|

नवलपरासी : प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले लामो समयसम्म पछाडि परेको मुलुक रातारात परिवर्तन हुन नसक्ने बताएका छन्।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गदै पोखरेलले अहिले समाजमा एकाथरी जमात संघीयता चाहिँदैन भन्ने र अर्कोथरी संघीयता चाहिन्छ पनि भन्ने तर अलमलमा पर्ने खालका भएको हुनाले संघीयता कुपोषण लागेको बालक जस्तो भएको कटाक्ष गरे। उनले राज्यसँग मागमाथि माग थोपर्ने तर राज्यको ढुकुटी बढाउन चासो नदिँदा राज्य कमजोर हुने र कमजोर राज्यले जनताको बढ्दो आकांक्षा पूरा गर्न नसक्ने बताए।

पोखरेलले राज्य बलियो भए मात्र जनता सक्षम हुने भएकोले राज्यलाई कमजोर पारेर जनता सक्षम हुनै नसक्ने बताएका हुन्। पछिल्लो दुईमहिना मात्र समग्र राजश्वमा ३७ प्रतिशतले बृद्धि भएको र  बैदेशिक लगानी बढ्दै गएको र नेपाली ब्यवसायीले पनि देश भित्रको लगानी बढाउँदै गएकोले मुलुक विस्तारै समृद्धिको पाटोमा अगाडि बढेको बताए।

पोखरेलले पञ्चायत कालमा एउटा गाउँ पञ्चायतमा वर्षको १० देखि १५ हजार मात्र खर्च गर्ने क्षमता भएकोमा अहिले मुलुक संघीयतामा जांदा एउटा गाउँपालिकाले वर्षभरिमा कम्तिमा पनि २५ देखि ३० करोड खर्च गर्ने क्षमतामा पुगेकोले विकासै भएन भनेर भन्न नहुनेमा जोड दिए। पोखरेलले प्रदेश ५ को मुख्य स्राेत कृषि भएकोले प्रदेश सरकारले स्मार्ट कृषि आयोजना लागु गर्ने बताए।

प्रदेश सरकारले पूर्वाधार विकास तर्फ सडक सञ्जाल नपुगेका ३२ वटा स्थानीय तहमा सडक पुराउने रणनीति लिएको बताए। कार्यक्रममा बोल्दै प्रदेश सांसद दीपेन्द्र अधिकारीले प्रदेश सरकारले धेरै योजना अगाडि सारेकोले त्यसलाई सफल बनाउन सवैै दल तथा नागरिकहरूको सहयोग अपरिहार्य भएको बताए।

प्रदेश सांसद बैजनाथ कलबारले गाउँपालिकाले भवन निर्माण गर्न लागेको जग्गा विवादित रहेको र अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै केही स्थानीयले कार्यक्रम स्थलमा आउन रोकेको भन्दै गाउँपालिकाले सवैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए।

गाउँपालिका प्रमुख बैजुप्रसाद गुप्ताले जनताले भोट दिएर जिताएकोले जनताको पक्षमा मात्र काम गर्नुपर्ने बताए। शिलान्साय भएको भवन आफ्नो एक्लो घर नभई गाउँपालिकाका सवै नागरिकको साझा घर भएको बताए। गुप्ताले विपक्षी दललाई कुनै असहमति भए टेवल टक गर्न सकिने भन्दै  जनताको मत लिएर जनताविरुद्ध कसैले पनि कुनै कार्य गर्न नहुनेमा गुप्ताले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.