|

जुम्ला : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी सात वर्षभित्र कर्णाली प्रदेशमा १० लाख पर्यटक भित्रिने दाबी गरेका छन्।

चन्दननाथ नगरपालिमा नवनिर्मित बोधिचैत्यको उद्घाटन तथा प्राण प्रतिष्ठान कार्यक्रममा मन्त्री अधिकारीले कर्णाली प्रदेश पर्यटकीय रूपले महत्वपूर्ण रहेको बताएका हुन्। द हिमालयन पिस एसोसिएसनले निर्माण गरेको बोधिचैत्यको उद्घाटन गर्दै मन्त्री अधिकारीले कर्णाली अहिले नै पनि पर्यटकहरूलाई स्वागत गर्न तयार रहेको बताए।

'पहिले मुस्ताङमा पनि पर्यटक आउदा बस्ने ठाउँ हुदैनथ्यो। अहिले कर्णालीमा त्यस्तै समस्या आएको छ। यसलाई हटाउनुपर्छ', मन्त्री अधिकारीले भने, 'सात वर्षपछि कर्णालीमा आउने पर्यटक १० लाख हुन्छन्। हिमालको काखमा यस्तो भर्जिन, स्वर्गीय आनन्द कहिँपनि छैन।' पहिले मुस्ताङलाई पनि पत्याउने अवस्था नभएको भन्दै मन्त्री अधिकारीले केही वर्षमै कर्णालीको अवस्था पनि मुस्ताङ जस्तै हुने बताए।

जुम्लामा निर्मित बोधिचैत्य नेपालका महत्त्वपुर्ण १०० पर्यटकीय गन्तव्यमा परेको भन्दै उनले बोधिचैत्यको निर्माण सम्पन्न गर्न यसवर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए। अधिकारीले चैत्यलाई कर्णाली र जुम्लाको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए। सरकार एक्लैले विकास गर्न सम्भावन नभएको बताउँदै उनले यसमा नीजि क्षेत्र र आम जनताको सहयोग आवश्यक रहेको बताए। उनले कम्तिमा तीनदिन पर्यटक जुम्ला बस्नेगरी पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए।

मन्त्री अधिकारीले भने, 'जुम्ला उपत्यका, सिंजा, गोठिचौरलाई राम्रोसँग जोड्न सकेमा जुम्ला आएको पर्यटक तीनदिन जुम्लामै बस्नेछन्। कम्तीमा तीनदिन जुम्लामै पर्यटक बस्ने वातावरण बनाउन जरुरी छ।'  उनले थपे, 'पर्यटन वर्ष भनेर मनाएपछि पर्यटक आउँछन्। बस्ने ठाउँ भएन भन्ने सुनिन्छ। अब यसलाई बढाउनुपर्छ। पर्यटक आइसक्यो अब निजी क्षेत्र आउनुस्। हामीले पर्यटक बोलाउनुपर्छ।'

पर्यटकीय क्षेत्र भनेपछि काठमाडौं, चितवन र पोखरा मात्रै भन्ने सोच परिवर्तन भएर अहिले पश्चिम क्षेत्रमा सरेको भन्दै मन्त्री अधिकारीले त्यो कर्णालीमा पनि सरेको बताए। उनले भने, 'पर्यटन अब पूर्व, पश्चिम गएको छ। लुम्बिनीमा पर्यटकको अत्यधिक बाक्लो उपस्थिति छ। रारामा अत्यधिक पर्यटकको संख्या बढेको छ।' नेपालमा पर्यटक ३० प्रतिशतले वृद्धि भएको भन्दै मन्त्री अधिकारीले आन्तरिक पर्यटक ५० लाख भएको बताए।

सबै पर्यटकलाई पाहुनाको व्यवहार गर्नुपर्ने भन्दै उनले विदेशी वा स्वदेशी मात्रै नभनेर सबैलाई समान वातावरण र सत्कार दिनुपर्ने बताए। सरकारले कर्णाली सडकखण्डलाई प्राथमिकता दिएको भन्दै सडक स्तरोन्नति पहिलो प्राथमिकता दिएको उनले बताए। अहिलेसम्म नेपालको पर्यटन क्षेत्र वैदेशिक सहायता अन्तर्गत अगाडि बढाएको भन्दै मन्त्री अधिकारीले अब संघ, प्रदेश र स्थानीय सरकार मिलेर अगाडि बढाउन आग्रह समेत गरे। जुम्लाको विमानस्थल स्तरोन्नति गर्न सरकार तयार रहेको मन्त्री अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.