|
पर्वत जाने क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पर्यटनमन्त्री अधिकारी लगायत। फोटो : पर्यटनमन्त्री अधिकारीको फेसबुकबाट

  • लक्ष्मीप्रसाद सापकोटा

पर्वत : पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुगेका थिए।

भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काटे। बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा मन बहलाए।

विश्वकै उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण पदमार्गअन्तर्गत नयाँ पर्ने वीरेठाँटी–घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदयात्रा मार्गको प्रचार गर्न विशिष्ठ पाहुना रातभर चिसोमा बसेर बिहान मनोरम दृश्यावलोकन गरे। देउपुरका अगुवा एवं इञ्जिनीयर मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “भमरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटकसँग जोड्न सकेमा यसलाई वैकल्पिक पदमार्गका रुपमा विकास गर्न सकिन्छ।” भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँ भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, पूर्णगाउँ, लेस्पार, घुरुङ्गालगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन उनले सुझाव दिए।

घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरूले सडकले नछोएको र हिमालसहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ। “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सकिने देखियो” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने प्रतिबद्धता पनि उनले बताए।

मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो। चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था रहेको छ।

त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तव्य हुनसक्ने पर्वत– भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका सचिव राजेन्द्र खड्काले बताए। “पोखराबाट एक घण्टा दूरी लामो पनि होइन”, उनले भने, “पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ।”

देउपुरमै जन्मिएर अफ्रिकी मुलुकमा लामो समय दूरसञ्चार इञ्जिनीयरको काम गरेका स्थानीय मनबहादुर खड्काको अगुवाइमा देउपुर–भमरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो। तीन वर्षअघि गठित पर्वत भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले विदेशीलाई पदमार्गको अवधारणा अघि सारेको हो। मोदीको तिलाहारबाट शुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर भएको खड्काले बताए। “तीन किलोमिटर अघिल्लो वर्ष निर्माण भइसकेको छ”, उनले भने, “बाँकी आगामी वर्ष पूरा गर्ने लक्ष्य हो। बजेट भए कठिन छैन।” अघिल्लो वर्ष पर्यटन बोर्डबाट २० लाख रुपैयाँ विनियोजन भएकोमा चालू वर्ष प्रदेश पर्यटन मन्त्रालयबाट रु ३५ लाख बजेट आएको उनले बताए।

अमेरिकामा मासिक १० लाख रुपैयाँको नोकरी छोडेर गाउँमै फर्किएका खड्काले यो रुटमा व्यवस्थित रिसोर्ट, लज, लेकाली खर्कमा भैँसीपालनलगायतको योजना बनाएको सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.