|

विराटनगर : प्रहरीले जुवाजन्य खेल शहरबजारमा कडाई गरेपछि पेशेबर जुवाडेहरू गाउँ केन्द्रित भएका छन्।

मोरङ प्रहरीले प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा जुवाजन्य गतिवधिमा निगरानी बढेपछि जुवाडेहरू पक्राउ पर्ने डरले गाउँ पसेका हुन्।

प्रहरीको पहुँचभन्दा टाढा मोरङको कानेपोखरी गाउँपालिका १ स्थित होक्लाबारीको गाउँमा जुवा खेल्दाखेल्दै प्रहरीले घरधनीसहित १० जना जुवाडेलाई केही दिन अगाडि पक्राउ गरेको थियो। मोरङ प्रहरीलाई पेशेवर जुवाडेहरू गाउँबस्तीमा डेरा जमाएर जुवा खेलेको विशेष सूचना आएपछि डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले १० जना जुवाडेलाई पक्राउ गरेको थियो। प्रहरीको गाडी लिएर जाँदा स्थानीयले थाहा पाएर जुवाडे उम्किने भएको कारण अर्कै कार्यालयको गाडी लिएर मोरङ प्रहरी त्यहाँ गएको थियो।

सादा पोशाकमा खटिएको प्रहरीले राति १ बजे जुवा खेलिरहेको घरलाई घेराबन्दी गरी जुवाखालबाट एक लाख ८५ हजार रुपैयाँसमेत बरामद गरेको थियो। प्रहरीले घरधनी कानेपोखरी गाउँपालिका १ का ४० वर्षीय मित्र रेग्मी, जुवा खेल्ने सोही ठाउँका ५१ वर्षीय उमाकान्त कार्की, ५२ वर्षीय तोर्ण कार्की, धनपालथान गाउँपालिका ४ का ४७ वर्षीय मोतीलाल राजवंशी, सोही ठाउँका ३१ वर्षीय ओमबहादुर कटुवाल, रंगेली नगरपालिका–२ का ४२ वर्षीय जनक कार्की, सोही ठाउँका ४३ वर्षीय राजुबहादुर थापा, ४९ वर्षीय राजेन्द्र शर्मा, ४२ वर्षीय विष्णु गुरुङ र ५२ वर्षीय डेफुराम खड्कालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने पेशेवर जुवाडेसमेत रहेको स्रोतको दाबी छ। त्यस ठाउँमा जुवा खेल्नेहरू रङ्गेलीबाट गएका थिए। पक्राउ परेका कतिपय जुवाडे यसअघि पनि पक्राउ परेका हुन्।

त्यस्तै प्रहरीले विराटनगर १६ गोपाल यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा इप्रका रानीबाट खटिएको टोलीले आइतबार विराटनगर १६ का सरेशप्रसाद मण्डल, राजकिशोर यादव, सोनु तत्मा, विष्णुकुमार अर्जेल, नविन महतो, रोहित दास र ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जुवाजन्य गतिविधि खेल्नेलाई धमाधम पक्राउ गर्न थालेपछि जुवाडे भागाभाग भएको बताए। मोरङ प्रहरीले एक साताको अवधिमा मोरङको विभिन्न स्थानमा जुवा खेल्ने दुई दर्जन बढी जुवाडेलाई पक्राउ गरेको बताएको छ। उनीहरूलाई पक्राउ गरी जुवा ऐनअन्तर्गत कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको छ।

के छ ऐनमा ?

नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरूमाथि कडा सजायको व्यवस्था गरेको छ। जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेले पनि जेल जानुपर्ने व्यवस्था उक्त संहितामा छ। मुलुकी अपराध संहिताअनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।  दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ।

जुवा खेल्नेमात्र नभई अरूले खेलेको ठाउँमा च्याखे थाप्नेहरूलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ। जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ।

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ। कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ। तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.