|

काठमाडौं : उमेर ३० वर्ष, जागिर गरेको १० वर्षअनि व्यवसाय गरेको पाँच वर्ष। १५ वर्षको उमेरबाट कमाउने काममा लागेका वसन्त लामा अहिले व्यावसायिक उचाइ बढाउने दौडमा छन्। जहाँ हात हाल्यो, त्यहीँ फलिफाप त भएका कारण अर्को व्यवसायमा पनि हात हाल्ने योजना बुनिसकेका छन् उनले।

२०६१ सालमा रेस्टुरेन्टमा काम सुरु गरेका उनी अबको तीन वर्षमा कम्तीमा दुईवटा रिसोर्ट र ३० वटा रेस्टुरेन्टमा आफ्नो लगानी विस्तार गर्ने योजनामा छन्। १० वर्ष जागिर गर्दा कति कमाए, उनलाई थाहा छैन तर सिप भने सिके। अहिले भने त्यही सीपको प्रयोगले धन कमाइरहेका छन् उनी। लामा पढेर भन्दा परेर धेरै सिकेको र त्यसको भरपुर उपयोग गरेको बताउँछन्।

जागिर देश विदेशमा गरे, काम गर्ने क्षेत्र भने रेस्टुरेन्टमा कुकम्यानदेखि निर्माण व्यवसायीसमेत बने। करिब १० वर्ष निजी क्षेत्रमा काम गरेको अनुभव बटुलेका लामाले अहिले आफूलाई सफल व्यवसायीको रूपमा चिनाएका छन्।

नेपालमा 'द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन' ब्राण्ड स्थापना गरेका छन् उनले। धरानमा एकसहित काठमाडौं उपत्यकामा १२ वटा शाखा विस्तार गरेका उनी चारवटा शाखा अबको एक-दुई महिनाको अवधिमा विस्तार गर्ने योजनामा छन्। यो क्षेत्रमा उनीसहित चार जना युवाहरूको संयुक्त लगानी रहेको छ। वसन्त लामा, शान्ति लामा, मनोज रुम्बा र दीपक लामाको संयुक्त लगानीमा २०७१ सालबाट रेस्टुरेन्ट क्षेत्रमा हात हालेका हुन्।

सुरुवातमा पाटनमा 'द बिबी क्यु स्टेशन' संचालन गरेका थिए भने २०७२ चैत २० गतेबाट काठमाडौंको शंखमूलबाट 'द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन' सुरू गरेका हुन्। त्यसको करिब आठ महिनापछि अर्को शाखा विस्तार गरेको लामाको समूहले त्यसपछि भने औसत प्रति वर्ष चारवटाका दरले शाखा विस्तार गरेको छ।

व्यवसायमा प्रवेश

लामा २०५८ सालमा दोलखाबाट काठमाडौँ आएका थिए। त्यतिबेला उनी १३ वर्षका थिए भने ८ कक्षामा पढ्थे। उनी काठमाडौंबाट एसएलसी दिएर २०६१ सालबाट कमाउने ध्याउन्नमा लागे।

उनी निजी क्षेत्रको जागरिमा प्रवेश गरेको वर्ष २०६१ साल थियो। आठ वर्ष रेष्टुरेन्ट क्षेत्रमा काम गर्दा मासिक कमाई औसत २५ हजार बनाएका थिए। लाग्यो- अब विदेश गए धेरै पैसा कमाउँछु। २०६८ सालको अन्त्यतिर उनी कामको खोजीमा दुबई पुगे।

विदेश त गए तर गएको केही समयमा नै आफैँ अक्क न बक्क परे। उनले दुबईमा छँदा मासिक ४० हजार रुपैयाँ कमाउँथे तर त्यो कमाइबाट उनी सन्तुष्ट भएनन्। नौ महिना विदेशमा काम गरेपछि फर्किए आफ्नै देश। लाग्यो- नेपालमा यही काम गर्दा नेपालीलाई सेवा गर्छु, लगानी खोजेर सानोतिनो व्यवसाय संचालन गरेर आफूलाई सन्तुष्टि मिल्ने गरी धन पनि कमाउँछु।

नेपाल आएको करिब डेढ वर्ष कन्स्ट्रक्सन कम्पनीमा काम गरेका उनी पुन: आफूले जानेको पेसामा प्रवेश गरे। अब भने आफू कामदारको रूपमा नभएर आफू जस्तै दर्जनौँ युवायुवतीलाई जागिर दिनेगरी प्रवेश गरे।

त्यसका लागि चार जनाको समूह मिल्यो। करिब ३० लाख रुपैयाँ वित्तीय संस्थाबाट ऋण र ५० लाख रुपैयाँ आफूहरूसँग भएको रकम गरी ८० लाख रुपैयाँ लगानी गरेर आक्रामक रूपमा व्यवसायमा प्रवेश गरे। त्यसैको फल दिन दुईगुना रात चारगुना मिलिरहेको छ।

'मिहिनेत छ र त जमिरहेको छ'

बिहान १० बजेदेखि बेलुका १० बजेसम्म उनको पसल करिब खुला हुन्छ। उनको उपस्थिति भने बिहान ८ देखि बेलुका करिब १०:३० बजेसम्म। उनको रेस्टुरेन्टमा प्राय: युवा युवतीको उपस्थिति हुन्छ।

'मैले पकाउने परिकार नै त्यस्तै छन्। त्यसकारण पनि युवा युवतीको उपस्थिति बाक्लो रहन्छ', व्यवसायी लामाले भने। उनको रेष्टुरेन्टमा रुचाइएका नेपाली, हिन्दी तथा अंग्रेजी गीतहरू सानो स्वरमा बजिरहेका हुन्छन्।

बिहानदेखि बेलुकासम्म थुप्रै टिमले उनकै रेष्टुरेन्टमा 'गेट टुगेदर' मनाउँछन्। बर्थ डे मनाउने तथा पार्टी गर्नेहरूको उपस्थिति पनि उस्तै रहन्छ। उनको सबैभन्दा बढी चलेको शाखा शंखमूल शाखा हो। यो शाखामा दिनमा करिब ६०० जनाले खाना तथा नास्ता लिन्छन् भने औसत १२ वटा शाखामा गरी दिनको तीन हजार ६०० जनाले द वर्गर हाउसका परिकार खाने गरेको लामाले बताए। अहिले उनले एउटा शाखाबाट मासिक २० लाख रुपैयाँ बराबरको कारोबार गर्ने बताउँछन्।

अहिले उनको १० करोड रुपैयाँ लगानी विस्तार भइसकेको छ भने ४०० जनाले रोजगारी पाएका छन्। अबको दुई वर्षमा भने करिब करिब एक हजार जनालाई रोजगारी दिने लक्ष्य लिएका छन्। सातैवटा प्रदेश र सबै मुख्य शहरमा गरी ३० वटा शाखा विस्तार गर्ने अभियानमा उनी छन्।

दुई वर्षपछि भने सुरुवातमा दुईवटा रिसोर्ट खोलेर संचालन गर्ने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.