‘फास्ट ट्र्याकबाट गरे मात्र मंसिर २ मा सकिन्छ’

|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन क्रमश: टर्दै गएको छ। यसअघि नेविसंघ केन्द्रीय समितिले कार्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो।

उक्त मितिमा महाधिवेशन लगभग असंभव जस्तै बनेको छ। नेपाल विद्यार्थी संघको विधानअनुसार दुई वर्षे कार्यकाल भदौ २ गते नै सकिएको थियो तर विधानमा उल्लेख भएको व्यवस्थाअनुसार नेविसंघको महाधिवेशन गर्न तीन महिनाका लागि कार्यकाल थपिएको थियो। उक्त मितिमा पनि महाधिवेशन गर्न समस्या देखिएको छ। पार्टी नेताहरू महाधिवेशनलाई लिएर विभाजित भएपछि नेविसंघको महाधिवेशन मंसिर २ भित्र पनि जटिल बन्दै गएको हो।

गत असोज २१ गते बसेको केन्द्रीय समिति बैठकमा संस्थापन समूहका नेताहरूले बहुमतको बलमा नेपाल विद्यार्थी संघको उमेर हद ३२ वर्ष लगाएको भन्दै संस्थापनइतरका नेताहरू असन्तुष्ट थिए। त्यसयता नेविसंघको महाधिवेशनलाई पार्टी नेताहरूले महत्त्वपूर्ण ढंगले हेरेका छैनन्। त्यसपछि लगत्तै दशैँ भएका कारण नेताहरू छरिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल भारतका तीर्थ यात्रामा छन् भने नेता कृष्णप्रसाद सिटौला पनि देशबाहिर छन्।

त्यस कारण कांग्रेस केन्द्रीय समिति बैठक पनि बस्न सकेको छैन। बैठक बस्न नसक्दा नेविसंघको विधान र नियमावली पारित नभएका कारण पार्टीले नेविसंघलाई विधान बुझाउन सकेको छैन। कार्तिक १६ गते पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि मात्र केन्द्रीय समिति बैठक बस्न सक्ने कांग्रेसले जनाएको छ। ‘वरिष्ठ नेता भोलि मात्र तीर्थ यात्राबाट आउनुहुन्छ। त्यसपछि मात्र बैठक कहिले गर्ने भन्ने टुंगो लाग्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले थाहाखबरसँग भने। 

अब भने नेपाल विद्यार्थी संघको महाधिवेशनको विषय क्रमश: विषयान्तर हुँदै गएको छ। अब बस्ने बैठकमा नेताहरू मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठकमा केन्द्रित हुने पार्टीका एक पदाधिकारीले बताए। ‘अबको महत्त्वको विषय नेविसंघको महाधिवेशन होइन’, उनले भने, ‘कांग्रेसको सबैभन्दा महत्त्वपूर्ण विषय महासमिति बैठक हो।’

कांग्रेसका नेताहरू अहिले महासमिति बैठकको तयारीमा लागेका छन्। उनीहरू आफ्नो गुटलाई कसरी दह्रो गरी महासमितिमा प्रस्तुत गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएका छन्। यस कारण नेविसंघको महाधिवेशन हुन समस्या भएको छ। पार्टीले नेविसंघको महाधिवेशनका लागि बनाइदिएको निर्देशक समितिका संयोजक पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत पनि मंसिर २ गतेभित्र महाधिवेशन हुनेमा ढुक्क छैनन्। उनी अहिले नै केही बोल्न नसक्ने अवस्था रहेको बताउँछन्। ‘कार्तिक १६ गते त कुनै पनि हालतमा हुँदैन’, उनले भने, ‘अब मंसिर २ मा के गर्ने भन्नेबारे चाहिँ पार्टी केन्द्रीय समितिको बैठक नबसेसम्म केही भन्न सक्ने अवस्था छैन। अहिले नै बोल्न उचित पनि हुँदैन।’

आफूहरूले जति प्रयास गरे पनि समयमा महाधिवेशन गर्न नसकिएको नेविसंघ अध्यक्ष नैनिसंह महरले बताए। ‘म महाधिवेशनका लागि हदैसम्मको लचक भएकै हुँ’, उनले भने, ‘हामीले नेविसंघको महाधिवेशनका लागि हरसंभव प्रयास गरेका थियौँ तर पार्टीले विधान नपठाउँदा पूर्वनिर्धारित तालिकामा नसकिने नै भइयो।’
अब मंसिर २ भित्र पनि महाधिवेशन गर्न निकै मुस्किल भएको अध्यक्ष महरले बताए। ‘अब त फास्ट ट्र्याकबाट गरे मात्र मंसिर २ भित्र सकिन्छ’, उनले भने, ‘नभए निकै गाह्रो छ।’

असोज २१ गते रातीको केन्द्रीय समितिको बैठकमा शीर्ष चार नेताले बैठकमा फरक मत राखेको विषयलाई लिएर नेविसंघभित्र पनि विभाजन छ। सभापति समूहका विद्यार्थी नेताहरूले नोट अफ डिसेन्ट लेख्नु गलत भएको बताउँदै आएका छन् भने संस्थापनइतर समूहका विद्यार्थी नेताहरूले शीर्ष नेताले आफूहरूलाई साथ दिएको बताउँदै आएका छन्।

तर अध्यक्ष महरले भने शीर्ष नेताका कारणले नेविसंघको महाधिवेशन गर्न समस्या भएको बताए। ‘लोकतान्त्रिक पार्टीमा नोट अफ डिसेन्ट लेख्नु ठूलो कुरा होइन। नोट अफ डिसेन्ट लेखे पनि बहुमतको निर्णय स्वीकार गर्छु भनेको हो’, उनले भने, ‘तर असोज २५ गते बस्न लागेको बैठक बहिस्कार गर्छु भन्नुचाहिँ गलत हो। त्यही कारण हामीले विधान पाएनौँ।’ 

नेविसंघमा ३२ वर्षे उमेर हद लाग्नु मुख्य कुरा नभएको अध्यक्ष महरले बताए। ‘शीर्ष नेताले नोट अफ डिसेन्ट लेख्दा पनि उमेर हद नमान्ने भन्नुभएको छैन। उहाँहरूले प्रक्रिया भएन मात्र भन्नुभएको छ’, उनले भने, ‘उमेर हद मुख्य विषय पनि होइन। ११औँ महाधिवेशनको निर्णयलाई निरन्तरता मात्र दिएको हो।’ मंसिर २ भित्र महाधिवेशन नभए विधानत: नेविसंघ विघटन हुन्छ। त्यसपछि बन्ने तदर्थ समितिले महाधिवेशन गर्छ तर पार्टीले चाहेको बखतमा सबैको सहमतिमा महाधिवेशनका लागि मिति थप्न सकिने नेताहरू बताउँछन्।

अब स्ववियु निर्वाचनपछिका लागि भए पनि नेविसंघको महाधिवेशन गर्नै पर्ने अध्यक्ष महर बताउँछन्। ‘नेविसंघमा महाधिवेशनको विकल्प त अरू केही हुन सक्दैन तर फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन्छ’, उनले भने, ‘अब छठपछि गर्ने हो कि भन्ने पनि लागेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.