|

सोलुखुम्बु : यस क्षेत्रमा लगाइएको किबीले उत्पादन दिन थालेपछि किसानलाई भने बजारको चिन्ताले सताउन थालेको छ। केही वर्षदेखि उत्पादन सुरु भए पनि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता भएको मुक्लिका किबी किसान जगतबहादुर राईले बताए।

‘अघिल्लो वर्षदेखि नै किबी फल्न थाल्यो तर अहिलेसम्म कहाँ लगेर बेच्ने भन्ने थाहा छैन,” राईले भने, “सञ्चार माध्यमहरुमा किबीको बजार राम्रो भएको सुने÷देखे पनि बिक्री गर्न कहाँ र कसरी लैजाने भन्ने थाहा छैन।’

यस क्षेत्रका किसानले कृषि कार्यालय तथा विभिन्न संघ संस्थाले दिएको अनुदानबाट किबी खेती गरेका हुन्। तर, बजारीकरणसम्बन्धी ज्ञान नहुँदा विचौलियाको मारमा पर्ने किसानहरुको चिन्ता छ। 

थुलुङ दूधकोसी गाउँपालिका–२ काँगेलका किसान जगतबहादुर कार्कीले बजार नहुँदा किबीबाट खासै आम्दानी लिन नसकिएको बताए। ‘बेच्न लैजाँदा प्रतिकेजी कसरी बेच्ने, यसको मुख्य बजार कहाँ हो भन्ने नै थाहा छैन,’ कार्कीले भने, ‘पाँच रोपनी जग्गामा खेती गरेको छु, राम्रै फल दिएको भए पनि बजारसम्म पु¥याउन सकिएको छैन।’

किबी भिलेज घोषणाको तयारी

थुलुङ दूधकोसी गाउँपालिकाले किबी भिलेज घोषणा गर्ने तयारी गरिरहेको बताएको छ। यस्तै, गाउँपालिकाले किबी प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा रहेको जनाएको छ।

गाउँपालिकाका प्रमुख असीम राईले आगामी फागुनबाट एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु हुने दावी गरे। उक्त योजनाका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ समेत विनियोजन गरेको अध्यक्ष राईले बताए।

‘प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै जिल्लामा उत्पादन भएको किबीको बजारीकरणमा कुनै समस्या हुँदैन,’ अध्यक्ष राईले भने, ‘देशभरिको किबी हाम्रो गाउँपालिकामा आउँछ यो एउटा समृद्ध गाउँपालिका निर्माणको खुड्किलो पनि हो।’

उपयुक्त हावापानी

किबी खेतीका लागि सोलुखुम्बुको अधिकांश उपयुक्त रहेको किबी विशेषज्ञ तथा बागबानी केन्द्र फाप्लुका प्रमुख चन्द्रमाण श्रेष्ठको बताए। किबी खेतीका लागि समुद्र सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्मको हावापानी उपयुक्त हुने श्रेष्ठको भनाइ छ।

उचित सिँचाइ र स्याहार पुगे समुद्री सतहबाट ८०० देखि दुई हजार ९०० मिटरसम्म यसको खेती गर्न सकिने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.