मंसिर पहिलो साताभित्र रणनीति तय गर्दै

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई छठपछिको समय दिएको थियो। संविधान संशोधनका लागि सरकारलाई समर्थन गरेको राजपाले छठपछि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विकल्पको खोजी गर्नेसम्मको चेतावनी दिएको थियो। तर छठ सकिएको दुई दिन बित्दासम्म राजपाको मागको अत्तोपत्तो छैन।

राजपा अध्यक्ष मण्डलका नेताहरू पनि काठमाडौं बाहिर रहेका कारण अहिले संविधान संशोधनका बारेमा चर्चासम्म भएको पाइँदैन। राजपा अध्यक्ष मण्डलका नेताहरू पनि अब संविधान संशोधन हुनेमा शांका गर्न थालेका छन्। ‘दुई तिहाईको सरकार, जुन ढंगले चल्नुपर्ने हो त्यो 'स्पिड'बाट चलेको छैन’, अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी भन्छन्, ‘सरकार नै गतिविधिहीन छ। हामीले संविधान संशोधनको के आशा राख्ने।’

छठ सकिएसँगै राजपा नेताहरू भने अहिले छटपटीमा छन्। जनतालाई अब के जवाफ दिने भन्ने छटपटीले नेताहरू सताएको राजपाका दोस्रो तहका एक नेताले बताए। ‘हाम्रा अध्यक्ष मण्डलका नेताहरूले सरकारले संविधान संशोधन छठपछि गर्छौँ भनेको छ भनेर प्रचार गर्नुभयो’, उनले भने, ‘तर सरकारले औपचारिक धारणा कहीँ सार्वजनिक गरेको थिएन। अहिले हाम्रा नेताहरू छठपछि झन छटपटीमा हुनुहुन्छ।’ 

पछिल्लो समय राजपाभित्र पनि विवाद छ। राजपाको विधान संशोधनका लागि बनेको मस्यौदा समितिले दिएको विधानविपरीत अध्यक्ष मण्डलले महाधिवेशनपछि पनि अध्यक्ष मण्डल नै रहने विधान निर्वाचन आयोगलाई बुझाएपछि पार्टीभित्र विवाद देखिएको हो।

दोस्रो तहका नेताहरूले अध्यक्ष मण्डलका नेताले आफूहरूको राजनीतिक 'करिअर' नै ध्वस्त पार्न लागेको आरोप लगाउँदै आएका छन्। यस्तै, अध्यक्ष मण्डलका केही नेताले कार्यकर्तालाई बाँडेको विधान र निर्वाचन आयोगमा बुझाएको विधानबीच फरक देखिएपछि राजपामा विवाद चुलिँदो छ।

यो विवादका कारण सरकारले संविधान संशोधन नगरे पनि राजपा आन्दोलनमा जान सक्ने अवस्थामा नरहेको राजपाका असन्तुष्ट नेताहरू बताउँछन्। अध्यक्ष मण्डलले पनि सरकारले संविधान संशोधन नगरे पनि आन्दोलनबाट पछि हट्ने जस्तो संकेत देखाएको छ। ‘हामी अहिले सबै नेताहरू काठमाडौं बाहिर छौँ। अब मंसिर पहिलो साता अध्यक्ष मण्डलको बैठक बस्ने कुरा भएको छ’, अध्यक्ष मण्डलका सदस्य भण्डारीले भने, ‘त्यो बैठकबाट अहिलेको समग्र राजनीतिक परिस्थितिको विश्लेषण गरेर हामी आगामी रणनीति तय गर्छौं।’ तर संविधान संशोधनचाहिँ जसरी गराइछाड्ने नेता भण्डारीले बताए।

‘हामीले संविधान संशोधनकै लागि चुनावमा भाग लिएका हौँ।  जनताबाट पनि त्यही भनेर भोट माग्यौँ’, उनले भने, ‘हाम्रो लक्ष्य संविधान संशोधनको मात्र हुनेछ।’ 
संविधान संशोधनलगायत विषयमा अरू नेता भने बोल्नै छाडेका छन्। अधयक्ष मण्डलका सदस्य अनिल झाले यो विषयमा कुरा गर्नै चाहेनन्। ‘हामीले सरकारलाई दिएको समय सीमा सम्झाइदिनुभयो त्यसका लागि धन्यवाद’, झाले भने, ‘अध्यक्ष मण्डलको बैठकअघि यो विषयमा म केही बोल्दिनँ।’ 

सरकारले आफूहरूको माग पूरा नगरे कसरीअघि बढ्ने भन्ने विषयमा आफूहरूले बैठकबाट केही विकल्प निकाल्ने अध्यक्ष मण्डलका अर्का सदस्य रााजकिशोर यादव बताउँछन्। ‘हामी अहिले बैशाखमा हुने पार्टीको महाधिवेशनका लागि तयारीमा सबै नेताहरू सदस्य वितरणमा जिल्लातिर हुनुहुन्छ’, उनले भने,‘अब काठमाडौं आएपछि के गर्ने भन्ने विषयमा छलफल गर्छौँ। संविधान संशोधन नभए आन्दोलन त पक्कै हुन्छ तर कस्तो आन्दोलन गर्ने भन्ने मात्र हो।’

छठ सकिएको दश दिनसम्म सरकारलाई फर्कने गरी पार्टीभित्र छलफल भइरहेको पार्टी महासचिव तथा प्रवक्ता केशव झा बताउँछन्। त्यसपछि आफूहरूले बाध्य भएर संघर्षको बाटो रोज्नुपर्ने उनी बताउँछन्। ‘छठपछि दोस्रो दिन गइसक्यो। सरकारले संशोधन छनक देखाएको छैन’, उनले भने, ‘दश दिन पर्खने कुरा भएको छ। त्यसपछि पनि भएन भने समर्थन फिर्ता लिएर संघर्षमा जान्छौँ। हामीलाई जनताको व्यापक दबाब छ। सरकारको रवैया हेर्दा अहिले पनि संविधान संशोधन होला जस्तो लागेको छैन।’

राजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई संविधान संशोधन, जेलमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचत रेशम चौधरीको रिहाई, मधेश आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा तथा घाइतेको उपचार माग गर्दै समर्थन गरेको थियो। सुरुका दिनमा सरकार पनि सकारात्मक रहेको भए पनि पछिल्ला दिनमा आफूहरूका मागप्रति उदासीन बनेको राजपा नेताहरूको आरोप छ। 

सरकारले राजपालाई प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमण, नेपालमा भएको बिम्स्टेक सम्मेलन त कहिले दशैँ, तिहार र छठ भन्दै बहाना गरेको राजपा महासचिव झाको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.