|

नेपाली टेलिभिजन स्थापनाको इतिहास लामो छैन। २०४२ सालमा खुलेको हो, नेपाल टेलिभिजन। २०६० यता निजी क्षेत्रका पनि टेलिभिजन पनि खुले। यसबीचमा दर्शकले धेरै अनुहारलाई समाचार प्रस्तोताका रुपमा टेलिभिजनमा देखे। कतिपय अनुहार अर्को क्षेत्रमा हामफालेका छन् भने कोही विदेशिएका छन्। कसैलाई उमेरले अवकास गराएको छ। टेलिभिजनमा पहिले छाएका र अहिले हराएका केही पुराना तथा नयाँ अनुहार अहिले के गर्दैछन् त?

 

दुर्गानाथ शर्मा

गोरखापत्रबाट मिडिया करिअर सुरु भएको थियो, दुर्गानाथ शर्माको। त्यसपछि रेडियो नेपालमा समाचार वाचक बने उनी। नेपाल टेलिभिजन स्थापनासँगै उनी टेलिभिजन स्क्रीनमा देखापरे। मिठो आवाज र स्पष्ट प्रस्तुतिका कारण उनले ख्याती कमाए। उनले चलाएको विश्व घटना अझै धेरैको स्मरणमा ताजै छ।

झण्डै दुई दशकदेखि उनी टेलिभिजन स्क्रीनमा देखिएका छैनन्। तर पनि उनी टेलिभिजनको दुनियाँबाट टाढा भने गएका छैनन्।

नेपाल टेलिभिजनमा महाप्रबन्धकसमेतको जिम्मेवारी उनले निर्वाह गरे। झण्डै नौ वर्षअघि उनी नेपाल टेलिभिजनबाट अवकास लिएर एभिन्युज टेलिभिजनमा आवद्ध भए। त्यहाँ छोटो समय काम गरेर (अहिले प्रशारण बन्द भएको) नेशनल टेलिभिजनमा कार्यकारी भूमिकामा पुगे। पछिल्लो समयमा उनी माउन्टेन टेलिभिजनमा पनि आवद्ध भए।

अघिल्लो पुस्तामाझ लोकप्रिय दुर्गानाथले आफ्नै अनुभव बटुलेर पुस्तक लेखेका छन्। उनले थाहाखबरलाई भने- 'पुस्तक चाँडै बजारमा ल्याउने योजनामा छु।'

 

बन्दना राणा

नेपाल टेलिभिजनमा झण्डै दुई दशक अंग्रेजी समाचार वाचन गरेकी बन्दना राणा अहिले 'अफ एयर' छिन्। आकर्षक व्यक्तित्व र सुन्दर अनुहारको धनी छिन् उनी। आवरणसँगै समाचार पढ्ने कलात्मक शैलीले उनलाई टेलिभिजन सेलिब्रेटी नै बनायो। तर पनि उनी अहिले स्क्रीनमा देखिन्नन्। उनले नेपाल टेलिभिजन छोडेपछि टेलिभिजनकर्ममा लागिनन्।

बन्दना संचारिका समूहको अध्यक्ष समेत बनिन्। उनी समानता र महिला अधिकारका पक्षमा क्रियाशील छन्। अहिले उनी महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा निर्वाचित भएकी छन्। स्वदेश तथा विदेशमा महिला अधिकार सम्बन्धी कार्यक्रममा उनी भाग लिइरहन्छिन्।

आफ्नो मिडिया करिअरबारे उनले अनुभव सुनाइन्- 'सानो हुँदा लजालु र नबोल्ने स्वभावको मान्छे थिए म। मिडियामा लाग्दा आफन्तहरु आश्चर्यमा परेका थिए। पछि सबै नर्मल हुँदै गयो।' तर समयान्तरसँगै उनी अहिले आफ्ना लागि होइन अरुका लागि बोल्ने भएकी छन्।

 

रमा सिंह

नेपाल टेलिभिजनमा स्पष्ट र खरो शैलीमा समाचार वाचन गर्थिन् रमा सिंह। उनी चर्चित समाचार प्रस्तोता हुन्। झण्डै दुई दशक टेलिभिजन स्क्रीनमा देखापरेकी रमा झण्डै एक दशकदेखि स्क्रीनमा छैनन्।

राजाको सक्रिय शासनको समर्थनमा खुलेर लागेको रमाको भूमिका लोकतन्त्र स्थापनासँगै नेपाल टेलिभिजनमा खुम्चदै गयो। त्यसपछि उनी अमेरिका हानिएकी हुन्।

नेपाल टेलिभिजनमा रहँदै उनले केही समय एभिन्युज टेलिभिजन स्थापनातामा व्यवस्थापकीय भूमिका खेलेकी थिइन्।

उनले अहिले पनि राजसंस्थाको पक्षमा आफ्ना अभिव्यक्ति दिँदै आएकी छन्। आफ्नो अमेरिका बसाइबारे उनले एक अन्तर्वार्तामा भनेकी छन्, 'समय बलियो हुने रहेछ। रामले पनि वनवास जानु पर्यो। अहिले सूर्यलाई बादलले छेकेको मात्र हो। तर बादल आफैं हट्छ।'

समाचार वाचनमात्र होइन रिपोर्टिङमा समेत सक्रिय रमा नेपाली फुटबल टोलीको पहिलो कप्तान पनि हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य पनि भएकी थिइन्।

 

कल्पना ढकाल

कान्तिपुर टेलिभिजनको स्थापनाकालमै समाचार प्रस्तोताको रुपमा झुल्किएर राम्रो लोकप्रियता कमाएकी थिइन कल्पना ढकालले। सरल र स्पष्ट शैलीमा समाचार भन्ने उनको शैलीले धेरैलाई लोभ्याएको थियो। कान्तिपुर टेलिभिजनमा २०६१ देखि करिव ४ बर्ष समाचार प्रस्तोताको रुपमा उनले धेरै प्रशंसक कमाएकी थिइन्।

उनी कान्तिपुर टेलिभिजनबाट बाहिरिइन्। त्यसलगत्तै उनले निजी क्षेत्रकै इमेज च्यानलमा काम गरिन्। कान्तिपुरबाट आएको सेलिब्रेटी एंकर भएकोले उनको फ्लेक्स बनाएर इमेजले काठमाडौंमा ठाउँ ठाउँमा टाँगे पनि उनको इमेज यात्रा लामो रहेन। इमेजमा समाचार प्रस्तोताको रुपमा केही समय मात्र काम गरिन् उनले।

एक जना चर्चित एंकर झण्डै ७ वर्षदेखि टेलिभिजनको स्क्रीनमा छैनन्। उनी कहाँ हराइन् त? उनी टेलिभिजनमा नदेखिए पनि कान्तिपुर टेलिभिजन छोडेको धेरै वर्षसम्म मिडिया क्षेत्रमै रहिन्। काठमाडौंस्थित बीबीसी नेपाली सेवामा झण्डै ७ वर्ष काम गरेकी कल्पनाले केही समयअघि गतिलो पारिश्रमिक दिने त्यो संस्था पनि छोडेकी छन्। उनी अहिले घरासयी कामकाजमै समय बिताइरहेकी छन्। उनका पति सुधीर शर्मा कान्तिपुर दैनिकका प्रधान सम्पादक छन्। सुधीर नेपाल साप्ताहिकको सम्पादक हुँदा कल्पनासँग विवाह भएको थियो। 

 

सिम्रिका शर्मा

नेपाली टेलिभिजनमा छोटो समय झुल्किएर एकाएक बिलाएकी सेलिब्रेटी हुन् सिम्रिका शर्मा। कलेज पढ्दापढ्दै २०६२ साल पुसमा कान्तिपुर टेलिभिजनमा आवद्ध भइन्। केही समयपश्चात समाचार प्रस्तोता बनिन्। सुन्दर अनुहार र आकर्षक व्यक्तित्वसँगै उनको स्पष्ट र कन्फिडेन्ससहितको समाचार पस्कने शैलीले धेरैको मन लोभ्यायो। धेरै फ्यान भए। छोटो समयमा करियर उचो भयो।

तर साढे ४ वर्षमै सिम्रिकाले कान्तिपुर छोडिन्। सबैले खोजेको र रोजेको त्यो अनुहार झण्डै ७ वर्षदेखि टेलिभिजनमा देखिएको छैन। कारण हो उनको पेशा परिवर्तन।

पत्रकारिताको विद्यार्थी उनले मिडियाबाहिर भए पनि त्यही क्षेत्रको काम गर्दै आएकी छन्। सिम्रिका विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मा वरिष्ठ संचार अधिकृत छन्।

छोटो समयमा टेलिभिजनमा मान र शान दुवै पाए पनि उनी टेलिभिजनमा फर्कन चाहन्नन। उनले भनिन्- 'दर्शकले रुचाएको बेलामा छोड्न पाए। यो नै मेरो लागि खुसीको कुरा हो र अहिले मेरो जबसँग म सन्तुष्ट छु। त्यसैले टेलिभिजनमा फर्कने योजना र चाहना छैन।'

 

विजय पौडेल

च्यानल नेपालबाट टेलिभिजन करिअर सुरु गरेका हुन् विजयले। २०५९ सालमा कान्तिपुर टेलिभिजन स्थापनासँगै उनी त्यहाँ आवद्ध भए।

कान्तिपुर टेलिभिजनमा उनले १३ वर्षसम्म समाचार वाचन गरे। उनको प्रष्ट र आक्रामक शैलीलाई धेरै दर्शकले मन पराए। कान्तिपुर टेलिभिजनमा सरोकार नामको करेन्ट अफेयर्स कार्यक्रम चलाएका थिए विजयले। विजयले छोडेपछि पनि कान्तिपुरले अरु एंकरमार्फत सरोकार कार्यक्रमलाई निरन्तरता दिएको छ।

विजय एक वर्षदेखि टेलिभिजन स्क्रीनमा छैनन्। कान्तिपुर टेलिभिजन छोडेर उनी एपीवान टेलिभिजन गएका थिए। एक वर्ष पुग्दा पनि टेलिभिजन प्रशारण नभएपछि विजयले एपीवान छोडेका छन्। केही समयअघि एपीवान छोडेका विजय अहिलेसम्म कतै आवद्ध भइसकेका छैनन्।

 

राधाकृष्ण धिताल

रेडियो पत्रकारिताबाट करिअर सुरु गरेका राधाकृष्ण धिताल छोटो समयमा चर्चित हुने अर्का टेलिभिजन अनुहार हुन्।

नेशनल टेलिभिजनमा एक वर्ष काम गरेपछि २०६६ सालमा कान्तिपुर टेलिभिजन प्रवेश गरेका थिए राधाकृष्ण। फेशन, कपाल तथा दाह्रीका स्टाइलिस राधाकृष्णले त्यहाँ समाचार वाचकको रुपमा राम्रो चर्चा पाएका थिए।

तर त्यो अनुहार अहिले टेलिभिजनमा देख्न छोडिएको छ। ७ वर्ष काम गरेर ४ महिनाअघि उनले कान्तिपुर टेलिभिजन छोडेका छन्। उनले अहिलेसम्म कुनै मिडिया ज्वाइन गरेका छैनन्।

उनले प्राध्यापन पेशालाई पार्टटाइम बनाएका छन् भने विज्ञापन तथा डकुमेन्ट्री निर्माणमा पनि हात हालेका छन्। उनी युवा तथा पत्रकार सम्बन्धी तालिममा प्रशिक्षकको रुपमा पनि काम गर्छन्। अंग्रेजी साहित्य र परराष्ट्रमामिलामा उनको रुची छ।

राधाकृष्णलाई टेलिभिजनको सोख भने मरेको छैन। उनले भने- 'ज्ञान र सिप पनि त्यसैमा छ। समाचारभन्दा कार्यक्रम उत्पादन र प्रस्तुतिमा मेरो रुचि छ। भविष्यमा टेलिभिजनमा देखिने योजनामा छु।'

 

रुपेश श्रेष्ठ

कान्तिपुर टेलिभिजनका चर्चित समाचार प्रस्तोता थिए रुपेश श्रेष्ठ। मिठो स्वर र आकर्षक व्यतित्वका कारण उनको क्रेज दिनप्रति दिन बढ्दो थियो। तर एक वर्षयता उनी टेलिभिजनमा देखिएका छैनन्।

२०६३ चैत १ गते कान्तिपुर टेलिभिजन ज्वाइन गरेर करिव ९ वर्षमा अर्थात २०७२ को भदौमा उनले कान्तिपुर छोडेका हुन्। त्यसयता उनको अनुहार दर्शकले देखेका छैनन्।

कान्तिपुर छोडेलगत्तै एपीवान टेलिभिजनमा आवद्ध भएका थिए रुपेश। एपीवान टेलिभिजन प्रशारणमा भएको ढिलाइ अपेक्षित नलागेपछि उनले त्यसलाई बाईबाई गरेका हुन्।

तर उनलाई टेलिभिजन अझै पुगेको छैन। उनको सोख पनि मिडिया र टेलिभिजनमै छ। उनी भन्छन्- 'उमेर पनि छ। जाँगर पनि छ र आइडिया पनि टेलिभिजनमै छ। म फेरि टेलिभिजनमा देखिने छु।'

रुपेशको मिडिया करिअर भने रेडियोबाट सुरु भएको थियो। २०५९ देखि ४ वर्ष उनले क्लासिक एफएममा काम गरे। उनी पब्लिक स्पिकिङ एन्ड लिडरसिप ट्रेनरसमेत हुन्।

 

प्रेम बाँनियाँ

टेलिभिजनमा एक चर्चित अनुहार हुन प्रेम बानियाँ। केही समयदेखि उनी टेलिभिजनमा देखिएका छैनन्। उनी हाल अमेरिका गएका छन्। न्युज २४ मा लामो समय काम गरेका प्रेम सेटल हुने गरी अमेरिका गएको जानकारहरु बताउँछन्।

प्रेमको टेलिभिजन करिअर एभिन्युज टीभीबाट सुरु भएको थियो। तर स्थापनासँगै उनी न्युज २४ मा आवद्ध भए। आक्रामक शैलीमा समाचार पस्कने प्रेमको शैलीका कारण उनी धेरैका लागि लोकप्रिय भए।

न्युज २४ मा उनले जय स्वाभिमान कार्यक्रम चलाउँथे। सिन्धुपाल्चोक घर भएका प्रेम काठमाडौं आउनुअघि स्थानीय पत्रपत्रिकामा पनि काम गर्थे। उनले नेपाल समाचारपत्रमा पनि संवाददाता भएर काम गरेका थिए।

 

मनोज जोशी

एक चर्चित टेलिभिजन अनुहार आठ वर्षदेखि एकाएक हराएको छ। त्यो हो मनोज जोशी। इमेज च्यानलमा करिव चार वर्ष देखिएका थिए उनी। २०६२ सालमा उनी कान्तिपुर टेलिभिजन ज्वाइन गरेका थिए। त्यहाँ तीन वर्ष काम गर्दा उनले नाम र मान दुवै कमाए। तर एकाएक उनी विदेशिन पुगे। विवाह बन्धनमा बाँधिएपछि श्रीमतीको रोजगार स्थानान्तरणसँगै उनी पनि विदेशिन पुगे।

लामो समय अष्ट्रेलिया बसेर उनी पुन नेपाल फर्किएका छन्। उनको टेलिभिजनमा काम गर्ने चाहना अझै जीवन्त छ। उनी भन्छन्- 'मिडियाको लत नमर्दो रहेछ। मलाई टेलिभिजनमा काम गर्न अझै पुगेको छैन। मसँग इच्छामात्र होइन जाँगर पनि छ।'

मनोज केही समयअघिमात्र एपीवान टेलिभिजनसँग आवद्ध भएका छन्। निकट भविष्यमै स्क्रीनमा आउने योजनामा छन् उनी।

यसबाहेक पनि नेपाली टेलिभिजनमा चर्चित अनुहार थिए। रेडियो र टेलिभिजन दुवैतर्फ काम गरेका प्रविण गिरीको आवाज सम्झने अझै धेरै छन्। उनको ४ वर्षअघि निधन भइसकेको छ। यस्तै चर्चित समाचार प्रस्तोताहरु रानी गुरुङ कक्षपति, नारायणी रावल, समिता राणा र रीताराज गुरुङले नेपाल टेलिभिजनबाट अवकास पाइसकेका/लिइसकेका छन्।

इमेज च्यानलबाट करिअर सुरु गरेर नेपाल वान, सगरमाथा टीभी हुँदै न्युज २४ को समाचार प्रमुख बनेका चिरञ्जीवी देवकोटा पनि अहिले टेलिभिजनमा देखिदैनन्। उनी दुई वर्षदेखि अष्ट्रेलिया छन्।

नेपाल वान र एबीसीमा समाचार प्रस्तोता भएर नाम कमाएकी दिव्य ज्योति मिडिया छोडेर संगीत कर्ममा लागेकी छिन्। उनको दोस्रो गीत सानिध्य भर्खरै सार्वजनिक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.