'बोल्ने ठाउँमा बोलिनै रहनुभएको छ, त्यसैले बाहिर नबोल्नु भएको हो'

|

काठमाडौं : नेपाली कांग्रेसमा एकता भएको एक वर्षसम्म पनि संझौताअनुसार भूमिका नपाएका नेता विजयकुमार गच्छदार संझौता कार्यन्वयनका लागि दबाब दिन सुरु गरेका छन्। एक वर्षअघि कांग्रेसमा समाहित भएकोे फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताका लागि भूमिका माग्दै उनी बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलण्ढ पुगेका थिए। 

भेटका क्रममा उनले सभापति देउवासँग सहमति कार्यन्वयनतर्फ ध्यान दिन आग्रह गरेको गच्छदारको सचिवालयले जानकारी दिएको छ। 
तर पछिल्लो समय फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गराउने विजयकुमार गच्छदार भने अहिले मौन जस्तै छन्। आन्तरिक रूपमा पार्टीमा नेतृत्वमा कुरा राख्दै आए पनि पछिल्लो समय गच्छदार सार्वजनिक रूपमा भने बोल्न छाडेका छन्। उनी पार्टीभित्र पनि कुनै गुटमा नजिक नभई ‘न्युट्रल’ देखिएका छन्। उनी पार्टीभित्रका समस्याका विषयलाई लिएर सञ्चारमाध्यममा पनि आउन चाहेका छैनन्। 

पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि संझौताअनुसार समायोजन नभएको भन्दै उनी पार्टी नेतृत्वसँग भने असन्तुष्ट छन्। पार्टी नेताहरूसँग आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न पटकपटक आग्रह पनि गर्दै आएका छन्। यही मंसिर ५ देखि ९ गतेसम्म बस्ने महासमिति बैठकमा फोरम लोकतान्त्रिकबाट आएकालाई पनि सम्मानजनक र संझौताअनुसानर सहभागिता गराउन नेतृत्वलाई उनले आग्रह गरेका छन्। 

पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताहरूलाई भेटेर गच्छदारले आफ्ना कुरा राखिरहेका कारण पनि सार्वजनिक कार्यक्रम र सञ्चारमध्यममा नआएको फोरम लोकतान्त्रिकबाट एकतामा आएका नेता रामजनम चौधरी बताउँछन्। ‘उहाँ(गच्छदार)ले आफ्ना कुरा केन्द्रीय समिति बैठकमा र सबै नेताहरूलाइै राखिरहनु भएको छ। शीर्ष नेताहरूले पनि हुन्छ भनेर आश्वासन दिनुभएको छ’, उनले भने, ‘त्यसकारण अहिले नै उहाँ बाहिर नबोल्नुभएको हो।’

एक वर्षअघि पार्टी एकता हुँदा उनलाई कांग्रेस सभापति देउवाले गच्छदारको पार्टीबाट केन्द्रीय समितिमा उपसभापतिसहित १० जनाको प्रतिनिधित्व गराउने सहमति गरेका थिए। यस्तै, करिब २० हजार पार्टी क्रियाशील सदस्यता दिने, पाँच सय महाधिवेशन प्रतिनिधि दिने र करिब तीन सय महासमिति सदस्य दिने सहमति भएको थियो। तर पार्टी एकता भएको एक वर्षमा पनि आफ्ना कार्यकर्ताले भूमिका नपाएपछि उनी असन्तुष्ट छन्। 

‘महासमिति बैठकमा गच्छदारजीबाट आएका कार्यकर्तालाई उचित र सम्मानजनक सहभगिता गराइन्छ’, कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘अहिले नै यति संख्यामा गराइन्छ चाहिँ भन्न सकिँदैन। यसको छिनोफानो पार्टी केन्द्रीय समिति बैठकले गर्नेछ।’

नेता गच्छदारले लामो समयदेखि यसरी नै आश्वासन पाइरहेका छन्। शीर्ष नेताहरूसँग कुरा कानी गर्दा उनले सधैँ जसो केन्द्रीय समिति बैठकबाट बाधाअड्काउ फुकाएर गच्छदारबाट आएका कार्यकर्तालाई जिम्मेवारी दिने प्रतिवद्धता जनाउँदै आएका छन्। तर कुनै केन्द्रीय समिति बैठकमा यो विषयमा छलफल भने नभएको भन्दै उनी आफू निकटका नेताहरूसँग असन्तुष्टि जनाउने गर्छन्। 

अब बस्ने केन्द्रीय समिति बैठकबाट भने उनी पार्टीमा स्पष्ट भूमिका खोज्ने योजनामा रहेका छन्। 

‘अब बस्ने केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समितिले ल्याएको विधानमा छलफल हुने कुरा आएको छ’, नेता चौधरी भन्छन्, ‘त्यो बैठकपछि हामीलाई कसरी एडजस्ट गराइँन्छ हेर्छौँ। यो महासमिति बैठकमा हाम्रोतर्फबाट करिब पाँच सयलाई सहभागिता गराउनुपर्छ भन्ने हामी माग हो। यसका लागि नेताहरूलाई पनि दबाब दिन्छौँ।’

भूमिकाविहीन हुने डरले अहिले गच्छदार पार्टीभित्र ‘न्युट्रल’ छन्।  उनी कुनै गुट वा उपगुटमा छैनन्। तर अहिले उनी देउवा नजिक देखिन्छन्। ‘उहाँसँग हामीले पटकपटक कुराकानी गरिरहेका छौँ’, देउवाबाहेकको समूहका एक शीर्ष नेताले भने, ‘उहाँसँग मेरो बारम्बार कुरा भइरहेको छ। भूमिका नपाएका कारण न्युट्रल बस्नुभएको हो। पछि उहाँ आउनुहुन्छ।’ 

वरिष्ठ नेता समूहमा रहेकानेताहरू पनि गच्छदारसँग भएको सहमति कार्यन्वयन गर्न लचिलो भएको जनाउँदै आएका छन्। तर गच्छदारसँगको सहमति कार्यन्वयनका नाममा देउवाले पार्टीभित्र आफ्ना कार्यकर्ता भर्ती गर्छन् कि भन्ने डर भएको देउवाइतर समूहक एक शीर्ष नेताले बताए।
‘हामीले त सहमतिअनुसार गच्छदारजीलाई उपसभापति बनाउँ भनेका हौँ। उहाँबाट केन्द्रीय समितिमा १५ देखि २० जना थप्न पनि हामी तयार छौँ’, उनले भने, ‘तर देउवाजीले मौका छोपेर आफ्ना मान्छेलाई भर्ती गर्नेतर्फ भने हामी सचेत छौँ।’

कुनै बेला गच्छदार पनि कांग्रेसमा प्रभावशाली नेता मानिन्थे। एक समय ‘एकेजिबी’ नामले कांग्रेसमा परिचित समूहका उनी पनि पर्थे। एकेजिबी अर्थात् अर्जुनरसिंह केसी, खुमबहादर खड्का, गोविन्दराज जिसी र विजयकुमार गच्छदार। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पनि कुनै निर्णय गर्ने बेलामा यी चार नेतालाई सोध्ने गर्थे। तर जब २०६४ मा कांग्रेस छाडेर अर्को पार्टीमा गए त्यसपछि पार्टीमा फर्कँदा उनको प्रभाव क्रमश घट्दै गएको कांग्रेसभित्र चर्चा हुने गरेको छ। 

‘हामी समकालीन पनि हौँ। उहाँ कांग्रेसभित्र एक प्रभावशाली नेता हो। उहाँसँग भएको संझौताअनुसार भूमिका दिन कन्जुस्याइँ गर्नहुँदैन’, नेता अर्जुननरसिंह केसी भन्छन्, ‘उहाँसँग जे संझौता छ त्यहीअनुसार सम्मान साथ प्रवेश गराउनुपर्छ। त्यसका लागि गच्छदार एक जना, हामीहरूमध्येबाट एक जना र सभापतिजीको तर्फबाट एक जना गरेर पहिला भएको संझौताको डकुमेन्ट राखेर टुंगो लगाउनुपर्छ।’ यो विषयलाई विधानले रोके पनि बाधाअड्काउ फुकाएर भए पनि मिलाउनुपर्ने केसी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.