समाज

शहरबाट हराएको रोटेपिङ गाउँमा पनि लोपोन्मुख अवस्था
SHARES

कात्तिक १, २०७५

    लमजुङ : ‘लिंगेपिङ र रोटेपिङबिना दशैं खल्लो हुन्थ्यो।’ अहिले छोरानातिका पालमा दशैंको रौनक नदेखिएपछि ९३ वर्षीय तिलकहादुर पौडेलले भने,‘अहिलेको पुस्तामा रोटेपिङ इतिहासको कथाजस्तै भयो।’ पौडेलका अनुसार आफू युवावस्थामा हुँदा प्रत्येक गाउँ र टोलमा कम्तीमा एउटा लिंगेपिङ र रोटेपिङ हुन्थ्यो। अहिले ती स्थानहरूमा लिंगेपिङ र रोटेपिङ बनाउने जग्गा हडपिएका छन्।

    लिंगेपिङ र रोटेपिङ बनाउने स्थानहरू मानव वस्ती र सडक सञ्जालले उत्खनन् भएका छन्। आफ्नो पालाको दशैंको चहल-पहल र अहिलेको पुस्ताको दशैंको चहल-पहल तुलना गर्दै बेँसीशहर निवासी ती ज्येष्ठ नागरिक पौडेल  गमिए। बयोबृद्ध पौडेलले आफ्नो युवावस्था सम्झँदै भने, ‘बेँसीशहरको भिमसेन स्थानमा रोटेपिङमा हुँइकिँदा निकै आनन्द आउँथ्यो। शहर बजारको व्यस्तता कम थियो, गाउँका मानिसहरू आएर रोटेपिङ निर्माण गर्दथे।’ उनले भने, ‘दशैं-तिहारमा रोटेपिङको रौनक चण्डीडाँडा र बुढाथरमा अझ धेरै हुन्थ्यो। आज सम्झनामा मात्र सिमित भयो।’

    दशैंजस्तो महान् पर्वमा पनि  बेसीशहरमा रोटेपिङ नदेखिनुले यसको इतिहास हराउँदै गएको उनको ठम्याई छ। अहिले शहरबाट रोटेपिङ पूरै लोप भयो। तर एकादुई गाउँबाहेक रोटेपिङ भेटिँदैन र निर्माण पनि गर्न छोडे। शहरबाट लोप भएको रोटेपिङ अहिले गाउँघरमा पनि लोपोन्मुख अवस्थापमा पुगेको छ। ‘ऊ बेलामा दशैं आउन लाग्यो भनेपछि सबै जना तात्थे र घरधुरी पाँच रुपैयाँ उठाएर कर्मी ज्याला दिन थाले’ ८० वर्षीय सिकर्मी रणबहादुर राउतले भने।

    सिकर्मी पेसामा पुरै जीवन यापन गरेका बृद्ध राउत अहिले पेसाको काम गर्न सक्दैनन्। गाउँमा रोटेपङि बनाउने र ठेक्का लिने गरेको उनलाई अझै पनि हेक्का छ। ‘२०३६ सालमा म र खड्का माइला मिलेर ६० रुपैयाँमा रोटेपिङ बनाउने ठेक्का लिएको थिएँ।’ बृद्धा राउतले भने, ‘वर्षाैदेखि दशैं र तिहारमा रोटेपिङले उल्लास ल्याउँथ्यो। त्यसले पनि चाडवाडको मजा छुट्टै हुन्थ्यो।’ तर अहिले गाउँमा रोटेपिङ नहुँदा निरास हुँदै उनले भने, ‘खै गाउँघरमा रोटेपिङको के कुरा गर्नु लिंगेपिङ पनि हाल्न छोडे।’

    नेपाली संस्कार र संस्कृति हराउँदै गएकोमा राउत अहिलेको पुस्तालाई दोषी देखाउँदै भने, ‘खै बाबु! हामी त मासु र भात खाएर रोटेपिङ र लिंगेपिङ खेल्थ्यौं। दशैं तिहारको खुराक पचाउँथ्यौं। अहिलेकाहरू धेरै खान पनि सक्दैनन् अनेक थरी रोग छ भन्छन्, त्यसैले पिङ नबनाएका हुन्। पहिले बनाएको पिङका सरदाम पिर्का, पाखुरी, पखेटा, बाँ, मादल खामा सबै चोरी भयो।’ उनले गुनासो गरे। रोटेपिङ नेपालको एक मौलिक संस्कृति हो। यो लोप हुने अवस्थामा पुग्नु संस्कृतीकर्मीहरूका लागि मात्रै नभइ नेपालको मौलिक संस्कार र संस्कृतिप्रतिको खेद पनि हो। बुढापाकाले भनेको कुरा अहिलेको पुस्तालाई पत्याउँनै असहज भएको छ। केही वर्ष अघि चिठी पत्रको जमानामा पिङ खेल्ने बाहनावाजी बनाएर युवायुवतीहरू भेट्ने र मायापिरती साट्ने समेत गर्दथे।

    मेलापात र दाउरा घाँस गर्दागर्दै थाकेका कतिपय युवायुवती नयाँ लुगामा सजिएर भेट्दा पिङको महत्व पनि झनै बढ्ने गर्दथ्यो। उनीहरू साथीभाइ, सहोदर, प्रेमीप्रेमिका मिलन गराउने स्थलको रुपमा दशैं र तिहारको रोटेपिङले रचनात्मक भुमिका स्थापना गरेको थियो। तर अहिले दशैं र तिहारमा गल्ली, चोक र भन्ज्याँङमा रोटेपिङको आवाज हराउँदै गएको छ। ‘चचहुई ... चहै ... चुईई ... पुँईई ... सररर ... हुईई ...’ जस्ता रोटेपिङका आवाजसँगै रमाइलोका भाकाहरू पनि लोप हुने स्थितिमा पुगेका छन्।

    प्रविधिको विकासले टाढा-टाढा रहेका आफन्तजनहरूसँग मोवाइलमा नै छिटो मीठो गफ हुन्छ। भेटघाटको लागि दशैं र तिहारको रोटे पिङको प्रतीक्षा नेपाली आधुनिकतासँगै मोबाइल फोन तथा इमेल इन्टरनेट आदिको सुविधाले टाढा बनाई दिएको अनुभव अधिकांशको छ। ‘रोटे पिङमा सामाजिक सद्भाव, भाइचारा र एकता थियो। दशैंमा आएका पाहुनालाई रोटेपिङ खेलाउन लान्थ्यौं। खोई अहिले त कहिँ पनि देखिँदैन।’

    घिमिरे गाउँका युवाप्रतिनिधि बिष्णुनिधि लोहनीले भने, ‘अहिलेको युवा पुस्तामा रोटेपिङ प्रतिको चासो छैन।’ चाडपर्वलाई रौनक बनाउन ऊर्जा दिने रोटेपिङ लोप हुँदै एक/दुई दशकभित्रै लोप हुँदै जानु अचम्मको विषय भएको छ। ‘नेपाली नयाँ पुस्तामा पश्चिमी संस्कृतिको हावी र राष्ट्रप्रतिको सद्भाव तथा परम्परागत संस्कृतिको विचलनले चाडवाडमा रोटेपिङ लोप हुँदै गएको हो’ चिति निवासी बासुदेव सेढाईले बताए।

    मुलुकमा वेरोजगार समस्या पनि यथावत नै रहेको छ। जसले गर्दा जन्ती र मलामीका लागि पनि युवा जमात न्यून देखिएको छ। रोटेपिङ बनाउने कामका लागि बल र बुद्धिको सन्तुलन आवश्यक हुन्छ। गाउँघरमा बुढाबुढी, महिला र केटाकेटीहरूमा मात्र छन्। ‘युवा विदेशमा भएका कारण पनि रोटे पिङनिर्माण गर्न सकिएन।’ चिति साहित्य समाजका निवर्तमान अध्यक्ष रुद्रनिधि तिवारीले बताए। उनले भने, ‘रोटे पिङ भएपछि निहुँ र बाहनावाजीमा केटाहरू झगडा हुने र गाउँका युवायुवतीहरू पनि बिग्रने भएपछि रोटेपिङ बनाउन छोड्यौं।’

    नेपाली कला र संस्कृतिको धरोहरको रुपमा रहेको रोटेपिङ खेलेर चाड मनाउनु र रमाइलो गर्नुको सट्टा अहिले जहातहीं जुवाका खालहरू चल्न थालेका छन्। जसले गर्दा नेपाली चाडवाडहरूको महत्व र रौनक पनि धरापमा पर्ने सम्भावना बढेको छ। कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो आफ्नै दायित्व हो र नेपाली पर्वलाई साँस्कृतिक पर्वको रुपमा मनाउनु पर्छ भन्ने चेतना समस्त नेपालीमा खुल्नु जरुरी देखिन्छ। अतिरिक्त रमाइलोका लागि परम्परागत संस्कृति पाखालगाई हुस्की, ब्राण्डी, जुवा र तासको रुपमा विकसित गराउनु नेपाली संस्कृतिविरुद्धको धावा पनि हो। 

    रोटेपिङ राजा मानदेवको पालादेखि स्थापना भएको एक पुरानो काष्ठ कलासमेत होे। अहिले काष्ठकलाको नमूना पुराना मन्दिरहरूमा मात्र सिमित रहन पुगेको छ। अरनिकोले स्थापना गरेको काष्ठकौशलले पनि अहिले राज्यलाई गिज्याइरहेको अवस्था छ। नयाँ काष्ठकौशलताको पहिचान हुन सकेको छैन र काष्ठकला कर्मीहरू सम्मानित हुने अवसर पनि टाँढिदै जानुले रोटेपिङको इतिहास हराउने खतरा निश्चित छ।

    हराउँदै गएको संस्कारलाई संरक्षण गर्दै  आधुनिकीकरणका साथ पुराना काष्ठकलालाई विशेष पहिचानको रुपमा विकास गर्नु पर्ने आवश्यकता टड्कारो देखिन्छ। पिङको संरक्षणतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले पनि नेपाली संस्कार र संस्कृतिलाई जिवन्त बनाउने रोटे पिङको संरक्षणको लागि विशेष पहल गर्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]