले पनि वर्सेनि धेरै प्रतियोगिता हुने गर्छन्।

तीमध्ये प्रदेश १ का विभिन्न जिल्लामा मात्रै एक दर्जन बढी गोल्डकप हुने गरेका छन्। पूर्वमा हुने गोल्डकपमा ‘ए’ डिभिजन लिगमा सहभागी भइसकेका फुटबल क्लबहरू पनि सहभागी हुने गर्छन्। यसरी संचालन भएका सबै प्रतियोगिताहरूलाई गोल्डकपको नाम दिने गरिन्छ। वर्सेनि गोल्डकपको संख्या बढ्नुमा एउटा मुख्य कारण हो- मापदण्ड नहुनु। मापदण्ड नहुँदा सानादेखि ठूला प्रतियोगितालाई पनि सहजै गोल्डकपको नाम दिइन्छ।

यस वर्ष मात्र प्रदेश १ मा दर्जन बढी गोल्डकप आयोजना भयो। भदौ महिनामा मात्र ताप्लेजुङमा पाथिभरा गोल्डकपको तेस्रो संस्करण र मोरङमा डाँगिहाट गोल्डपको दोस्रो संस्करण सम्पन्न भयो। अहिले झापाको खुदुनाबारीमा दोस्रो खुदुनाबारी गोल्डकप संचालनमा छ। उदयपुरमा सातौँ चौदण्डीगढी नारदमुनि थुलुङ गोल्डकपक जारी छ।

फुटबलको हब मानिएको झापामा गोल्डकपहरू थपिने क्रम रोकिएको छैन। २०७२ बाट झापामा मेची नेत्रालय गोल्डकप र शरणामती गोल्डकप प्रतियोगिता थपिए। २०७४ सालबाट शिवसताक्षी नगरपालिकामा दूधे गोल्डकप थपियो। त्यसो त झापाकै प्रतिष्ठित सुरुङ्गा गोल्डकप केही वर्षयता संचालन हुन सकेको छैन। गोल्डकप प्रतियोगिताहरू धमाधम आयोजना भइरहँदा आयोजकहरू प्रतियोगिताको नाम गोल्डकप किन राखियो भन्नेमा अनभिज्ञ छन्। 

नेपाली फुटबललाई नियमन गर्ने आधिकारिक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक क्यालेन्डर नबनाए पनि यीमध्ये केही प्रतियोगिताहरूलाई समावेश गरेर प्रतियोगिता संचालनमा केही सहायता दिइरहेको छ। तर के आधारले यी प्रतियोगिताहरूलाई गोल्डकप भनेर संचालन गरियो? त्यसको कुनै मापदण्ड एन्फासँग पनि छैन। कुन स्तरको प्रतियोगितालाई गोल्डकपको दर्जा दिने? यो प्रश्नको उत्तर एन्फाले पनि दिन सक्दैन।

 ‘मापदण्ड तय गर्ने तयारीमा छौँ’

देशभरमा दुई दर्जनका हाराहारीमा गोल्डकप प्रतियोगिता संचालन भइरहँदा एन्फाले पनि गोल्डकपको मापदण्ड तय गर्न छलफलअघि बढाएको छ। एन्फा कार्यकारी समितिले मापदण्डको विषयमा गम्भीर छलफलअघि बढाएको प्रवक्ता किरण राईले बताए।

गोल्डकपको मापदण्डको विषयमा उपाध्यक्ष कृष्ण थापाको नेतृत्वमा मापदण्ड संयोजक समिति बनाएर अध्ययन सुरु गरेको राईले बताए। ‘हामी चाँडै नै अनियन्त्रित रूपमा भइरहेका गोल्डकपहरूको तह वर्गीकरण गर्छौं', उनले भने, 'विषयगत समितिबाट निर्णायक नतिजा आएपछि अहिले संचालनमा रहेको सबै गोल्डकपलाई मान्यता दिने वा नदिने भन्ने विषय टुंगो लाग्नेछ।’

यसअघि नै गत वर्ष एन्फाले मापदण्ड तय गर्ने भन्ने विषयअघि सारे पनि कुनै निर्णय हुन सकेको थिएन। तत्कालीन एन्फाका प्रमुख कार्यकारी अधिकृत एवं हालका महासचिव ईन्द्रमान तुलाधारले ‘ए’ डिभिजनको मान्यता पाएका मोफसलका चारसहित १६ टिमसँग छलफलपछि मापदण्ड तय गरिने बताएका थिए।

उनले लिगमा सहभागी क्लबले अधिकतम तीनवटा गोल्डकपमा सहभागी हुन पाउने मापदण्ड तय गर्न एन्फा लागिपरेको बताए। झन्डै तीन महिनाभन्दा लामो समयसम्म लिग चल्ने भएकाले अनियन्त्रित रूपमा भइरहेका गोल्डकप प्रतियोगिताहरूमा ‘ए’ डिभिजनका खेलाडीहरू सहभागी नभएपछि स्वतः घट्दै जाने तुलाधारको भनाइ छ।

खेतमा खेलाइने प्रतियोगिता पनि गोल्डकप!

एन्फाले सन् २०१४ मा आधिकारिक रूपमा आयोजना गरेको १० लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगितालाई एन्फा कप भनिएको थियो तर मापदण्डको अभावमा गाउँगाउँमा आयोजना हुने ससाना प्रतियोगिताको ब्यानरमा समेत गोल्डकप लेख्ने गरिएको छ। गाउँघरका खेतलाई खेलमैदान बनाएर खेलाइएका फुटबल प्रतियोगितालाई गोल्डकपको नाम दिने गरिएको छ।

कतिपय आयोजकहरूले मिनी गोल्डकपको नाममा समेत खेलाउने गरेका छन्। झापाको बुद्धशान्ति गाँउपालिकामा ३० हजार रुपैयाँ पुरस्कार राशि राखेर प्रथम धारागोला गोल्डकपको नाममा प्रतियोगिता सम्पन्न भयो। यो त एउटा उदाहरण मात्र हो। यस्ता प्रतियोगिता धेरै छन्, जसलाई गोल्डकप भनिन्छ, जुन खेल खेत वा चौरमा खेलाइने गरिन्छ।

एन्फा नै दोषी’

माइभ्याली गोल्डकप आयोजक समितिका अध्यक्ष धीरेन चेम्जोङ मापदण्ड नभए पनि एन्फाले नै प्रतियोगिताको नाममा गोल्डकप राख्न लगाएको बताए। ‘हामी त माइभ्याली कपको नामबाट प्रतियोगिता आयोजना गर्न चाहन्थ्यौँ’, उनले भने, ‘तर एन्फाले प्रतियोगिताको नाममा गोल्डकप नराखे सुविधा कटौती गर्ने भनेपछि माइभ्याली गोल्डकप राख्नुपरेको हो।’

सबै प्रतियोगितालाई गोल्डकप भनिएपछि प्रतिष्ठित बुढासुब्बा, तिलोत्तमा जस्ता प्रतियोगिता ओझेलमा परेको चेम्जोङ बताउँछन्। चेम्जोङले न्यूनतम गोल्डकप संचालनका लागि अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ‘ए’ डिभिजनका टोली र खेलाडीहरूको सहभागिता तथा विदेशी टोलीको अनिवार्य सहभागिता भएको प्रतियोगितलाई गोल्डकपको रूपमा राख्न एन्फालाई उनले सुझाव दिए।

झापा गोल्डकपका अध्यक्ष एवम् एन्फाका पूर्वाञ्चल संयोजक जलकुमार गुरुङले १० हजार रुपैयाँको पनि गोल्डकप र १२ लाख रुपैयाँको पनि गोल्डकप भएकाले खेलाडीलाई सुविधा दिएर प्रतियोगिता आयोजना गर्न कठिन भएको बताए।

उनले कर्माछिरिङ नेतृत्वको एन्फालाई पाँच बुँदामा दिएको सुझावमा गोल्डकपको मापदण्डको विषयलाई समेत समेटिएको बताए। ‘जथाभावी भएकाले गोल्डकपलाई एन्फाले नियमन र वर्गीकरण गर्न नसके भोलिका दिन गोल्डकपको नाममा प्रतियोगिता आयोजना गर्नुको अर्थ हुँदैन’, उनले भने।

‘ए’ डिभिजनको मान्यता पाएको मोफसलको क्लब झापा ११ का पूर्वकप्तान तथा प्रशिक्षक प्रवेश कटुवाल पनि सबै प्रतियोगितालाई गोल्डकप भनिएको प्रति अचम्म मान्छन्। फुटबल प्रतियोगितालाई आयोजकले ‘फेसन’का रूपमा लिएर गोल्डकप नामकरण गर्ने गरेको उनको बुझाइ छ। ‘राष्ट्रिय लिगबाहेक एन्फाले आयोजना गरेको १० लाख रुपैयाँको प्रतियोगिताचाहिँ एन्फा कप, अरू सबै गोल्डकप’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.