|

विराटनगर : मोरङको रंगेली नगरपालिकामा रहेको आन्नद इँट्टा उद्योगमा अवैध गाँजाको कारोबार हुने गरेको पाइएको छ। उद्योगभित्र काम गर्ने कामदारले अबैध रुपमा गाँजा भित्र्याएर बिक्री गर्दै गर्दा प्रहरीले एक भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलसा भएको हो। 

आनन्द इँट्टा उद्योगको इँट्टा भट्टामा काम गर्ने भारतको बंगाल कुसबिहार बस्ने ३० वर्षीय हेमन्त बर्मनले उद्योग परिसरभित्र गाँजाको कारोबार गर्नेे गरेको अनुसन्धानबाट खुलेको हो। उद्योगभित्रको क्यान्टिनसमेत चलाउने गरेका उनले बाहिरबाट गोप्य रुपमा गाँजा माग गर्ने र भित्र काम गर्ने कामदारलाई बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

गाँजाको कारोबार गर्ने हेमन्तले उद्योगभित्र रहेको क्यानटिनमा गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए। करिब एकहजार मजदुर कार्यरत रहेको उद्योगका धेरै पुरुष कामदारहरूले गाँजा लिने गरेको बताइएको छ। इँट्टा उद्योगभित्र गाँजाको कारोबार गर्ने गरेको इलाका प्रहरी कार्यालय रंगेलीलाई गोप्य सूचना आएपछि छापा मार्दा प्रहरीले बिक्री गर्ने रातो झोलामा प्याक गरी लुकाई राखेको गाँजा साढे दुई केजी बरामद गरेको थियो।

प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार हेमन्तले नेपाल र भारतका विभिन्न स्थानबाट गाँजा मगाएर कारोबार गरेको खुलेको छ। दीलिप बगडियाले सञ्चालन गरेको सो उद्योगमा यसअघि श्रम कार्यालय विराटनगरले अनुगमन गर्दा श्रम ऐन पालना नगरेको भेटिएको थियो। उद्योगले मजदुरको श्रम शोषण गरेको पाइएपछि श्रम कार्यालयले ऐन लागू गर्न निर्देशन दिएको छ। यसैबीच वडा प्रहरी कार्यालय (ख) विराटनगर हाटखोलाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ।

मोरङ कटहरी गाउँपालिका २ स्थित रेल्वे बाटोमा दक्षिणबाट उतरतर्फ आउँदै गरेका कटहरी ४ वस्ने २९ वर्षीय  मो. मताज मियाँ र २० वर्षीय अनिलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई नाईट्रोसन ९० ट्याब्लेटसहित पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.