|

कपिलवस्तु : बडादशैंको अवसरमा जिल्लाको विभिन्न स्थानमा बनाइएका दुर्गा भवानीका प्रतिमा  विसर्जन गरिएको छ। घटस्थापनाको दिन प्रतिमा प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले चोक चोकमा अस्थाई रुपमा दुर्गा भवानीको मूर्ती स्थापना गरी पूजाआजा गरिएका मूर्तिको नजिकका खोला नदीमा लगेर बिर्सजन गरिएको हो।

दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजी लगायत कैयौं देवी देवताहरूको मूर्तिको झाँकी ५ दिनसम्म निकालेर सनिबार बाजागाजाका साथ नाचगान गर्दै बिर्सजन गरिएको छ। जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, बहादुरगञ्ज, चारनम्बर, गजेहडा, पिपरा , वैरिया, वोडगाउँ, चप्परगाउँ, बनगाई, गोरुसिंगे, महाराजगञ्ज, थुम्हवा, पचेहरा र पकडी लगायतका स्थानमा चोक चोकमा स्थापना गरिएका दुर्गा मूर्ति विसर्जन गरिएको हो। 

दुर्गा  मन्दिरहरूमा नौ दिनभरि नै दुर्गाको पूजा गरिएको थियो। जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा लिइने रामघाटमा दुर्गा विसर्जन गर्नेहरूको ठूलो घुइँचो लागेको थियो। बाजागाजा र नाचगानसहित भक्तजनहरू रामघाट नदी पुगेका थिए। मूर्ति सेलाउने बिभिन्न स्थलहरूमा मेला समेत लागेको थियो। तौलिहवा बजारदेखि ४ किलोमिटरनजिक पर्ने बाणगंगा (रामघाट) नदीमा बिसर्जन भएको हो।

विजया दशमीको अवसरमा कपिलवस्तुका स्थानीय युवाको अग्रसरतामा विभिन्न चौक र गल्लीहरूमा माता दुर्गा भवानीका माटोका मूर्तिहरू बनाई पूजाआजाका लागि प्रदर्शनमा राखिएको थियो। गाजाबाजाका साथ निकालिएका झाँकीहरूको अवलोकन गर्न बिसर्जनको दिन शहरबजार र गाउँघरबाट दर्शनार्थीको भीडभाडका साथ रमाइलो हुने र पूजाआजा गर्ने चलन रहनुका साथै चहल पहल पनि हुने गर्दछ। नौदुर्गा भवानीको नवरात्र भरी पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको श्रद्धालु भक्तजनको भनाई छ।

जिल्लाभरिमा हजारौको संख्यामा मूर्ति तयार गरी झाँकी निकालिएकोे थियो भने मूर्ति निर्माणका लागि हिन्दू समुदायका साथै मुस्लिमहरूले समेत चन्दा सहयोग प्रदान गरी धार्मिक सद्भाव कायम राख्न सहयोग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.