|

सोलुखुम्बु : जुभिङका ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने आरोही बन्न सफल भएका छन्। उनले सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राखेका थिए। 

तर, सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेको भनी दावी गरेका थिए। पेम्बाले ८ घण्टा १० मिनेटमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको दावी गरेका थिए। सोही दावी अनुसार पर्यटन विभागले उनलाई ‘स्पीड आरोही’को प्रमाणपत्र समेत प्रदान गरेको थियो। प्रमाणपत्र पाएपछि पेम्बाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत दर्ता गराएका थिए।

पेम्बाले झुठो प्रमणपात्र पेश गरी विश्व कीर्तिमानी कायम गरेको दावी गरेपछि जुभिङका लाक्पा गेलुसहितको आरोही समूहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। विभागका कर्मचारीलाई विपक्षी बनाई दायर गरिएको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७४ मंसिर १२ गते पेम्बा दोर्जी शेर्पाको प्रमाणपत्र खारेज गर्न आदेश दिएको थियो।

आरोहणपछि पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्ने प्रतिवेदनमा सोही अनुसूचीको खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्त्वपूर्ण ठाउँको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको सगरामाथा आधार शिविरको फोटोसहितको प्रतिवेदन बुझाउनुपर्छ। तर दोलखाका पेम्बाको आरोहणमा पर्वतारोहणसम्बन्धी नियमावलीसँग मेल नखाएको भन्दै कीर्तिमान झुठो ठहर गरी सर्वोच्चले खारेज गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र समशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले छ महिनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै कीर्तिमान खारेज गरिएको फैसला सुनाएको थियो। सर्वोच्चको आदेशपछि पर्यटन विभागले १४ वर्षअघि बिनाआधार पेम्बालाई सगरमाथाको स्पीड आरोहण गरेको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गर्दै गत असोज १७ मा प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ। बिनाआधार दिइएको प्रमाणपत्र विभागले रद्द गर्दै स्पीड आरोही ल्हाक्पागेलु शेर्पालाई नै भएको पुनः प्रमाणपत्र दिइएको छ।

पर्यटन विभागले कात्तिक १५ मा सोलुखुम्बु जुभिङका ल्हाक्पा गेलु शेर्पा नै स्पीड आरोही भएको भनी जानकारी पत्र पठाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको असोज १७ को निर्णयले पेम्बाको विश्व कीर्तिमान खारेज गर्दे लाक्पागेलुकै कीर्तिमानीलाई सदर गरेको भए पनि विभागले एक महिना ढिलो मात्र जानकारी दिएको छ।

झटो विवरण पेश गरी विश्व कीर्तिमानी कायम गर्ने आरोहीहरु अत्याधिक रहेको आरोही दलको दावी छ। सगरमाथा आरोही कितबसिं तामाङले छुटो विवरण पेश गर्ने आरोहीहरु भए पनि नियमनकारी निकायको दरिलो उपस्थिति नहुँदा समस्या भएको बताए। यसअघि सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोड र उनकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर देखाएर सगरमाथा आरोहणको दाबी गर्दै पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.