|

इलाम : माइखोलामा डुंगा दुर्घटनाको आज (असोज २८ गते) दुई वर्ष पूरा भयो तर अझै सास्ती भने जस्ताको तस्तै छ। २०७३ असोज २८ मा दशैँको टीका थाप्न गएकाहरू डुंगा पल्टिएर मृत्यु भएको घटना माई नगरबासीले अझै बिर्सिएका छैनन्।

विगतको घटना सम्झिँदै स्थानीय चन्द्र तामाङ भन्छन्, ‘सबैलाई गन्तव्यसम्म पुग्न हतार थियो, त्यही अवसरको मौका छोपेर डुंगा चालकले आफूखुसी १०० देखि २०० सम्म असुलेर गुन्द्रुक खाँदेझैँ यात्रुहरूलाई खोला पार गराइरहेको थियो। कति यात्रु आए, कति गए भन्नेसम्म संचालकलाई जानकारी थिएन। त्यही भार थेग्न नसकेर पुरानो डुंगा करिव ६० जनासँगै माइमा डुब्यो। हेर्दाहेर्दै माइखोलामा मानिसहरू बग्न थाले। कोही पौडिएर किनारतिर आए त कोही नदीको बेगसँग बगेर गए।’

खोलाबाट उद्धार गरिएका ३४ जनाले नयाँ जीवन पाए भने आठ जनाको अमूल्य जीवन माइखोलामा बिलायो। त्यो घटनाले दशैँको उल्लासलाई शोकमा परिणत गर्दै मुलुकलाई नै स्तब्ध पार्‍यो। घटनामा छ वर्षीया जुम्ल्याहा पुष्पा र अञ्जलीसहित आठ जनाले अकालमा ज्यान गुमाए, जसमा चार जना महमाईका स्थायी बासिन्दा थिए।

माइखोलाको वारि पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो भने पारि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र। दुवै निर्वाचन क्षेत्रलाई जोड्ने आधा किलोमिटर लामो पुल निर्माणाधीन छ। त्यही बाटो हुँदै आदिवासी जनजाति नेता एवं नेपाली कांग्रेसका पूर्वसांसद नगेन्द्रकुमार कुमाल मूल घर जाने गर्छन्।

खोलामा पानी बढ्न थालेपछि यात्रु तथा मालबाहक कुनै पनि सवारी साधनहरू चल्न सक्दैनन्। मानिसहरू पुरानो काठको डुंगा प्रयोग गर्न बाध्य छन्। असारदेखि असोजसम्मको अवधिमा मार्इ नगरपालिकाको महर्माइ र माङसेबुङ गाउँपालिकाका बासिन्दालाई खाद्य सामग्री ढुवानी र आवतजावत गर्न समस्या हुने गरेको छ। वर्षौंदेखिको सास्ती उनीहरूको दिनचर्या जस्तै भएको छ।

लाइफ ज्याकेट प्रयोग गर्न अन्कनाउँछन् यात्रु

जोखिम न्यूनीकरणका लागि भनेर डुंगामा लाइफ ज्याकेटको व्यवस्था भए पनि डुंगा संचालकले लाइफ ज्याकेट प्रयोग गर्दैनन्। लाइफ ज्याकेट भए पनि यात्रुहरूले प्रयोग गर्न नमान्ने डुंगा संचालक पर्शुराम बाँस्तोला बताउँछन्। उनले भने, ‘मानिसहरू सफा लुगा लगाएर आएका हुन्छन्, लाइफ ज्याकेट लगाउनु भन्दा यस्तो फोहोर ज्याकेट हामी लगाउँदैनौँ भन्छन्। दिनै लाइफ ज्याकेट धुने कुरो पनि आएन।’

माइखोलाको वहाव ठूलो हुने र वर्षातको समयमा भलबाढी चलिरहने भएकाले डुंगाको मात्रै सहाराले खोला तर्न मुस्किल हुने गरेको छ। चुरे क्षेत्रका ससाना खहरे खोलाहरूको जोखिम उच्च रहेको छ। बर्खा समय लाग्नासाथ उर्लेर आउने खहरेले वर्सेनि लाखौँ धनजनको क्षति गर्ने गरेको छ।

माइखोलामा संचालन हुने डुंगाको नगरपालिकाले समेत अनुगमन गर्दैन। माइ नगरपालिका प्रमुख दीपक थेवे अनुगमन गर्ने कार्य महमाई प्रहरी चौकीलाई जिम्मा दिएको बताउँछन्। उनी भन्छन्, ‘लाइफ ज्याकेट लगाएको नलगाएको अनुगमन प्रहरीले गर्छ हामीले गरेका छैनौँ।’

माइखोलापारिका तीनवटा वडाका जनप्रतिनिधि पनि दैनिकजसो त्यही डुंगाको भरमा नगरपालिकको केन्द्र आउने गरेका छन्। डुंगा दुर्घटनापछि विभिन्न संघसंस्थाहरूले ३० बढी लाइफ ज्याकेट दिए पनि प्रहरी चौकीमै थन्किएका छन्। जिल्लाको माई, जोगमाई, देउमाई र पूवामाईको मिश्रण भएर गएको खोला त्यस क्षेत्रमा पुग्दा अत्यधिक ठूलो हुने गरेकाले तर्न समस्या हुने गरेको छ। खोलाको फैलावट आधा किलोमिटर बढी छ। बजार, क्याम्पस र माध्यमिक विद्यालयहरू महमार्इबासीका दैनिक गन्तव्य हुन्। उच्चशिक्षा अध्ययन गर्न दर्जनौँ विद्यार्थी बर्खा लागेपछि चार महिना आधा घण्टा टाढा रहेको मावि र क्याम्पसमा पढ्नका लागि डेरा नै बस्नुपर्ने अवस्था रहेको विद्यार्थी पूजा दाहाल बताउँछिन्।

सम्झौता अवधिमा काम सम्पन्न नभए पनि निर्माण कार्य तीव्र

दुई वर्षअघिको डुंगा दुर्घटनापछि पुलको निर्माण कार्यले गति लिएको छ। २५ करोड ७१ लाख ७३ हजार ५६६ रुपैयाँको लागतमा दुवै निर्वाचन क्षेत्र जोड्ने ५५० मिटर लामो पुल निर्माण कार्यले पाँच वर्षमा सक्ने गरी २०६९ असार २६ गते सूर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखाअन्तर्गतको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानबीच सम्झौता भएको थियो। योजना शाखाका डिभिजन इन्जिनियर अर्जुन अर्याल भन्छन्, ‘पुल निर्माण सम्झौता अवधिमा सम्पन्न नभए पनि काम धमाधम भएकाले आगामी असारसम्ममा पूर्ण रूपमा सम्पन्न हुन्छ।’

वि.सं. २०७४ असार मसान्तमा पुल निर्माण सम्पन्न हुनुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण पुल निर्माणको म्याद एक वर्ष थपिएको थियो। पुलको काममा अवरोध नभएपछि पुलसम्म जाने बाटोको समस्या देखिएपछि मिलाउने जिम्मा स्थानीयलाई दिएको अर्यालले बताए। १३ वटा पिलरमध्ये नौवटा पिलरमा स्ल्याव हाल्ने काम सम्पन्न भइसकेको छ भने दुईवटामा स्ल्याब हाल्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.