|

तनहुँ : भ्रमणको सिजन सुरु भएसँगै दमौलीमा पर्यटकहरु बढ्दै गएका छन्। भ्रमणमा निस्किएका विदेशी पर्यटकहरु नेपालमा रहेका नदीहरुको र्‍याफ्टिङ गर्न बढी मन पराउने गर्दछन्। अहिले तनहुँको दमौलीस्थित मादी नदीमा र्‍याफ्टिङ गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। 

र्‍याफ्टिङका लागि सुरक्षित र पानीको बहाव तीव्र नहुने भएकाले यो सिजन पर्यटकको रोजाइमा मादी नदी पर्ने गरेको छ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यापानेले चार वेद र १८ पुराणका रचयिताको व्यासको जन्मस्थल खोज्दै आउने पर्यटक बढेको बताए। मादी नदी धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले पनि मादी र सेतीको सङ्गम स्थल व्यासभूमिको पानीमा रमाउने पर्यटक बढेको उनको भनाइ छ। 

'बाह्य तथा आन्तरिक पर्यटकलाई व्यासको तपोभूमिमा घुमफिरका साथै र्‍याफ्टिङ स्थल बनाउने योजना बनाएर अगाडि बढेका छौँ,’ उनले भने, ‘योजना निर्माण गरी अगाडि बढेपछि पर्यटकहरुले व्यासबारे जान्ने, बुझ्ने मौका पाउनेछन् र स्वदेशमा फर्किएर अरुलाई यहाँको वस्तुस्थिति सुनाउँदा व्यासको प्रचारप्रसार पनि हुनेछ।’ 

पर्यटकहरुले पृथ्वी राजमार्गस्थित चाइना पुल तल वा व्यासको जन्मथलोबाटै पनि र्‍याफ्टिङ्ग गर्ने गर्दछन्। व्यास नगरपालिका–५ स्थित मादी नदीमा दैनिक ५० देखि १०० जनासम्म पर्यटक र्‍याफ्टिङका लागि आउने गर्दछन्। पोखरा घुमेर सौराहा जाने पर्यटकहरु यहाँबाट र्‍याफ्टिङको माध्यमबाट जाने गरेका छन्। सडकमार्गभन्दा जलविहारको माध्यमबाट रमाइलो मान्दै पर्यटकहरु चितवन निस्कन मन पराउने गरेको गाइड सनमा लामाले बताए। उनले भने, ‘उनीहरुको इच्छाअनुरुप पोल्याण्ड, न्युजिल्याण्ड, फ्रान्सका नागरिकहरु लिएर सौराहका लागि यो माध्यमबाट जान लागेका छौं।’

मादी नदीको र्‍याफ्टिङमा रमाउँदै केही पर्यटक एकरात बस्छन् भने केही एकैदिनमा चितवन पुग्ने गरेका छन्। व्यास–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले र्‍याफ्टिङ गर्ने ठाउँमा नदी अलिकति कटान भएकाले त्यसको व्यवस्थापन गर्ने तयारी रहेको बताए। यसको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाबाट यसै वर्ष १५ लाख रुपैयाँ बजेट छुट्याएको उनले बताए। उनले भने ‘पर्यटकलाई अझै बढी सुविधा दिएर यहाँ आकर्षित गर्ने तयारीमा छौं।’

जर्मनी, न्युजिल्यान्ड, कोरियालगायतका पर्यटकहरु र्‍याफ्टिङका लागि आउने गरेका छन्। र्‍याफ्टिङलाई अझै व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटक बढी भित्र्याउन सकिने पर्यटन विकास समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.