ढकारी गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्लामा अवस्थित पहाडी गाउँपालिका हो। साविक ढकारी, हिच्मा, वलाता र ढुंगाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
यस गाउँपालिकाको ऐतिहासिक रूपले डोटी राज्यसँग सामीप्य रहेको छ। हाल बजार रहेको यो ढकारी क्षेत्र धेरै समय पहिला ढाक्रेहरूको थकाइ मेट्ने स्थानको रूपमा प्रयोग हुँदै आएको र यसबाट नै साविकको गाविसको नाम ढकारी रहेको तथा स्थानीय तहको पुनर्संरचना हुँदा सोही नाम त्यस क्षेत्रका लागि प्रसिद्ध रहेको हुँदा ढकारी गाउँपालिका नामकरण गरिएको हो।
यस क्षेत्रमा रहेका राष्ट्रिय वन तथा तामाखानी सामुदायिक वन, मधुवन सामुदायिक वन, विन्द्रासैनी सामुदायिक वन, त्रिपुरासुन्दरीजस्ता सामुदायिक वनहरू पनि यस क्षेत्रका प्राकृतिक सम्पदाहरू हुन्। डोटेली सांस्कृतिक प्रभाव रहेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु संस्कृतिको अनुपम संगम रहेको छ। सामाजिक रीतिरिवाज र चाड पर्वमा बडादशैँ, तिहार, चैते दशैँ, कृष्ण अष्टमी, साउने संक्रान्ति, होली पर्व, माघे संक्रान्ति आदि रहेका छन्।
मिश्रित बसोबास रहेको यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, दलित र अादिवासी जनजातिको बसोबास भए पनि क्षेत्री जातिको बाहुल्य छ। गाउँपालिका क्षेत्रभित्र धार्मिक महत्त्व बोकेका जालपादेवी मन्दिर, मष्टा मन्दिर, शिव मन्दिर सूर्यकाँडा माई, वण्डाली माईको मन्दिर, नवदुर्गा मन्दिर र तितौडा मन्दिरजस्ता स्थल तथा मन्दिरहरू रहेका छन्। सोही गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढासँग थाहाखबरकर्मी रमेश रावतले गरेको कुराकानी प्रस्तुत छ।
तपाईं २०५४ को स्थानीय चुनावमा पनि गाविस अध्यक्ष अहिले पनि गाउँपालिका अध्यक्ष। पहिलेको स्थानीय निकाय सञ्चालन गर्न र अहिलेको स्थानीय तह सञ्चालन गर्न के फरक पाउनुभयो?
पहिले र अहिलेको समय नै निकै फरक भइसक्यो। पहिले र अहिलेको तुलना गर्नुहुन्छ भने सामान्यतया मान्छेका आवश्यकताहरू नै फेरिइसके। पहिले यति पढलेख थिएनन्। उनीहरूका माग पनि त्यहीअनुरूपका आउँथे। अहिले समयले कोल्टे नै फेरिसक्यो भनौँ। युग नै बदलिएको छ। मान्छेका आवश्यकताहरू आधुनिकतातिर मोडिएका छन्। हामी त्यहीअनुसार परिवर्तन भएर सेवा प्रवाह गर्नुपर्ने चुनौती छ।
भौगोलिक हिसाबले पनि ठूलो क्षेत्र भएको छ। ठूलो जनसंख्यालाई सम्बोधन गर्नुपर्छ। पहिलको भन्दा चुनौतीपूर्ण समय छ। काम राम्रो गर्न सक्यो भने राजनीति गर्नेहरूलाई राम्रो अवसरको समय पनि हो यो। कानुन पनि नयाँ आयो। सबै अधिकार स्थानीय तहलाई आएको छ, जो पहिलेको गाविसलाई थिएन।
निर्वाचित भएदेखि अहिलेसम्म मुख्यमुख्य कामहरू केके गर्नुभयो, जसलाई सम्झिएर जनताले गर्व गरून्?
तपार्इं बुझ्नुहोला, म कहिल्यै पनि आफ्नो व्यक्तिगत फाइदाका लागि काम गर्दिनँ। मैले गर्ने भनेको जनताको हितको काम हो। प्राविधिक कमजोरी वा हाम्रो क्षमताभन्दा बाहिरका सबै काम जति हामीले गर्यौँ, ती सबै काममा जनताले गर्व गर्दा हुन्छ।
यो काम गर्दा यहाँ राम्रो भो भनेर भन्न मिल्ने केही उदाहरणहरू छन्?
हामी निर्वाचित भएपछिको पहिलो बैठकमै हामीले निजी स्रोतका शिक्षकहरूलाई गाउँपालिकाबाटै तलब भत्ता दिने निर्णय गर्यौँ। त्यसबाट के फाइदा भयो भन्दा अन्य स्थानीय तहहरूमा निजी शिक्षकहरूले आन्दोलन नै गर्नुपर्ने जो अवस्था अउँथ्यो, त्यो आउन दिएनौँ। विद्यालयको पठनपाठन अझै प्रभावकारी भएको छ। विद्यालयमा स्रोत आएपछि मात्र तलब पाउने शिक्षकहरू अहिले अन्य शिक्षकहरूजस्तै धमाधम तलब पाइरहेका छन्। कमलबजार नगरपालिकादेखि हाम्रो केन्द्रसम्म १२ मिटर चौडा सडक बनाउँदै छौँ। खानेपानीको समस्या चरम थियो, त्यसको व्यवस्थापन हुँदै छ र स्वास्थ्यमा पनि गुणस्तरमा फरक पार्ने गरी काम गरेका छौँ।
चुनावका बेला गरेका प्रतिबद्धता कार्यान्वयन कति हुन सके, कति बाँकी छन्?
हामीले घोषणापत्रमा केही अल्पकालीन र केही दीर्घकालीन योजनाहरू समावेश गरेका थियौँ, जसमध्ये केही काम गरिसकेका छौँ, केही हुँदै पनि छन् र केही गर्ने योजना बनाएका छौँ। नागरिकहरू कामको प्रतिफल चाँडो चाहन्छन् तर हामीले काम गर्दा निश्चित स्रोतमा रहेर गर्नुपर्ने बाध्यता भएकाले पनि नागरिकको अपेक्षाअनुसार गर्न नसके पनि कामहरू तीब्र गतिमा जनताको पक्षमा गर्दै छौँ।
यहाँका लागि प्रमुख कृषि पेसा हो। त्यसैले हामीले गाउँपालिकाको सबै क्षेत्रको माटो परीक्षण गरिसक्यौँ र अब जुन माटोमा जस्तो प्रकारको कृषि कर्म गर्न सकिने हो, त्यहीअनुरूपको योजना बनाउँदै छौँ। कृषि पकेट क्षेत्रको रूपमा विकास गर्दै छौँ। खानेपानीको कुरा पनि छ। मेलपोखरा ढकारी खानेपानी बृहत् खानेपानी आयोजना निर्माण गर्दै छौँ।
कतिपय स्थानीय तहका प्रमुखहरूले कानुन र कर्मचारीको कारणले काम गर्न सकेनौँ भनेका छन्। तपाईं के भन्नुहुन्छ?
होइन, त्यस्तो मलाई केही लाग्दैन। कानुनले स्थानीय तहमा पूर्ण अधिकार दिएको छ। त्यसको उपयोग गरी काम गर्न सक्ने हो भने धेरै काम गर्न सकिन्छ र कर्मचारीको कुरा गर्नुहुन्छ भने हाम्रो गाउँपालिकाका कर्मचारीहरू अहोरात्र काममा खटिइरहनुभएको छ। उहाँहरूप्रति कुनै गुनासो छैन।
तपाईं कांग्रेसबाट निर्वाचित हुनुहुन्छ। यस पालिकामा नेकपा प्रतिपक्षी हो। प्रतिपक्षीको भूमिका कस्तो पाउनुभएको छ?
हामीले जनताको काम गर्ने हो। जनताको हितमा हुने काम हाम्रा काम हुन् र प्रतिपक्षी दलका साथीहरूका काम पनि तिनै जनताका काम हुन्। त्यसैले जनताको काम गर्नेहरूलाई सबैले ठीकै ठान्छन् जस्तो लाग्छ।
तपाईंमाथि आर्थिक अनियमितताको मुद्दा परेर अख्तियार पनि आयो होइन र?
हो, अख्तियार आयो। एक तप्काले निराधार कुरामा अनियमितता गरेको भन्दै झ्याली नै पिट्यो र मुद्दा हाल्यो। अख्तियार आयो, हाम्रो सबै कुरा हेर्यो। हाम्रा कामकाज र गतिविधिमा आर्थिक अनियमितता नभएको देखियो।
केही व्यक्तिहरूले जनप्रतिनिधिहरूलाई आफ्नो बसमा राख्न खोजेका हुन्। त्यो हुन नसक्दा बेतुकको कुरामा हल्ला फिँजाएर यस्तो हुन पुग्यो। निर्माणाधीन भौतिक संरचनाका फोटो मिडियामा राखेर यो गाउँपालिकाको दुष्प्रचार गर्न खोजियो। तर त्यसो हुन सकेन। हामी सजग छौँ। कुनै आर्थिक अनियमितता हुन दिन्नौँ र गर्दैनौँ।
दशैँ अगाडि नै ढकारी गाउँपालिकामा बस पुर्याउँछौँ भन्नुभएको थियो। तिहार गइसक्दा पनि बस पुगेन, किन?
हरेक कुरामा एउटा योजना हुन्छ। हामीले पनि दशैँ अगाडि नै बस पुर्याउने योजना बनाएर काम गरेका हौँ। कतिपय प्राविधिक अप्ठ्यारहरूका कारण हामीले भनेकै समयमा बस पुर्याउन सकेनौँ। सडकमा तीनवटा डोजर प्रयोग गरेका छौँ। दशैँका बेला अपरेटरहरू घर बिदामा हुँदा केही ढिलो भयो। प्रायः ठाउँमा चट्टान लागेर कामको गति घटेको छ। केही दिनमा बस पुग्छ। ढुक्क हुन जनतालाई आग्रह गर्छु।
तपाईंको कार्यकालमा ढकारीमा केके काम भएको देख्न पाउँछन् नागरिकले?
ढकारी कृषिमा आत्मनिर्भर भएको हुनेछ। ढकारी हुँदै कर्णाली भएर कैलाली जाने सडक बनाउने पहल हुनेछ। यस क्षेत्रमा मौरी पालनको सम्भावना राम्रो देखिन्छ र त्यसको सम्भाव्यता अध्ययन गरिनेछ। व्यवसायिक मौरीपालनका लागि पहल गरिनेछ। सबै ठाउँमा सडक पुर्याउने प्रयास हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।