काठमाडौं : तत्कालिन राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार श्रीपेचलाई सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेका हुन्।
श्रीपेच तत्कालिन राजदरबार तथा हालको नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। श्रीपेचका साथै तत्कालिन रानीको मुकुट, राजाको राजदण्ड, तरबार लगायतका सामग्री रहेका छन्। सर्वसाधारणले दरबार संग्रहालय भ्रमणका क्रममा यी सामग्रीको अवलोकन गर्न पाउनेछन्। तर, छुन भने पाउने छैनन्।
श्रीपेच लगायतका पूर्व राजपरिवारका सामग्रीलाई विशेष सुरक्षा प्रवन्धका साथ बुलेट प्रुफ सिसाको सोकेसमा सजाएर राखिएको छ।
राजाहरूले विशेष समारोहमा पहिरिने श्रीपेचमा बहुमूल्य हिरा जडित गरिएको छ। आकर्षक देखिने श्रीपेचमा ७३० वटा हिराका दाना, २३७२ मोती, १६ मणिमाणिक्य लगायत बहुमूल्य धातु जडित रहेको श्रीपेचको पछाडि आकर्षक कल्ली रहेको छ जुन 'बर्ड अफ प्याराडाइज' नामक चराको पुच्छर हो।
नेपालमा गणतन्त्र घोषणापश्चात नारायणहिटी राजदरबारलाई संग्रहालय बनाउने घोषणा गरिएको थियो। वि. सं. २०६५ असार १ गते दरबारलाई संग्रहालय बनाउने घोषणा गरिएको थियो। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारमा नेपालको झण्डा फहराएर संग्रहालयको उद्घाटन गरेका थिए। त्यसअघि उक्त स्थानमा राजाको विशेष झण्डा थियो।
दरबार संग्रहालय बनेको ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिएको थियो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६५ फागुनमा दरबार संग्रहालयलाई सर्वसाधारणका लागि खुला गरेका थिए। नारायणहिटी संग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।