|

इलाम : एएफसी यु–१९ महिला च्याम्पियनसिप २०१९ छनौटको पहिलो खेलमा बुधबार साँझ ६ बजे थाइल्याण्डको चोनबुरी रङ्गशालामा नेपालले थाइल्यान्डको सामना गर्दैछ। १४ वर्षपछि उमेर समूहका यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्। समूह ‘बि’अन्तर्गतको आफ्नो पहिलो खेल नेपालका लागि इतिहास बदल्ने सुनौलो अवसर रहेको छ।

२००४ को मे २५ देखि जुन ६ सम्म चीनको सुजउ सहरमा भएको दोस्रो संस्करणको एएफसी यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ६–१ गोल अन्तरले पराजित भएको थियो। सो प्रतियोगितामा नेपाल उत्तर कोरियासँग १९–० र उज्वेकिस्तानसँग ४–१ गोल अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

१४ वर्षपछि नेपाललाई थाइल्यान्डसँगको पराजयको बदला लिने अवसर रहेको छ। छनौट प्रतियोगिताको समूह ‘बि’मा नेपालले अक्टोबर  २६ मा भारत र अक्टोबर २८ मा पाकिस्तानको सामान गर्नेछ। यी दुई टोलीलाई नेपालले गत सेप्टेम्बरमा सम्पन्न यु–१८ साफ वुमन च्याम्पियनसिपमा पराजित गरेको हो। 
४६ राष्ट्र सदस्य रहेको एएफसीको यस प्रतियोगितामा ३० राष्ट्रले सहभागिता जनाउने भए पनि जापान, उत्तर कोरिया र चीन सन् २०१७ को प्रतियोगिताको उत्कृष्ट तीन टोली भएको कारण छनौट प्रतियोगिता नखेली सोझै १० औं संस्करणको प्रतियोगितामा सहभागी हुनेछन्। थाइल्यान्ड आयोजकको हैसियतले छनौट भइसकेको छ। थाइल्यान्डले छनौट खेल भने खेल्ने छ। तर उसलाई हार जितले अघिल्लो चरणमा पुग्न कुनै असर गर्ने छैन।

एफसी महिला च्याम्पियनसिप छनौट प्रतियोगिता दुई चरणमा गरी सम्पन्न हुनेछ। पहिलो चरणमा छ वटा समूहका खेलहरु छ राष्ट्रमा आयोजना गरिएको छ। प्रतियोगिताको छ वटा समूहका विजेता र दुई उत्कृष्ट उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणमा आठ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। ज्सको विजेता र उपविजेताले प्रतियोगितामा सहभागिता जनाउनेछन्। थाइल्यान्ड आयोजकको हैसियतले च्याम्पियनसिपमा छनौट भइसकेकाले समूह विजेता भएमा सो समूहको उपविजेताले दोस्रो चरणमा प्रवेश पाउनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.