वडाध्यक्षसहित १३ जनालाई उपस्थित गराउन काटियो पत्र

|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १० का वडाअध्यक्षको सिफारिसमा भारतीयलाई दिएको नागरिताको विषयमा छानविन सुरु भएको छ। भारतमा विवाह भएकी महिलालाई अविवाहित भनी नेपाली नागरिकता दिलाएको समाचार थाहाखबरमा सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले छानबिन सुरु गरेको हो।

१० का वडाअध्यक्ष प्रकाश खड्काको सिफारिसमा भारत मधवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँसँग विवाह गरेकी त्रियुगा नगरपालिका १० की लजिना खातुनलाई नागरिकता दिएको रहस्य बाहिरिएको थियो। समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बिहीबार नै त्रियुगा नगरपालिका १० कार्यालयलाई पत्र लेखेर वडा सर्जमिन र सनाखतमा बस्नेहरूलाई प्रशासन कार्यालयमा उपस्थित गराउन आदेश दिएको जानकारी दिए। ‘कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाद्वारा हस्तक्षरित पत्रमा नागरिकतासम्बन्धी कुरा बुझ्नुपर्ने भएकाले प्रशासनमा उपस्थित गराइदिन प्रशासनले वडालाई आदेश दिएको छ,’ उनले भने, ‘प्रशासनले काटेको पत्रमा १३ जना व्यक्तिको नाम छ।’

नक्कली सर्जिमिन मुचुल्का हस्ताक्षर गर्ने त्रियुगा नगरपालिका १० बस्ने अमिना खातनु, मो. साविर, मजिदा खातुन, कृष्णमाया राई, जुगेश्वर ठाकुर हजाम, प्रसान्त विक, दादिकी शेर्पा, निर्मलाकुमारी शर्मा, अनिताकुमारी ठाकुर, फिरोज मोहमद, सीता विक, सम्झना मगर र बन्दना मगरलाई हाजिर गराउन हाजिर गराउन वडा कार्यालयलाई पत्राचार गरिएको छ। ‘वडा कार्यालयले सबै कुरा पूरा गरेर ल्याएका छौँ भन्छ,’ उनले भने, ‘सक्कली र नक्कली थाहा पाउनै गाह्रो हुन्छ।’

जिल्ला उदयपुर त्रियुगा नगरपालिका १० बस्ने दिल मोहमदकी छोरी ३१ वर्षीया लजिना खातुनलाई त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष प्रकास कुमार खड्काको सिफारिसमा नागरिकता दिइएको थियो। नेपालको संविधानअनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वत: विदेशी हुने व्यवस्था छ। अविवाहित भनेर नागरिकता दिलाइएकी लजिनाका दुई सन्तान छन्।

२०५६ सालमा पहिलो र २०६८ सालमा दोस्रो विवाह गरेकी नजिनालाई जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७४ मंसिर १८ गते ०५२३० नम्बरको नागरिकता प्रदान गरेको थियो। २०४४ वैशाख १५ गते जन्म भई अविवाहित भएको भनी वडा कार्यालयको २०७४ मंसिर १३ गतेको सिफारिसको आधारमा प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले नागरिकता जारी गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा रहेको बेला जिल्ला प्रशासन कार्यालयको 'सेटिङ'मा विदेशीलाई नागरिकता दिइएको स्थानीयको आरोप छ।

कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुट्टो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। नागरिकता ऐन २०६३ को दफा २१ को (१) अनुसार झुट्टो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ भने दफा २१ कै (२) अनुसार कुनै विदेशीलाई झुट्टो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिना देखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यव्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.