|

बागलुङ : गत भदौमा खसेको पहिरोले बडिगाड खोला थुनिएर बनेको तुरतुरे ताल जोगाउन गाउँपालिका तहमा छलफल सुरु भएको छ। आन्तरिक पर्यटकहरूको लर्को लाग्न थालेपछि ताल संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच छलफल भएको हो।

पहिरोले बडिगाड खोला थुनेपछि ताल बनेको थियो। 'ओभर फ्लो' भएको पानी नियमित बगेपछि सफा र आर्कषक तालको रुपमा देखिएको छ। सुरुमा डरलाग्दो देखिएको यो ताल दुइ महिनामै पर्यटकीय गन्तव्य जस्तो बन्न थालेको छ।

पहिरोले अवरुद्ध लोकमार्ग एक महिनापछि खुलाइयो। पूर्ण सुरक्षित नभएपनि एकतर्फी रूपमा यो सडक सञ्चालन भएको छ। थुनिएको खोला खुलाउन आएको सेनाको विज्ञ टोलीले बर्खामा नखोल्ने सुझाव दिएको थियो। ठूला ढुंगा आएर थुनिएकोले पानीको बहावले फुटाल्ने सम्भावना नदेखेर सेनाको टोली फर्केपछि स्थानीयले यो ताललाई पर्यटक आर्कषण गर्ने स्थलमा परिणत गरेका छन्।

हिउँदमा पानी कम भएको बेला फुटाल्ने निष्कर्ष निकालेको सेनाको टोलीलाई पनि ताल सुरक्षित राख्नेबारे आग्रह गर्ने निष्कर्षमा पुगेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले बताए। गाउँपालिकाको बैठक तथा अन्य सामाजिक संघसंस्थाको बैठकमा पनि ताल जोगाएर राख्ने छलफल शुरु भएको हो। ‘गाउँपालिका र स्थनीय बासिन्दाहरु ९९ प्रतिशतले ताल जोगाएर पर्यटक भित्राउने सुझाव दिएका छन्’ पाइजाले भने, ‘अहिले पनि दैनिक ५०० जना सम्मले अबलोकन गरिरहेका छन्।’ 

आएकाहरूको लगत राख्ने, व्यवस्थित बनाएर तालमा डुंगा शयरको व्यवस्था मिलाउने तयारी गरेको उनले बताए। मंसिर पहिलो साता यो ताल नजिकै न्वागी मेला लाग्दैछ। उक्त मेलाको आर्कषणकै रूपमा ताललाई लिइएको छ। गाउँपालिकाले तालमा डुंगा शयर गराउने योजना बनाएको उनले बताए। झण्डै ३० देखि ४० मिटर गहिरो र झण्डै डेढ किमी लामो यो ताल हेर्नेको दैनिक भीड लाग्न थालेको छ। तालको नजिकै लोकमार्ग छ।

दैनिक सयौँ मानिसले यात्रा गर्ने भएकोले तालको छेउमा रेष्टुरेन्ट सञ्चालन गर्न सकिने, डुंगा सयरबाट कमाइ बढाउन सकिने स्थानीयले बताए। ‘तालको आर्कषण देख्दा जोगाउनै पर्ने जस्तो लागेको छ’, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णुप्रसाद भुसालले भने, ‘जोखिम नहुनेगरी व्यवस्थापन गरियो भने गतिलो कमाइको स्रोत पनि हुनेछ।’ चट्टानले थुनिएकोले सजह रूपमा फुटेर पानी बग्ने सम्भावना नभएको उनले बताए।

जिल्ला प्रहरी प्रमुख दिपक रेग्मीले भने तालमा नियमित प्रहरी राखेर सुरक्षा दिने काम तत्काल सम्भव नहुने बताए। ताल व्यवस्थित गर्नकालागि फेवातालको जस्तै साइरन जडान गर्ने व्यवस्था भएमा सुरक्षा सर्तकता गर्न सकिने उनको भनाइ छ। ताल जोगाउन खोज्दा भविष्यमा हुने अन्य खतराबारे सचेत हुनुपर्ने उनले टिप्पणी गरे। स्थानीय कुमाल समुदायको घर डुबाएकाले उनीहरुको बासस्थान बनाएर मात्र तालको बारे सोच्न उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.