|

काठमाडौं : नेपाली कांग्रेसको मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने  तयारी सुरु गरेका छन्। 

मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महासमिति सार्ने र गच्छदारलाई उपसभापति बनाउने कार्ययोजनाका साथ देउवाले तयारी सुरु गरेको उनी निकट स्रोतले बताएको छ। यसका लागि सभापति देउवाले अन्य खेमाका शीर्ष नेतासँग 'लविङ' सुरु गरेका छन्। उनले अरू खेमाका केही शीर्ष नेतालाई फोन गरेर पार्टी एकतामा भएको सहमति कार्यान्वयन गर्दै गच्छदारलाई उपसभापतिमा बाटो खुल्ला गर्न आग्रहसमेत गरेको स्रोतको दाबी छ।

नेता गच्छदार पनि अहिले उपसभापतिको दौडमा छन्। उनी केही दिनयता कांग्रेस सभापति, वरिष्ठ नेता तथा शीर्ष नेताहरूलाई भेटिरहेका छन्। उनले भेटमा आफूसँग भएको सहमति कार्यान्वयनमा जोड दिने गरेको स्रोतले बताएको छ।

कांग्रेसको विधानअनुसार भने गच्छदारलाई उपसभापति बनाउँन मिल्दैन। कांग्रेसमा पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। तर, गच्छदार भने विशेष आमन्त्रित केन्द्रीय सदस्य मात्र हुन्। उनलाई उपसभापति बनाउनका लागि सभापति देउवाले शीर्ष नेताहरूलाई बाधा अड्काउ फुकाउ गरेर भए पनि उपसभापति बनाउन आग्रह गरेका छन्। विधानमा यस्तो व्यवस्था नभए पनि गच्छदारको विषयमा भने बाधाअड्काउ फुकाउ गरेर पनि सहमति गर्न तयार रहेको कांग्रेस नेता अर्जुनरसिंह केसी बताउँछन्।

‘हामीलाई अहिले केन्दीय कार्य समिति बैठकका विषयमा केही भनिएको छैन। बैठकको एजेण्डाका बारेमा जानकारी दिइएको छैन। समसामयिक राजनीतिक परिस्थितिबारे भनिएको छ’, उनले भने, ‘गच्छदारजीलाई विधानअनुसार उपसभापति बनाउन मिल्दैन। तर, उहाँका बारेमा हामी सकारात्मक छौँ। विशेष व्यवस्था गरेर प्याकेजमा सहमति गर्दै बाधाअड्का फुकाएर उपसभापति बनाउन तयार छौँ। त्यसका लागि विशेष समिति बनाइनुपर्छ।’

मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन देउवाइतर समूहका नेताहरू सोमबार बिहानैबाट छलफलमा जुटेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको छलफलमा देउवाको प्रस्तावलाई के गर्ने भन्नेबारे छलफल भएकोे बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए। 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी कोषाध्यक्ष सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडूलगायत नेताहरूको सहभागिता रहेको बताइएको छ। बैठकमा नेता कृष्णप्रसाद सिटौला भने सहभागी छैनन्। उनी आफ्ना भाञ्जा बिरामी भएका कारण झापा गएको उनका स्वकीय सचिव प्रेम भट्टराईले जानकारी दिए। उनी मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी हुन्छन्/हुँदैनन् भन्ने टुंगो नलागेको भट्टराईले जानकारी दिए। 

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा गच्छदार उपसभापति बन्ने पक्कापक्की जस्तै रहेको गच्छदार निकट नेता रामजनम चौधरीले दाबी गरे। ‘भोलि विजयजी उपसभापति बन्नुहुन्छ’, उनले भने, ‘पूर्वसहमतिअनुसार उहाँलाई उपसभापति बनाउने सभापतिले आश्वासन दिनुभएको छ।’ एकतामा भएको सहमतिअनुसार गच्छदारको पार्टीबाट आएका १५ जना केन्द्रीय सदस्य हुनेछन्।

यो विषय भने कार्यदल बनाएर टुंग्याउने सहमति भएको नेता चौधरीले थाहा खबरलाई जानकारी दिए। ‘भोलिकै केन्द्रीय कार्यसमिति बैठकबाट कार्यदल बन्छ’, उनले भने, ‘अरू केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको टुंगो महासमिति बैठकअघि नै लाग्छ।’ 

यसअघि कांग्रेसले फोरम लोकतान्त्रिकसँग एकता गर्दा पार्टीबाट २० हजार बढी क्रियाशील सदस्य दिने सहमति गरेका थियो। यस्तै, लोकतान्त्रिकको संगठन रहेको ६३ जिल्लाबाट पाँच सय महाधिवेशन प्रतिनिधि हुनुपर्ने गच्छदारले प्रस्ताव गरेका थिए। महासमितिमा पनि तीन सयलाई प्रतिनिधित्व गराउनुपर्ने उनको माग थियो।

यसैबीच मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा मंसिर ५ देखि ९ गतेसम्म तय गरिएको महासमिति बैठक सार्ने प्रस्ताव रहेको बताइएको छ। यो प्रस्तावमा सबै नेता लगभग सहमत छन्। कांग्रेसको महासमिति बैठक दोस्रो पटक सर्न लागेको हो।

सम्बन्धि समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.