|

पर्वत : बडादशैँको माहोल छ। परदेशिएकाहरू धमाधम घर फर्किरहेका छन्। कामका सिलसिलामा घरबाहिर रहेकाहरू फर्किने क्रम जारी छ। परिवारका सबै सदस्य बसेर मिठो मसिनो खाने र अाफन्तसँग भेटघाट गर्ने र साथीभाइ, छिमेकीसँग रमाइलो गर्ने रूपमा यो पर्वको महत्त्व छ।

समय अन्तरालसँगै चाडपर्व मनाउने शैली बदलिएको छ। एक दुई दशकयता चाडपर्व मनाउने शैलीमा व्यापक परिवर्तन आएको छ। दशैँको रमझम बढी भड्किलो र खर्चिलो बनिरहेका छन्।

समाजका पाका पुस्तालाई पनि दशैँको भड्किलो शैली मन परेको छैन। ‘घाँटी हेरेर हाड निल्नु’ भन्ने नेपाली उक्तिको सन्देश पनि हराउन थालेको उनीहरुलाई लाग्छ। हुनेखानेहरुले दशैँलाई पैसाको रवाफसँग तौलेको देख्दा र हुँदा खानेहरूले सकी नसकी प्रतिस्पर्धामा उत्रिएको...।

पर्वतको कुश्मा नगरपालिका–२ खुरकोटका रमाकान्त उपाध्याय पनि आजभोलि भित्रिएको भड्किलो शैली देखेर निराश छन्। उमेरले ८६ वर्षका पौडेलको सम्झनामा ८० भन्दा बढी दशैँ छन्। उनी आफू पाँच वर्षको हुँदादेखि मनाएको दशैँ सम्झिन्छन्। आजभोलि हरेक चाडपर्वलाई मादक पदार्थ सेवनसँग जोडिएको मन परेको छैन। ‘आजभोलि समय पनि कस्तो आएको? रक्सी नखाएसम्म त चाडै मनाउन नसकिने जस्तो पो छ’, उपाध्याय भन्छन्। 

उनका अनुसार उतिवेला मासु खानेहरू त थिए तर, अहिलेजस्तो मांसाहारी थिएनन्। ‘ऊ बेलामा पनि मासु त हुन्थ्यो तर अहिलेको जस्तो पूरै मांसाहारी मान्छे थिएनन्। दशैँमा कोहीकोमा खिर पाक्थ्यो। सेलरोटी मुख्य प्रसाद हुन्थ्यो। सबै साथीभाईबीच भेटघाट हुन्थ्यो। त्यो पो थियो रमाइलो त’, उनले भने। 

उपाध्याय सानो छँदा दशैँमा टीका लगाएर दिइने एक मोहोर निकै ठूलो थियो। त्यो बेलामा सामान्य रुपमा मात्र नयाँ लुगा किनिन्थे। घरबुना कपडा लगाइन्थे। अनि दशैँको रन्को पनि अहिले जस्तो एक महिना अगाडि हुँदैनथ्यो। 

आजभोलि भने तीजमा पनि एक महिना अगाडि नै दर खाने चलनले हैरान बनाएको छ। आफू सानो हुँदाका बखत सम्झिँदै रमाकान्त भन्छन्, ‘अहिलेका मान्छे पहिलेका भन्दा धनी भएर पनि होला कत्ति खर्च गर्न मन लागेको होला? हाम्रा बेलामा त एकजोर नयाँ कपडा जति पनि पुग्थ्यो। अहिले त हजारौँ रुपैयाँका त कपडा मात्र किन्छन्।’ 

त्यो बेलामा खेलेका तौले पिङ, रोटे पिङ, लिंगे पिङ आजभोली हराउनुले संस्कृति र परम्परा धान्ने शैली आजभोलिको पुस्तामा नआएको पनि उनले बताए। आजभोलि बाहिरको चलन भित्रिएकै कारण गाउँका परम्परागत चलन र संस्कृति हराएको उनको बुझाइ छ। 

उपाध्याय जस्तै कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी ८९ वर्षीया कलावती शर्मालाई पनि अहिलेको दशैँ पहिलेको भन्दा फरक लाग्छ। आजभोलिका य’वाहरु अल्छी भएका कारण संस्कृति नै मेटिने हो कि भन्ने चिन्ता उनलाई छ। कलावती भन्छिन्, ‘हाम्रा पालामा बाबियो उठाउन गाउँ डुल्थ्यौँ। पिङ हाल्ने, मामाघर जाने, झोलामा रोटी सँगालेर कति दिनलाई खाजा पुर्‍याउँथ्यौँँ।’ 

गाउँघरमा पिङ नहालेको देख्दा उनलाई खल्लो लागेको रहेछ। ‘आजकालका मान्छेहरू साह्रै अल्छी भए। खोई पिङ? छोरा नातीहरु जागिर खान हिँड्छन् अनि यहाँ रमाइलो कसले गरिदिने?’ आजभोलीको दशैँ खुसी र मित्रतामा भन्दा पनि पैसामा धानिएको कलावतीको बुझाइ छ। उनलाई आजभोलिको चाड पैसा भएकाले मात्र मनाउन सक्ने अरु गरिबलाई भने नआइदिए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको बन्दै गएको जस्तो लाग्छ।  

पर्वतकै फलेवास नगरपालिका ३ शंकरपोखरीकी ८७ वर्षीया सुना रेग्मीलाई अहिलेको दशैँ केही रमझम भएको जस्तो लाग्छ, त्यो पनि रेडियोमा गीत बज्ने भएर मात्र। रेग्मी भन्छिन, ‘ऊ बेलामा ‘रिडिया’ थिएनन् के रे, अहिले त रिडियामा अचम्मै गीत आउनी रहेछन्। दशैँका गीत बजेसी दशैँ आएजस्तो हुन्छ बल्ल।’

शुनालाई पनि अरु पाको पुस्ता जस्तो चाडपर्वको बेलामा प्रयोग गरिने मादक पदार्थको सेवन पटक्कै मन पर्दैन। आफैँमा साकाहारी भोजन मात्र गर्ने उनलाई दशैँमा दैला दैलामा खसी काटेर ऋणमा फसेको नराम्रो लाग्छ।

आजभोलको पुस्ताले दशैँको रमझमलाई परिवर्तन गराउँदै लगेको देखेर पाका पुस्ता चिन्तित छ। अहिलेका पुस्ताले पाका पुराना मान्छेको कुरा नसुनेकाले सबै कुरा बिग्रिँदै गएको भान उनीहरूलाई परेको छ। घर र गाउँमै उत्पादन भएका परिकारलाई प्रसाद बनाएर खाइने चलन अहिलेको आयातित खाद्यान्न भन्दा स्वस्थ भएको पाका पुस्ताको अनुभव छ। नेपालका मौलिक र साँस्कृतिक परम्पराहरु लोप हुँदै जानुमा वर्तमान पुस्ता पाश्चात्य संस्कृतिमा आकर्षण हुनु रहेको उनीहरुको ठहर छ।

दशैँले आनन्ददायी मनोरञ्जन, रिल्याक्स र मोजमस्ती मात्र जिन्दगी होइन भन्ने अनुभूति गराउनुपर्ने र नयाँ पुस्तामा संस्कृति सम्हाल्ने क्षमता दिनुपर्ने बताउँछन्, नारायण माध्यमिक विद्यालयका पूर्व प्राचार्य पृथ्वीनारायण शर्मा। चाडबाडसँग जोडिएको नकारात्मक पाटाहरूलाई नकेलाउने हो भने हाम्रो मौलिक संस्कृति नै लोप हुने खतरामा पुग्ने उनको भनाइ छ।

चाड मनाउनका लागि जाँड रक्सीको बढी प्रयोग गर्ने, निकृष्ट काम गरेरै भए पनि राम्रै लाउने र राम्रै खाने, धाक रवाफ देखाउनै पर्ने, जुवातास खेल्ने\खेलाउने जस्ता प्रवृत्ति निरुत्साहित गर्दै लैजानुपर्ने समाजका अगुवाहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.