|

सुनसरी : नेपालीको महान चाड बडा दशैं सुरु भइसकेको छ। यतिबेला नेपालीलाई चाडपर्वले छपक्कै छोपिसकेको छ। दशैं लगक्तै तिहार, छठ, लगायतका चाडपर्व पनि आउँदै छन्।

चाडपर्वमा सबैलाई भ्याइ नभ्याइको अवस्थामा हुने गरे पनि बढी महिलाहरू ब्यस्त हुने गरेको उनीहरूको गुनासो छ। पुरुष पनि बढी सक्रिय हुने तर त्यो भन्दा बढी महिलाले चाडपर्वमा कामको नाममा सास्ती खेप्नुपरेको इटहरी २ की रुकमनी तिम्सिनाको गुनासो छ। यस्तै अर्की उदाहरणका रुपमा रहेकी छन् इटहरीकी चन्द्रादेबी चौलागाइँ। 'त्यसै त जागिरमा बढी खट्नुपर्छ। त्यसमा पनि फुलपातीको दिनदेखि त धेरै महिलालाई भ्याई नभ्याई हुन्छ। घरको सरसफाई, खाना तयारदेखि किनमेल सवै भ्याउनु पर्छ।' नायव सुव्वा पदमा कार्यरत चौलागाइँले भनिन्, 'श्रीमानले खाना पकाउन र अरु काममा पनि सहयोग त मज्जैले गर्छन्। तर कताकता श्रीमान् भन्दा आफूलाई सास्ती हुने गरेको उनको अनुभव छ।' 

 इटहरीमा बसोबास गर्ने गायिका गंगा गौतमको पनि अनुभव उस्तै छ। समाजमा सर्वसाधारण तथा खेती किसानी गर्ने परिवारको महिला हुन वा कर्मचारी तथा राम्रो आर्थिक हैसियत भएका हुन्। प्रायजसो सवैले दशैं लगायत चाडपर्वमा पुरुष भन्दा सास्ती पूर्णमा नै काम गर्नुपर्ने उनको भनाइ छ। अर्की गायिका अञ्जु गौतम पनि चाडबाडमा पनि महिलालाई बढी सास्ती हुने गरेको अनुभव सुनाउछिन्। गौतम जति नै खटेर महिलाले काम गरेपनि थाके होलान् आधा काम सघाउँछु भनेर पुरुषले नसघाउने गरेको अनुभव सुनाउछिन्। चाडबाडको बेलामा घरमा सास्ती भोग्नुपरेको र चाहेको समयमा हतपत कहिँ पनि निस्कन नपाइने उनको अनुभव छ। 

यी महिलाहरू त प्रतिनिधिमूलक पात्रहरू मात्र हुन्। अधिकांश महिलाहरू चाडबाडको बेलामा घरमा सास्ती भोग्नु परेको र चाहेको समयमा कहिँ पनि निस्कने पनि नपाईने अधिकांशको गुनासो छ। चाडबाड आउनुभन्दा केही दिनअघि नै सरसफाइदेखि हरेक काममा महिला नेैं लागि पर्नुपर्छ। दशैं लगायत चाडबाड सुरु हुनु भन्दा अघि पनि हरेक कुरा सरसफाइ गर्नुपर्ने, फोहोर फ्याक्नु पर्ने र चाडवाड सकिएपछि पनि थुपारिएको फोहारको व्यवस्थापन अधिकांश महिलाले नै गर्नु परेको छ।

यस्ता काममा पुरुषको खासै ध्यानै नजाने गरेको धेरै महिलाको बुझाइ छ। यस्तै दशैंमा टीका लगाउन कोही आफन्त कहाँ गएका बेला कसै कसैले त पाहुना आए भन्ने खबर सुन्ने बित्तिकै खुवाउन पियाउन कुदेर आइहाल्नु पर्ने अवस्था समेत आउने गरेको इटहरी ९ जुट विकास निवासी यसोदा अधिकारीको गुनासो छ।

सुनसरीको इटहरी ३ बौका झोडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराई पनि आफ्नो घरमा अनि अन्य परिवारका महिलालाई चाडबाडमा सास्ती हुने स्वीकार्छन्। कोही पनि युवायुवतीले बिवाह गर्ने बित्तिकै घरपरिवार चलाउने काम महिला पुरुषले मिलिमिली गर्नुपर्छ भन्ने सहमति नगरेकै कारण महिलाले बढी सास्ती खेप्न बाध्य भएको भट्टराईको तर्क छ। 

इटहरी उपमहानगरपालिकाकी उप प्रमुख एवं महिला अधिकारकर्मी लक्ष्मी गौतम चाडबाडमा महिलामाथि एक खालको बोझ र विभेद नै हुने गरेका दावी गर्छिन्। दशैं तिहार लगायतका चाडपर्वमा म धेरै थाेक भन्ने कुरा धेरै महिलाको मुखबाट सुन्न सकिन्छ। यस्तो थकान पुरुषहरूले नसघाएर नै हो। त्यसले महिला र पुरुषले समान रुपले साझेदारीमा समझदारीको आधारमा काम गरे महिलाले चाडबाडमा सास्ती भोग्नु पर्दैनथ्यो कि भन्ने उपप्रमुख एवं महिला अधिकारकर्मी गौतमको भनाई छ। 

चाडबाड महिलाको मात्र हाेइन। जुकसुकै चाडबाड महिला पुरुष दुवै समान रुपमा खटेर मनाउनुपर्छ भन्ने सोच आउनुपर्ने अधिकांश महिलाको धारणा देखिन्छ। यस्तो सोच नआए चाडबाडमा महिलाले मात्रै सास्ती व्याेहोर्नु उनीहरूको माथिको साँच्चिकै अन्याय ठहरिने इटहरी १२ की कल्पना सुबेदीको भनाइ छ। त्यसैले यस्ता व्यवहारिक काममा राम्ररी ध्यान दिए सवै परिवारका महिला र पुरुष समान रुपमा सुखी हुने उनको बुझाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.