|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटै टिकटले दुई ठाउँमा घुम्न पाइने भएको छ। निकुञ्जले उपलव्ध गराएको टिकटले पहिला एक ठाउँ मात्रै घुम्न पाइने गरिएकोमा अव एउटै टिकटले निकुञ्जको ‘कोर’ एरियामा रहेको शुक्लाफाँट सँगै कृष्णसार संरक्षित हिरापुरफाँटासम्म घुम्न पाइने व्यवस्था गरिएको छ।

एउटै टिकटले एकै दिन निकुञ्जको धेरै ठाउँ घुम्न पाइने व्यवस्था पहिलो पटक गरिएको छ निकुञ्जका पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, ‘पहिला कोर एरियाबाट बाहिर निष्केपछि अर्को ठाउँ घुम्नका लागि अर्को टिकट काटनु पर्दथ्यो। अव सोही टिकले सोही दिन अन्य क्षेत्रसम्म घुम्न पाइन्छ।’

पर्यटक आवागमनमा बृद्धि गर्न  र पर्यटकलाई सहजता प्रदान गर्न निकुञ्जले सो नियम लागू गरेको हो। निकुञ्जले पर्यटकलाई सहज रुपमा प्रवेश सुविधा प्रदान गर्नका लागि तीन ठाउँबाट टिकट उपलव्ध गराउने नयाँ व्यवस्था समेत लागु गरेको छ। निकुञ्जको मुख्य कार्यालयसँगै पूर्वी सेक्टर अर्जुनी र हात्तिसार क्षेत्रबाट प्रवेश टिकट उपलव्ध गराउने नयाँ व्यवस्था लागू गरेको सहायक संरक्षण अधिकृत चौधरीले बताए। घुम्न आउने नेपाली, सार्क मुलुक र विदेशी मुलुकका पर्यटकका लागि अलग अलग दर रेटका टिकट निकुञ्जले उपलब्ध गराउने गरेको छ।

नेपाली पर्यटकले प्रवेश शुल्क वाफत ५६, सार्क मुलुकका पर्यटकले ५०० र विदेशी मुलुकका पर्यटकले  एक हजार रकम निकुञ्जलाई तिर्नुपर्दछ। हात्ती सफारी गर्ने नेपाली पर्यटकले ५००, सार्क मुलुकका पर्यटकले एक हजार ५०० र विदेशी पर्यटकले दुई हजार ५०० रकम तिर्नु पर्दछ। जंगल ड्राइभका लागि सानो कारको एक हजार, जीपको दुई हजार र भ्यानको दुई हजार ५०० रकम पर्यटकले तिर्नुपर्ने निकुञ्जको नियम रहेको छ।

निकुञ्जमा  आव २०७४/०७५को असार मसान्तसम्म  चारहजार ७४० जना पर्यटकले अवलोकन गरेका छन्।  स्वदेशी चार हजार २८१ , सार्क मुुलुकका २६६ र विदेशी १९३ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका हुन्। 

निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यकको रोजाईमा घाँसे मैदान, सिमसार क्षेत्र, ताल तलैया, पाटेबाघ, एक सिंगे गैंडा, हात्ती, बाह्रसिंगा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिड खरायो र विभिन्न प्रजातिका चराहरू पर्ने गरेका छन्। ३०५ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिंगाको सबै भन्दा ठूलो बथान र दुर्लभ पशुपंछी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ।

नेपालको तराईका संरक्षित क्षेत्रहरूमा रहेको घाँसे मैदानमध्ये शुक्लाफाँटा घाँसे मैदान सबै भन्दा ठूलो घाँसे मैदानका रुपमा रहेको छ। क्षेत्रफलका हिसावले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पंछी र वनस्पति पाइने गरेको छ।

निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँ ठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्था समेत गरेको छ। टुर एण्ट ट्रवल्स निजी कम्पनीहरूले समेत पर्यटकलाई निकुञ्जसँगै जिल्लाका बाह्य क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा घुम्नका लागि प्याकेज कार्यक्रम समेत सञ्चालन गरेका छन्। 

निकुञ्ज घुम्न आउने पर्यटकले छुटाउँनै नहुने क्षेत्रका रुपमा शुक्लाफाँटा घाँसेमैदान, रानी ताल, सिहपाल वावा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुंगे पुल, कालिकिच ताल, निकुञ्ज भित्रका सिमसार क्षेत्र र राना थारु होम स्टे लगायत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.