|

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार आधुनिक हतियारसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गएराति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक थान म्याग्जिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए। प्रहरी नायव निरीक्षक कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुरनजिक सीमा क्षेत्रको दशगजा क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायत निवासी २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

तिनीहरूलाई गाजा सेवन गर्दै बसेको अवस्थामा चारैतिरबाट घेरा हाली सबैलाई पक्राउ गरेको हो प्रहरीले जनाएको छ। तिनीहरू ६ जनालाई नै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। तिनीहरूसँग रहेको ३ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

५ लाख मूल्य बराबरको मदिरा बरामद

यसैगरी रौतहट प्रहरीले शुक्रबार बिहान ४ बजेतिर नेपालबाट भारततर्फ बीआर १ यू २७५७ नम्बरको सेन्ट्रो कारमा लैजाँदै गरेको अवस्थामा करिब ५ लाख मूल्य बराबरको ४९ कार्टुन मदिरा बरामद गरेको छ। इशनाथ नगरपालिका ६ मठिया महुलिया हुँदै भारततर्फ ठूलो परिमाणमा अवैध रुपमा मदिरा लैजाँदै गरेको अवस्थामा गस्तीको क्रममा रहेको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकालले बताए।

भारतको बिहारमा मदिरा निषेध गरिएको भए पनि विभिन्न नाकाबाट भन्सार छलेर अवैध रुपमा भारततिर मदिराको कारोबार हुने गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.