|

ओखलढुंगा : ओखलढुंगाको दुर्गममा तीन स्वास्थ्य संस्था संचालनमा आएका छन्। दमारका पर्यटन व्यवसायी ङिमा शेर्पाको पहलमा जिल्लाको जन्तरखानीको दमार, पात्ले र छेर्मादिङमा तीन स्वास्थ्य केन्द्र संचालनमा आएका हुन्।

५ वर्ष अघिसम्म सिद्धिचरण नगरपालि-६ जन्तरखानीस्थित रहेको दुर्गम गाउँ दमारका बासिन्दाले स्वास्थ्य सेवा विरलै पाउथे। साविकको जन्तरखानी गाविसमा रहेको स्वास्थ्य चौकी पुग्नै ३ घण्टा पैदल हिँड्नुपर्ने बाध्यताले गर्दा गाउँभरिका सबै धामीझाँक्री र जडीबुटीमै भर पर्नुपर्ने बाध्यता थियो। स्वास्थ्य संस्थाको पहुँच नहुँदा उपचार नपाएर कतिको ज्यानसमेत जान्थ्यो। गाउँका गर्भवती महिलाहरु सबैभन्दा बढी जोखिममा थिए। हुनेखानेले हेलिकोप्टर चार्टर गरेर राजधानी विरामी पुर्‍याउँथे।

आफ्नो गाउँको यस्तो समस्या देख्दा दमार गाउँका पर्यटन व्यवसायी ङिमा शेर्पालाई भने सधैँ पोल्ने गर्थ्यो। त्यसैले स्वास्थ्यका क्षेत्रमा गाउँमा केही गर्न सकिन्छ कि भनेर सधैँ सोच्ने गरेको ङिमा बताउँछन्। सामान्य उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता बढ्दै गएपछि भने उनले आफू रहेको देश इटालीमा सहयोगी हातहरु खोजे।

उनले बालबालिकासम्बन्धी काम गर्दै गरेमको एउटा कासा आलेस्सा नामक संस्था इटालीमा भेटे। बालबालिकालक्षित कार्यक्रम गर्दै आएको उक्त संस्थाले दमार गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न चासो देखायो। उक्त संस्थाकै सहयोगमा ङिमाले ५ वर्षअघि आफ्नै घरमा स्वास्थ्य केन्द्र स्थापना गरेर विरामी जाँच, गर्भ जाँच र औषधि वितरण गर्ने व्यवस्था मिलाए। उनको पहलमा सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्र उद्घाटनको दिन एउटा अपत्यारिलो घट्ना घट्यो। स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा सहभागी भएकी ङिमाकी ४० वर्षीया बहिनी दाली शेर्पा कार्यक्रमबाट घर फर्कंदै गर्दा सुत्केरी भइन् र अत्यधिक रक्तश्रावले उनको बाटैमा मृत्यु भयो।

दालीकै नामबाट स्वास्थ्य केन्द्र

यो घटनापछि ङिमा आफ्नो गाउँ ठाउँमा स्वास्थ्यका क्षेत्रमा केही गर्नुपर्छ भन्ने थप अठोटका साथ अगाडि बढे। उनले आफ्नो गाउँ दमारसहित पात्ले र छेर्मादिन गाउँमा समेत बहिनी दाली शेर्पाको नाममा दाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजना बनाए। उनको योजनाअनुसारै अहिले दमार गाउँमा १२ लाख रुपैयाँमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। उक्त केन्द्रमा २ जना अहेब र १ जना अनमी कार्यरत छन्।

पात्ले र छेर्मादिनमा भने जग्गा प्रक्रिया सकेर भवन निर्माणको काम थालनी भएको छ। 'एक पत्ता सिटामोललाई एक हजार दिन्छु भन्दा पनि गाउँमा नपाइने अवस्था थियो, गर्भवती महिलाहरुलाई सबैभन्दा बढी जोखिम थियो' ङिमाले भने, 'त्यसैले स्वास्थ्यका क्षेत्रमा पिछडिएका गाउँमा केही गरौं भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र खोलिएको हो।'

ओखलढुंगा नौ डाँडा संस्थामार्फत स्वास्थ्य केन्द्र भवन निर्माणमा कासा आलेस्सा संस्थाको सहयोग छ। जसमा औषधि उपचार र जनशक्ति भने न्युजिल्याण्डको फोर गोल्डेन शेर्पा ट्रष्टले व्यहोर्दै आएको छ। हाल पात्ले र छेर्मादिन गाउँमा स्वास्थ्य केन्द्र निर्माण भइनसकेकाले नियमित स्वास्थ्य क्लिनिक सञ्चालनको व्यवस्था मिलाइएको छ। दमार गाउँमा सञ्चालनमा आएको स्वास्थ्य केन्द्रबाट ओखलढुंगाको बाख्रे, नलीडाँडा, माझखर्क, सुर्के, घट्टेखोला लगायतका गाउँका बासिन्दा लाभान्वित भएका छन्। यस्तै उक्त केन्द्रमा सोलुखुम्बुको डिकुरे, टाप्टिङ, झाप्रे लगायतका गाउँबाट समेत सेवाग्राही आउने गरेका छन्।

स्वास्थ्य केन्द्रमा दैनिक एकदर्जन विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव टुकुनी शेर्पाले बताइन्। जसमा सबैभन्दा बढी गर्भवती महिलाहरु गर्भ जाँच गराउनका लागि आउने गरेको उनको भनाइ छ। स्वास्थ्य केन्द्रबाट विरामीहरुको स्वास्थ्य जाँच गर्ने र जटिल अवस्थाका विरामीहरुलाई जिल्ला अस्पताल रुम्जाटार, ओखलढुंगा सामुदायिक अस्पताल लगायत राजधानीका अस्पतालमा रेफर गर्ने गरिएको  स्वास्थ्य केन्द्रमा कार्यरत अहेव शेर्पाको भनाइ छ।

सरकारले प्रवाह गर्ने स्वास्थ्य सेवा उपभोगबाट बञ्चित नागरिकहरुलाई ङिमाको पहलमा सञ्चालनमा आएको स्वास्थ्य केन्द्रले राहत प्रदान गरेको सञ्चालन समितिका अध्यक्ष कुंगा शेर्पाले बताए। भवन निर्माण हुँदै गरेका पात्ले र छेर्मादिनमा जतिसक्दो चाँडो भवन निर्माणको काम सकेर स्वास्थ्य सेवा प्रदान गरिने भएको छ। ङिमा गाउँमा समाजसेवामा सक्रिय छन्। स्वास्थ्य सेवाका साथै अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न दाताहरुमार्फत् सहयोग गरिरहेका छन्। ङिमाकै पहलबाट यसअघि दमार गाउँमा सोलार वितरण, शैक्षिक सामग्री वितरण, खानेपानी आयोजना निर्माण, विद्यालय निर्माण लगायतका काम भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.