‘हाम्रा नेता प्रधानमन्त्रीका टुक्का सुनेर मख्ख छन्’

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दोस्रो तहका नेताहरूले सरकारले भन्दा पनि आफ्नै पार्टीका शीर्ष नेताहरूले जनतालाई भ्रम छरेको आरोप लगाउन थालेका छन्। 

अध्यक्ष मण्डलका ६ जना नेताले पार्टीलाई एकलौटी ढंगबाट चलाएर जनतामा भ्रम सिर्जना गर्ने काम गरेको दोस्रो तहका नेताहरूको आरोप छ। अध्यक्ष मण्डलका नेताहरूले पार्टीलाई ‘रिजर्भ’ बनाउन खोजेको दोस्रो तहका नेताहरूले आरोप लगाएका हुन्। 

सरकारले संविधान संशोधनको समय सीमा नदिइकनै अध्यक्ष मण्डलका नेताहरूले सरकारले समय सीमा दियो भन्दै जनतामा भ्रम सिर्जना गरेको राजपाका एक वरिष्ठ उपाध्यक्षले बताए। उनका अनुसार सरकारले संविधान संशोधनको कुनै पनि समय सीमा दिएको छैन। 

‘हाम्रो पार्टीका ६ जना अध्यक्षहरूले सरकारले समय सीमा दियो भन्दै भ्रम छर्ने काम गरिरहनु भएको छ’, उनले भने, ‘सरकारले कहिले भनेको छ यो दिन संविधान संशोधन गर्छु भनेर? हाम्रा नेताले भनेर मात्र हुन्छ? सरकारको आधिकारिक धारणा आउनु पर्दैन? अध्यक्षहरूले जनतालाई ठग्ने काम मात्र भयो।’

राजपाका नेताहरूले सरकारले समय–समयमा संविधान संशोधनको समय सीमा मागिरहेको बताउने गरेका छन्। राजपा शीर्ष नेताहरूका अनुसार सरकारले सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि समय मागेको थियो। त्यसपछि प्रधानमन्त्रीको चीन भ्रमण, बिमिस्टेक सम्मेल, प्रधानमन्त्री राष्ट्र संघले आयोजना गरेको महासभामा सहभागी भएर आएपछिको समय मागेको थियो।

त्यसपछि दशैँअघि मात्र राजपाका अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्रीलाई भेटेका थिए। त्यो क्रममा प्रधानमन्त्रीले छठपछि संशोधनको प्रक्रियाअघि बढाउने आश्वासन दिएका थिए।

‘अध्यक्ष मण्डलका नेताहरूले प्रधानमन्त्रीलाई भेटे। छठपछि संविधान संशोधन गर्ने भन्ने कुरा प्रचार गर्नुभयो। भेटमा संशोधनका कुरै हुँदैन। उहाँहरू प्रधानमन्त्रीका टुक्का सुनेर मात्र फर्कनु हुन्छ’, एक वरिष्ठ नेता भन्छन्, ‘जनतालाई भ्रममा पर्ने यो शैली पुरानो भयो। अध्यक्ष मण्डलका कारण हामी पश्चगामी बाटोमा अघि बढ्ने भयौँ।’

सरकारले संविधान संशोधन कुनै पनि हालत मा नगर्ने राजपा वरिष्ठ उपाध्यक्ष वृजेसचन्द्र लाल बताउँछन्। ‘संविधान संशोधनमा सरकारको पटकै ध्यान छैन। उहाँहरूले ध्यान दिएको भए त अहिलेसम्म कहिले गर्ने हो आधिकारिक धारणा सार्वजनिक गरी हाल्नुहुन्थ्यो’, उनले भने, ‘उहाँहरू उचित समयमा गर्छौँ भन्नुहुन्छ। कहिले हो उचित समय? त्यसकारण संविधान संशोधन उहाँहरू गर्नुहुन्न।’

छठसम्म पनि संविधान संशोधन नभएमा राजपाले आन्दोलनमा जाने चेतावनी दिँदै आएको छ। सरकारले लामो समयसम्म आफूहरूलाई दोधारमा पारेको भन्दै अब छठपछि भने नपर्खने राजपा महासचिव केशव झा बताउँछन्। ‘सरकारले धेरै समयसम्म अल्लारिरहेको छ। जनतालाई के जवाफ दिने? न संघर्ष गर्न सकेका छौँ। न संविधान संशोधन हुन्छ’, उनले भने, ‘छठपछि पनि संविधान संशोधन हुन्छ भन्ने पूर्ण विश्वास छैन। तर झिनो आशा छ। त्यसबेला पनि पूरा नभए हामीसँग सडक संघर्षमा जानुको विकल्प रहँदैन।’

तर यही अवस्थामा अब राजपाले केही पनि गर्न नसक्ने राजपाकै एक वरिष्ठ उपाध्यक्षको आरोप छ। ‘अहिलेको अवस्था हाम्रो अध्यक्ष मण्डलका नेताको अपरिपक्कताका कारण आएको हो। उहाँहरू सरकारले संविधान संशोधन नगरे सडक संघर्षमा जान्छौँ भन्दै आउनुभएको छ’, उनले भने,‘तर अब राजपा यही तरिकले रिजर्भमा बस्ने हो भने केही पनि गर्न सक्दैन। अब त जनताको साथ पाउन पनि मुस्किल छ।’

‘हामीले कहिले सरकारलाई समर्थन गर्‍यौँ?’

ओली नेतृत्वको सरकारले दुई तिहाई बहुमत पुगे संविधान संशोधनमा आफूहरू तयार भएको बताएको थियो। त्यही कारणले राजपा नेपालले सरकारलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीको पक्षमा मत हाल्यो। 

ओली बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्री पनि भए। तर सरकार बनेको आठ महिने अवधिमा पनि संविधान संशोधन नभएपछि राजपाका नेताहरू भने सरकारसँग रुष्ट छन्। 

राजपाका शीर्ष नेताहरूले सरकारलाई बेला सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा राजपा अध्यक्ष मण्डलभित्र कै नेताहरूबीच पनि विवाद छ। कतिपय नेताहरू समर्थन फिर्ता लिएर सडक संघर्षमा जानुपर्ने धारणा राख्छन् भने अध्यक्ष मण्डलका केही सदस्य सरकारलाई साथ र सहयोग गरेरअघि बढे मात्र संविधान संशोधन हुने धारणा राख्छन्। 

तर राजपा भने संघीय संसदमा सधैँ प्रतिपक्षको सिटमा बस्ने गरेको छ। त्यसकारण राजपाले सरकारलाई समर्थन नदिएको बताउँने नेताहरू राजपाभित्रै छन्। संसदीय प्रणालीमा प्रतिपक्षको सिटमा बस्ने पार्टीलाई सत्तारुढ भन्न नमिल्ने राजपा वरिष्ठ उपाध्यक्ष लालले बताए।

‘संसदीय प्रणालीको अभ्यास गर्ने हामीले प्रतिपक्षको सिटमा बसेर कसरी सत्ता पक्षका हौँ भन्ने?’, उनले भने, ‘हाम्रा नेताहरू सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ भन्नुहुन्छ। हामीले सरकारलाई कहिले समर्थन गर्‍यौँ? संविधान संशोधन गर्छौँ भन्नुभयो, भोट पक्षमा भए पनि विपक्षमा भए पनि हाल्नै पर्ने थियो र हालेको हो। हामीले सरकारलाई समर्थन गरेका छैनौँ। तत्काल गर्नुपर्ने कारण पनि छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.