‘गच्छदारको व्यवस्थापन सम्मानजनक हुन्छ’

|

काठमाडौं : मंसिर ५ देखि ९ गतेसम्मका लागि तय गरिएको नेपाली कांग्रेसको महासमिति बैठकका लागि नेताहरू कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न लागिपरेका छन्। 

समूहगत राजनीतिको चंगुलमा फसेको कांग्रेसमा नेताहरू एअर्काको समूहलाई महासमिति बैठकमा कसरी कमजोर बनाउने भन्ने रणनीतिमा लागेका छन्। कांग्रेसको समग्र समस्याको विषयमा छलफल हुने थलो महासमिति बैठकका लागि यतिबेला कांग्रेस नेताहरू तयारीमा जुटेका छन्। 

महासमिति बैठकका लागि संस्थापन समूहका नेताहरूले तीव्र रूपमा तयारी गरिरहेको भए पनि संस्थापनइतर समूहका नेताहरू भने अब बस्ने केन्द्रीय समिति बैठकमा के गर्छन् भन्ने आशंका अझै पनि कायमै छ। नेपाल विद्यार्थी संघको विधानलाई लिएर असन्तुष्ट रहेका संस्थापनइतर समूहक चार शीर्ष नेताले यसअघि २५ असोजमा बस्ने भनिएको बैठकसमेत बहिस्कार गर्ने आन्तरिक तयारी गरेपछि बैठक नै बस्न सकेको थिएन।

त्यसपछि लगत्तै दशैँ आयो। त्यो क्रममा कांग्रेसका केही शीर्ष नेताहरू काठमाडौं बाहिर छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल तीर्थ यात्राका लागि भारत गएका छन् भने नेता कृष्णप्रसाद सिटौला पनि देश बाहिर छन्। यद्यपि उनी कुन देशमा छन् भन्ने खुलाइएको छैन। स्रोतका अनुसार सिटौला पनि भारत भ्रमणमा छन्। वरिष्ठ नेता पौडेलले मंगलबार स्वदेश फर्कने पार्टीलाई जानकारी गराएका छन् भने सिटौला बुधबार मात्र स्वदेश फर्कने पार्टीलाई जानकारी दिएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। 

संस्थापनइतर समूहका नेतृत्वकर्ता यी दुई नेता स्वदेश फर्किएपछि मात्र उनीहरू अब कसरी अघि बढ्छन् भन्ने टुंगो लाग्नेछ। तर संस्थापनइतर समूहका नेताहरू भने नेविसंघको छिनोफानो नभएसम्म बैठकमा सहभागी नहुने मनस्थितिमा रहेको बताइएको छ। 

सवा करोड खर्चको अनुमान

यता कांग्रेस संस्थापन समूहले भने महासमितिको तयारी तीव्र पारेको छ। स्थानीय व्यवस्थापन समिति गठन गर्दै कांग्रेसले महासमिति बैठकको तयारी तीव्र पारेको हो। महासमिति बैठको व्यवस्थापनका लागि कांग्रेसले उपत्यकाका तीन जिल्ला समितिलाई जिम्मेवारी दिएको छ। 

काठमाडौं जिल्ला सभापति कृष्ण (सवुज) बानियाँको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो। उक्त समितिलाई महासमिति बैठकको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पार्टीले दिइसकेको छ। 

कांग्रेसले यसपटकको महासमिति बैठक भृकुटीमण्डपस्थित खुल्ला चौरमा पण्डाल टाँगेर गर्ने भएको छ। उक्त बैठकमा देशभरका महासमिति सदस्य र केन्द्रीय सदस्य गरी साढे १४ सय प्रतिनिधिको सहभागिता रहने स्थानीय व्यवस्थापन समिति संयोजक तथा कांग्रेस काठमाडौं जिल्ला सभापति बानियाँले जानकारी दिए। 
महासमिति बैठकमा आउने प्रतिनिधिहरूले बस्नको व्यवस्था आफैँ गर्नुपर्ने पार्टीले निर्णय गरिसकेको छ। तर यो विषयमा पनि छलफल भइरहेको बानियाँले बताए। ‘यसअघि पार्टीले बस्ने व्यवस्था आफैँ गर्नु भनेको थियो’, उनले भने,‘तर के गर्ने भन्नेबारे हामी छलफल मै छौँ।’ 

बानियाँका अनुसार महासमिति बैठकमा आउने प्रतिनिधिले एक छाक खाना र दुई पटक खाजा पाउने छन्। यस्तै बीचमा चियाको पनि व्यवस्थापन गरिने बानियाँले बताए। ‘बिहान नास्ता, त्यसपछि लञ्च र दिउँसो खाजासहित चियाको व्यस्थापन हुनेछ’, उनले भने, ‘यति बस्ने व्यवस्था भएमा बेलुकाको खाना पनि हुन्छ। तर बस्ने व्यवस्था भएन भने उहाँहरूले आफैँ खानुपर्नेछ।’

यसका लागि करिब एक करोडदेखि सवा करोडसम्मको खर्च लाग्ने कांग्रेसले अनुमान गरेको छ। बस्ने र बेलुकाको खानाको व्यवस्थापन गर्नुपरेमा खर्च बढ्नसक्ने बानियाँले बताए। 

कसरी जुट्छ खर्च?

यसपटकको महासमिति बैठकमा लाग्ने खर्चको तयारीका लागि स्थानीय व्यवस्थापन समिति जुटेको छ। आर्थिक व्यवस्थापन उपसमितिमा उपत्यकाका तीन जिल्लाका सभापति रहे पनि पार्टीले पनि त्यहाँ सदस्य थप्ने भनेको बानियाँले बताए। उक्त समितिले महासमति बैठकका लागि खर्चको व्यवस्थापन गर्नेछ। 
आर्थिक व्यवस्थापन उपसमितिमा पार्टीले पनि मान्छे राख्ने भनेको छ’, बनियाँले थाहाखबरलाई भने, ‘यसका लागि हामी चाँडैनै सभापतिसँग छलफल गर्ने छौँ।’ 

महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिले पनि यसको व्यवस्थापनका लागि निश्चित रकम तिर्नुपर्ने उनले बताए। यस्तै, व्यवस्थापन खर्चका लागि पार्टीका केही शीर्ष नेताहरूलाई पनि माग्ने तयारी भइरहेको उनले बताए। ‘यसका लागि हामीले शीर्ष नेतासँग छलफल गर्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘कसरी खर्च जुटाउने भन्ने हामी केही दिनभित्रै टुंगो लगाउँछौँ। अहिले आर्थिक विषय क्लियर भएको छैन।’

आर्थिक व्यवस्थापन पनि स्थानीय व्यवस्थापन समितिले नै मिलाउने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

‘गच्छदारको व्यवस्थापन सम्मानजनक हुन्छ’

कांग्रेसभित्र गहकिलो रूपमा गत एक वर्षदेखि उठिरहेको विषय हो, फोरम लोकतान्त्रिकको व्यवस्थापन। विजयकुमार गच्छदारको नेतृत्वमा रहेको फोरमले गतवर्ष मात्र कांग्रेससँग एकता गरेको थियो। 

एकतापछि गच्छदारले कांग्रेसले संझौताअनुसार आफ्ना नेताको व्यवस्थापनमा ध्यान नदिएको आरोप लगाउँदै आएका छन्। उनले एक सार्वजनिक कार्यक्रममा एकता भंग गर्ने सम्मको चेतावनीसमेत दिएका थिए। अब महासमिति बैठकमा गच्छदारको पूर्वपार्टीबाट कसरी सहभागिता गराउने भन्ने कांग्रेसमा समस्या छ। अहिलेसम्म पूर्वफोरम लोकतान्त्रिकका कार्यकर्तालाई कसरी महासमिति बैठकमा सहभागी गराउने निश्चित छैन। 

‘१६ गतेको चियापान कार्यक्रमपछि पार्टी केन्द्रीय समिति बैठक बस्छ’, उपसभापति विमलेन्द्र निधिले भने,‘बैठकले गच्छदारजीलाई सम्मानजनक र र संझौताअनुसार नै सहभागिता गराउँछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.