मोरङका तल्लो तहसम्मै एकताको तयारी सुरु

|

विराटनगर : केन्द्रबाट पार्टी एकताको टुंगो लाग्न ढिलाई भइरहँदा मोरङमा गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले स्थानीय तहसम्म पार्टी एकताको तयारी थालेको छ।

कार्यदलको विराटनगरमा बसेको बैठकले एकताको प्रक्रियाअगाडि बढाउन विभिन्न कार्यदलहरूसमेत गठन गरेको पार्टीका प्रस्तावित जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए।

पार्टीका प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश अध्यक्ष वेदराज घिमिरेको उपस्थितिमा बसेको बैठकले पार्टीको स्थानीय तहको एकताका लागि दुवै पार्टीका इन्चार्ज, अध्यक्ष र सचिव रहेको कार्यदल गठन गरेको छ। कार्यदलले स्थानीय कमिटीको एकताको लागि सुझावसहितको प्रतिवेदन जिल्ला कार्यदलमा पठाउने अख्तियारी पाएको छ। स्थानीय कमिटीको नेतृत्व भने स्थानीय कार्यदल र जिल्ला कार्यदलको बैठकबाट टुंगो लगाउने निर्णय गरिएको छ।

यसैगरी स्थानीय कार्यदललाई पार्टी सदस्य संख्या, लेबि र सम्पत्ति विवरणसहितको प्रतिवेदन बुझाउनसमेत बैठकले निर्देशन दिएको छ। नेता पोखरेलका अनुसार जिल्ला तहमा समेत पार्टी एकताको लागि विभिन्न समितिहरू गठन गरिएको छ। सदस्यताको रेकर्ड व्यवस्थित गर्न रामलाल साह, महेश भट्टराई, हेम कार्की, भोगेन्द्र यादव र दुवै पार्टीका कार्यालय सचिव रहेको समिति गठन भएको छ।

त्यसैगरी पार्टीको सम्पत्ति विवरणको रेकर्ड तयार गर्न लोचन धमला र नरेन्द्र बराललाई जिम्मा दिइएको छ भने आय व्ययको प्रतिवेदन तयार गर्न विनोद ढकाल, गोपी आछामि, नरेन्द्र बराल र मुक्ति बराल रहेको समिति गठन गरिएको छ।

यसैगरी बैठकले कात्तिक १९ गते विभिन्न चाडपर्वहरूको सन्दर्भमा चिया पान र शुभकामना आदनप्रदान गर्ने निर्णयसमेत गरेको छ। बैठकले स्थानीय तहको कामलाई व्यवस्थित गर्न छठपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका मन्त्री, संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागीतामा दुई दिने कार्यशाला संचालन गर्ने निर्णय समेत गरेको छ। जिल्ला पार्टीको कामलाई व्यवस्थित गर्न शिवकुमार मण्डल, विनोद ढकाल, महेश रेग्मी, गोपी आछामि, कूलप्रसाद साम्बा, ऋषिकेश पोखरेल, रामलाल साह र गणेश उप्रेती रहेको कार्यदल यसअघि नै गठन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.