|

बाग्लुङ : यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ। गत वर्षको तुलनामा चार हजार बढीमा च्याङ्ग्रा खरिद गरेको यहाँका व्यवसायीले बताएका छन्। च्याङ्ग्रा कम आउनु, ठाउँठाउँमा कर लिर्नुपर्नेजस्ता कारणले च्याङ्ग्रा महँगिएको हो। चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ। च्याङ्ग्रा २७ हजार रुपैयाँमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए। 

‘२३ हजार रुपैयाँ मुस्ताङमै पर्‍यो,’ उनले भने, ‘गत वर्ष सो मूल्यमा यहीँ आउँथ्यो।’ च्याङ्ग्रा खरिदमा लाग्ने समय, खाना, बास, भाडामै व्यवसायीको बढी खर्च छ। पहिलोजस्तो नाफा हुन छोडेपछि व्यवसायीले च्याङ्ग्रा कम खरिद गर्न थालेका छन्। केसीले ल्याएका १०१ च्याङ्ग्रामध्ये ५० बढी बिक्री भइसकेका छन्। 

उनीलगायत बाग्लुङबाट गएका व्यवसायीले एक साता लगाएर च्याङ्ग्रा भित्र्याएका हुन्। च्याङ्ग्रा यहाँ ल्याइ पुर्‍याउँदा व्यवसायीले तीन/चार ठाउँमा दस्तुर र कर तिर्ने गरेका छन्। यो वर्ष कतिपय स्थानीय तहले पनि कर उठाएपछि व्यवसायी मर्कामा परेका हुन्। अर्का व्यवसायी बलबहादुर थापाले भाउ महँगिएपछि बेच्न गाह्रो भइरहेको बताए। 

‘एकै वर्षमा चार/पाँच हजार महँगो भयो,’ उनले भने, ‘च्याङ्ग्राको व्यापार जोखिमपूर्ण छ।’ थापााले ७० वटा च्याङ्ग्रा बाग्लुङ भित्राएका छन्। जोमसोम पुगेर ल्याएका च्याङ्ग्रा बेच्दा एक/दुई हजार नाफा निकाल्न पनि धौ–धौ भएको उनको भनाइ छ। 

व्यवसायी थापाले तिब्बतबाट यो वर्ष कम च्याङ्ग्रा आएकाले मूल्य बढेको बताए। मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन्। जिउँदो च्याङ्ग्राको मूल्य बढेपछि काटेर बेचिने मासुको मूल्य पनि चर्को छ। प्रतिकिलो १२ सय रुपैयाँ तिरेर च्याङ्ग्राको मासु किनेको बाग्लुङ नगरपालिका–४ का गोविन्द्रप्रसाद शर्माले बताए। 

महँगै परे पनि उपभोक्ताले च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन्। हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट मानिन्छ। बागलुङमा मात्रै दशैँका बेला बर्सेनि करिब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यवसायी बताउँछन्। मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पु¥याइन्छ। पोखरामा यो वर्ष १७ हजार च्याङ्ग्रा झरेको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.