|

बागलुङ : गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लाग्न थालेको छ। नव दुर्गाको सुरुवातसँगै कालिका दर्शन गर्न आउँने भक्तजनहरू बढेका हुन्। वार्षिक ६ लाख भन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा यस वर्ष पनि नवदुर्गाको समयमा भीडभाड बढेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए। नेपालका धेरै शक्तिपीठ मध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानको रुपमा चिनिन्छ।

धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकोले बडादशैँ र चैतेदशैँमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ। घटस्थापनाको दिनदेखि शनिबारसम्ममा झण्डै ६० हजार भक्तजनले मन्दिरको दर्शन गरेको खड्काले जानकारी दिए। भक्तालुहरूको आगमनलाई मध्येनजर गर्दै कालिका गुठीले मन्दिर व्यवस्थापन गरेको थियो। सरसफाइ रंग रोगन लगायतका सबै तयारी पूरा गरेर मन्दिरलाई थप अकर्षक बनाइएको गुठीले जनाएको छ।

आएका भक्तजनको लागि पूजामा सहजीकरण, बली व्यवस्थापन, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी गरिएको अध्यक्ष खड्काले बताए। ‘अघिल्ला वर्ष ६ लाख नरिबल बिक्री भएकोले त्यतिनै भक्तजन आएको अनुमान गरेका छौं’ खड्काले भने, ‘घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कतिपय दुइतिनपटक पनि दोहोरिएका होलान्। कतिले नरिबल नल्याए पनि ६ लाख भक्तजन आएको हाम्रो अनुमान हो।’ 

धार्मिक विश्वासको कारण आउनेलाई पटक पटक आउने वातावरण बनाउन व्यवस्थापकीय सहजीकरण गरेको उनले बताए। नवदुर्गाको समयमा बिहान ४ बजेदेखि राति आठबजेसम्म मन्दिर खुल्ला रहने भएकाले भक्तजनको चाप बढेको छ। नजिकैकका भक्तालु बिहानै मन्दिर आउने र टाढा टाढाका भक्तालुहरू साँझसम्म मन्दिर पुग्ने गरेको अनुभव गुठी व्यवस्थापनसँग छ। 

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ। त्यसपछि कालिकाको नियमित पूजा भइरहेको जनश्रुति छ। 

कालिका मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकांक्षा पुरा हुने लगायतका विश्वास गर्छन्। अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, लगायत देशभरका विभिन्न स्थानबाट कालीका प्रति धेरै विश्वास मान्नेहरू दर्शन गर्न आउने गर्छन् भने भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताए।

वडादशैं र चैतेदशैमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ। त्यतिबेला हजारौं भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ। कालिका मन्दिरको चारै दिशामा ढोका छन्। पूर्वको ढोका कहिले पनि खोलिदैन। यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको गुठीयार मध्येका पाका पत्रकार विदुर खड्का बताउँछन्। 

कालिका गुठीमा खड्काहरूको प्रमुख जिम्मेवारी छ। मन्दिर स्थापनादेखि अहिलेसम्म खड्काहरूले नै मुख्य कर्ताको रुपमा काम गर्दै आएको पाइन्छ। मन्दिरमा भेटिएका तीनवटा लिखित दस्तावेजले पनि खड्क समाएर आएका चक्र पुवारका खलकलाई नै पुजारी भएर काम गर्ने अधिकार दिइएको छ। अहिले पनि मन्दिरको विशेष संरक्षण, रेखदेख स्थानीय खड्का परिवारबाटै भइरहेको छ।

पर्वत राज्य विसं १८४३ मा नेपालमा गाभिएपछि १८४५ मा तत्कालीन राजाले लालमोहर लगाएर स्थानीय रामचन्द्र खड्काहरूलाई पुजारी बनाएर खड्काहरू नै गुठीयार बस्ने अधिकार दिएको भन्ने दस्तावेजमा उल्लेख गरिएको छ। 

लमजुङ कालिकामा पनि तयारी

पृथ्वीनारायण शाहका पूर्खा यशोब्रम्ह शाहको दरबार र कालिका मन्दिर रहेको लमजुङको गाउँ शहरमा पनि बडा दशैंको तयारी सुरु भएको छ।  घटस्थापनाको दिन जमरा राखे पनि नियमित पूजा गरिने कालिका मन्दिरमा सरकारी बली दिने चलन छ। हरेक दिन बोका, राँगा, भेडा, हाँस, कुखुरा र कुभिण्डोको बली दिने चलन रहेको अगुवा पुजारी माधवप्रसाद बरालले बताए।

‘शाहवंशको उद्गमस्थल भएकोले सयौं वर्ष अघिदेखि राज्यकै लगानीमा सरकारी पूजा हुन्छ’ बरालले भने, ‘भक्तजनले पञ्चबलि ल्याउने चलन पनि छ।’ कालिका प्रति विश्वास बढी भएकोले धेरैले दशैँको अवसरमा पञ्चबलि दिने चलन रहेको हो। बिजया दशमीको दिन पूजा बिर्सजन गरेपछि नियमित पूजा सकिन्छ। 

कालिकासँगै चण्डी, काउलेपानी र पुरानकोटमा पनि देवीको पूजा हुन्छ। सबै स्थानमा सरकारी बली चढ्छ। भक्तजनले ल्याएको फूल-प्रसाद पनि पुजारी र स्वयंले संयुक्त रुपमा पुज्न पाउँछन्। शाह वंशका राजाको कुल भएकोले समय समयमा पूर्व राजा र उनीहरूको परिवार पनि पूजाका लागि पुग्छन्।

कालिका भगवती शक्तिको प्रतीक मानिने भएकोले राजाका दरबारसँगै रहेको अर्का पुजारी सोमराज बरालले बताए। ‘राजाहरू पनि शक्ति केन्द्र थिए। उनीहरूको दरवारसँगै कालिका मन्दिरको पूजा हुने गरेको हो’ उनले भने, ‘धार्मिक स्थानको संरक्षण गर्न पनि तत्कालीन शासकले नजिकमा मन्दिर बनाएको हुन सक्छ।’

गाउँशहर, लमजुङ दरवार र कालिका मन्दिरलाई उपमा दिएर धेरै गीत, लेखरचना पनि रचिएका छन्। यहाँ बोहराहरू मुख्य कर्ता रहन्छन्। त्यस्तै नेवार, मगर, क्षेत्री, कामी, सार्की र दमाई जाति समेत गरी २२ सुसारेको व्यवस्था छ। हरेक दिन नियमित पूजा हुँदा मालश्री गीत गाउँने चलन छ। पूजा अवधिभरमै नौजना कन्यालाई पूजा गरेर भोजन गराउने चलन पनि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.