|

बाँके : तिहारको अवसरमा नेपालगंजको पुरानो बजार त्रिभुवनचोक झकिझकाउ पारिएको छ। हरेक वर्ष झैँ यस वर्षको तिहारका अवसरमा व्यापारीले त्रिभुवन चोकदेखि उत्तरतर्फ त्रिवेणी मोडसम्म र दक्षिणतर्फ नारायण माविसम्मको सडकको बीच भागमा दीपावलीको सामान बिक्रीका लागि राखेका छन्। व्यापारीले सडकको बीच भागमा व्यापारिक प्रयोजनका लागि प्रयोग गरेपछि सर्वसाधारणलाई आउजाउ गर्नसमेत कठिनाई भएको छ। 

भाइटीका र भुर्की पूजनका लागि आवश्यक पर्ने सामग्री पनि व्यापारीले सडकमा राखेर बिक्री गरिरहेका छन् भने सडक पेटी च्यापेर व्यापारीले मिठाइ बिक्रीका लागि सजाएर राखेका छन्। तै पनि यस विषयमा न त जिल्ला प्रहरी कार्यालय हस्तक्षेप गरेको छ न त नेपालगन्ज उपमहानगरपालिकाको आँखा पुग्न सकेको छ। ‘सडकको बीच भागमा राखेर सामान बिक्री गर्ने यो पहिलोपटक होइन,’ सदरलाइनको बीच सडकमा तिहारको सामान बिक्रीका लागि राखेका नेपालगंजका आदेश गुप्ताले भने। 

उनका अनुसार सदरलाइनमा झण्डै २०० व्यापारीले तिहारका लागि सामान बिक्रीका लागि राखेका छन्। त्रिभुवनचोक, धम्बोझी चोक, सदरलाइनमा व्यापारीले मिठाइ सजाएर राखेका छन्। रङ मिसाएर बनाइएका मिठाइ अघिपछि भन्दा तिहारका बेला महँगो हुने गरेको छ। ‘अघिपछि भन्दा किलोमा झण्डै १०० रुपैयाँ मूल्य बढेको छ,’ नेपालगंज १ की विमला ढकालले भनिन्। 

नेपालगन्जमा पहिलोपटक यस वर्ष सयपत्री फूल र माला बिक्रीका लागि राखिएको छ। व्यापारीले भारतबाट फूल ल्याएर बिक्री गरिरहेका छन्। एउटा मालाको ५० देखि ९० रुपैयाँसम्म बिक्री गरिरहेको बाल्मिकि रैदासले जानकारी दिए। उनले बिक्रीका लागि राखिएका अधिकांश फूल भारतीय भएको बताए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.