पुष्प र दीपिका पुगे गाउँ

|

काठमाडौं : दशैं नजिकिदै छ। दशैंसँगै हरेक नेपालीमा उमंग छाइरहेको पाइन्छ। विदेशियका धेरै युवाहरू देश फर्किएका छन्। रोजगारीको लागि गाउँघर छोडेकाहरू पनि नयाँ खुसी बोकेर घर फर्किएका छन्। हरेक बसपार्क भीडभाड छ। दशैंमा दशैं मनाउन गाउँ फर्कनेको क्रम बढिरहेको छ।

दशैं कलाकारहरूमा पनि उत्तिकै लागेको छ। कतिपय कलाकारहरू दशैं मनाउनका लागि मन भरी खुसी बोकेर घर फर्किएका छन्। कोही फर्कने तयारीमा छन् त कोही फर्किसकेका छन्।

धेरै जसो आफ्नो बाल्यकालको दशैं फिर्ता होस् भन्ने चाहान्छन्। कलाकारहरू पनि त्यो चाहान्छन्। धेरै कलाकारको एउटै भनाई सुनियो, 'बाल्यकालमा जस्तो उमंग कहाँ आएको छ र यसपालि!'

आज हामी यहाँ कलाकारले दशैं भन्नेबित्तिकै के सम्झिन्छन् र यसपालीको दशैं कसरी मानउदैछन् भन्ने विषयमा चर्चा गर्दैछौँ,

भुवन केसी

भुवन केसी दशैं भन्ने बित्तिकै नयाँ लुगा, पिङ, टीका र दक्षिणा सम्झिन्छन्। उनी भन्छन्, 'दशैं भन्ने बित्तिकै दिमागमा झट्ट आउने भनेको बाल्यकालको दशैं हो। जहाँ नयाँ लुगा, पिङ, टीका र दक्षिणा भनेपछि दशैं आउनु अघिदेखि नै उत्साहित हुन्थ्यौं।' भुवन आफ्नो बाल्यकालको दशैं सधैँ सम्झिन्छन्।

यस वर्षको दशैंमा उनको खासै ठूलो योजना छैन्। उनी यस वर्ष परिवार र आफन्तसँग नै दशैं मानाउँदैछन्। 'यस वर्ष त्यस्तो स्पेसल केही छैन्। परिवार आफन्त मिलेर नै दशैं मनाउछौँ', भुवनले भने। भुवन काठमाडौंमा नै रहेर दशैं मनाउने तयारीमा छन्।

केकी अधिकारी

दशैं शब्द सुन्ने बित्तिकै केकी अधिकारीको दिमागमा टीका, दक्षिणा, पिङ र नयाँ लुगा नै आउने गर्छ। उनी भन्छिन्, 'दशैं शब्दले नै त्यहीँ कुराहरूको आभाष गराउँछ।'  

केकीको लागि यस वर्षको दशैं केही खल्लो हुने भएको छ। केकीले साइतको टीका लगाउन नपाउने भएकी छिन्। आफ्नो हजुरवुवा बितेको एक वर्ष पूरा नभएको कारण उनले टीका लगाउन नमिल्ने भएको हो। त्यहीँ पनि केकी साथीहरूसँग रमाइलो गर्ने योजनामा छिन्। उनी भन्छिन्, 'टीका लगाउन नमिले पनि साथीहरूसँग रमाइलो गरेर दशैं मनाउने तयारीमा छु।'

दीपकराज गिरी

दीपकराज गिरी दशैं भन्ने बित्तिकै आफ्नो बाल्यकाल सम्झिन्छन्। उनी भन्छन्, 'बाल्यकालमा गरिएको रमाइलो दशैं सधैँ दिमागमा आउँछ। नयाँ कपडा, मासु, पिङ धेरै मिस गर्छु।'

दुई वर्षदेखि दीपकराजको दशैं मनाउने चलन फेरिएको छ। उनी हरेक दशैंमा हलमा पुगिरहेका हुन्छन्। उनी भन्छन्, 'दुई वर्षदेखि दर्शकसँग साक्षत्कार गर्दै दशैं मनाइएको छ। यस वर्ष पनि त्यस्तै होला जस्तो छ।' दिनमा दर्शकसँग भेटेर दशैं मनाउने र बेलुका परिवारसँग रमाइलो गर्ने दीपकको योजना छ।

केदार घिमिरे (माग्ने बूढा)

दशैं शब्दसँगै केदार घिमिरे (माग्ने बूढाले) लिङ्गे पिङलाई सम्झिन्छन्। उनी भन्छन्, 'घरमा पालेको खसीको मासु, घरमा नै पकाएको केरा, लिङ्गे पिङ यहीँ नै हो दशैंमा सम्झिने कुरा भनेको।'

केदार दशैं मनाउन आफ्नो पुर्खौली घर हेटौँडा जाने गर्थे। तर यसपालीको योजना त्यो छैन्। यसपालि उनी पनि दीपकराज जस्तै हल-हलमा गएर नै दशैं मनाउने योजनामा छन्।

अनुपविक्रम शाही

दशैंमा अनुप विक्रमले सम्झिने कुरा भनेको दक्षिणा नै हो। उनी भन्छन्, 'बाल्यकालको दशैं याद आउँछ। टीका लगाएर पाएको १० रुपैयाँ दक्षिणा सम्झिन्छु।'

यस वर्षको दशैंमा उनी सामान्य तरिकाले नै मनाउँदैछन्। भन्छन्, 'घरमा नै बसेर परिवारसँग रमाइलो गरेर दशैं मनाउने योजना छ। अरू त खासै केही छैन्।'

आंचल शर्मा

दशैं भन्ने बित्तिकै टीका र जमरालाई आंचलले सम्झिन्छिन्। 'दशैं भन्ने बित्तिकै सम्झिने भनेको नै टीका र जमरा हो', उनी भन्छिन्, 'परिवरको जमघट पनि दशैंमा सम्झिने कुरा हो।'

कठमाडौंकी स्थायी बासिन्दा आंचलको दशैं योजना रमाइलो गर्नेमा नै सीमित छ। उनी भन्छिन्, 'दशौंमा सबै परिवार भेला हुने, टीका लगाउने, रमाइलो गर्ने यस्तै नै छ मेरो योजना।'

दीपिका प्रसाईं

दीपिका हिजो मात्र दशैंका लागि गाउँ गएकी छिन्। दशैं भन्ने बित्तिकै घर परिवार, टीका र आशिर्वादलाई सम्झने उनी त्यहीँ उमंग बोकेर घर पुगेकी छिन्।

यस वर्षको दशैं परिवारसँग रमाइलो गरेर मनाउने योजना दीपिकाको छ। उनी भन्छिन्, 'घर परिवारसँग भेटेर रमाइलो गरेर दशैं मनाउने सोचसहित गाउँ आएको छु।'

पुष्प खड्का

पुष्प दशैं भन्ने बित्तिकै नयाँ कपडा, पिङ, परिवारिक जमघटलाई सम्झिन्छन्। भन्छन्, 'सबैले मिस गर्ने भनेको नै बाल्यकालको दशैं होला मैले पनि बाल्यकाललाई मिस गर्छु।'

पुष्प पनि आज जन्मघर कैलाली गएका छन्। लामो समयपछि परिवारसँग भेट हुने जोश बोकेर पुष्प गाउ गएका छन्। यस वर्षको दशैं स-परिवार जम्मा भएर मनाउने योजनासहित उनी घर गएका हुन्। उनी भन्छन्, 'यसपालीको दशैं स-परिवारसँगै भएर मनाउने योजना छ। वुवा-आमा पनि कैलाली आउनु भएको छ। यसपालीको दशैं रमाइलो हुनेवाला छ।'  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.