|

ओखलढुंगा : ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला मासिन थालेको छ। पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण चिन्तित भएका हुन्।

विभिन्न रोगका कारण ओखलढुंगा जिल्लाभर लगाइएको जुनार सुन्तला ६० प्रतिशत भन्दा बढी मासिएको छ। अमिलो जातका फलफूलमा केही वर्षदेखि किराको प्रकोप त छँदै थियो अहिले अन्य रोगका कारण बिरुवा पनि सखाप हुन थालेका छन्। पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण जुनार सुन्तला ६० प्रतिशतसम्म मासिएका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको खुमलटार प्रयोगशालामा गरिएको परीक्षणमा ६ नमुनामा सिट्रस ग्रिनिङ फेला परेको थियो। सिन्धुलीमा देखा परेको केही वर्षपछि यो रोगले धनकुटा, ओखलढुंगा, रामेछाप, कास्की, तनहुँ, दैलेख, गोरखा, लमजुङ, कैलाली, डडेलधुरा, बैतडी, डोटी र सल्यानलगायत जिल्लामा व्यापक क्षति पुर्‍याएको बाली संरक्षण निर्देशनालयको बुलेटिनमा उल्लेख गरीएको छ।

बोटै सुकेर मर्ने समस्या व्यापक भएको र अहिलेसम्म रोकथामको प्रयास नै नभएको लिखु गाउँपालिका –६ गाम्नाङटारका कृषक रामचन्द्र भट्टराईले बताए। जिल्लामा गाम्नाङटार, रुम्जाटार, यसम, पोकली, रगनी, रावादोलु, कुन्तादेवी, मानेभञ्ज्याङ, माधवपुर, मोली, उँवु, बाक्सा सल्लेरी बेतीनी ज्यामिरे, च्यानम, कटुञ्जे लगायतका क्षेत्रमा जुनार सन्ताला खेती गरिँदै आइएको छ।  ग्रिनिङ रोग लागेपछि पातको नसा हरियो भए पनि पहेँलो भई सूक्ष्म तत्त्वको कमी भएजस्तो लक्षण हुने कृषि प्राविधिक विमला खड्का बताउँछिन्। यो रोग एक हजार मिटरभन्दा माथि पनि देखिन थालेको छ।

निर्देशनालयले यसअघि काभ्रे, धनकुटा, सिन्धुली र इलामका सुन्तला जात बालीको रोग उपचारका लागि अभियान सञ्चालन गरेको थियो। कृषि विज्ञका अनुसार फल्ने समयको ६ वर्षपछि यो रोगको प्रकोप देखापर्छ। रोग लागेपछि बोटको आकृति नै फरक हुन्छ। यो रोग कलमी गर्दा र सिट्रस सिल्ला किराले सार्ने जनाइएको छ। समस्याको सूचना आएपछि तुरुन्त अनुसन्धान र रोकथाम प्रयास गर्ने गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगा–सोलुखुम्बुका कृषि प्राविधीक हेम आलेमगरले बताए। सुन्तलामा लाग्ने सबै रोगलाई सिट्रस ग्रिनिङ भन्ने नसकिने उनको भनाइ छ।

पछिल्लो समय जिल्लामा अमिलो जातका बिरुवा कागती, निबुवा, जुनार सुन्तला लगाउने किसानहरू बढेका छन्। कतिपय स्थानमा कृषि फर्म नै दर्ता गरेर युवाहरू यो खेतीमा लागे पनि रोगले सताएपछि चिन्तित भएका छन्। व्यावसायिक रूपमा सुन्तला खेती गर्न लागिपरेका उनीहरू बर्सेनि बिरुवा मरेपछि निराश भएका छन्। ‘धेरै दुःख गरेर धान र कोदो फल्ने जग्गामा सुन्तला रोपियो। फल्ने बेला भएपछि सबै मरेर सकिएपछि अहिले सुकेको बोट काटेर दाउरा बाल्न थालेको गाम्नाङटार कृषक निलकमल भट्टराईले बताए।  

फल्ने बेला भएपछि पात पहेँलो हुने अनि बोटै मर्ने समस्या गाउँभरि रहेको उनले सुनाए। पहिले कृषि कार्यालयमा समस्या लिएर जाँदा ‘चुना दल्नु ठीक हुन्छ’ भनेर हलुका जवाफ पाएको तर मर्न नछाडेको किसान बताउँछन्। 'अहिले कृषि कार्यालय पनि छैन् स्थानीय तहमा कृषि प्राविधिक पनि छैनन्', भट्टराईले गुनासो गरे, 'यस्तो भयो भन्दै कहाँ जानु?'

१० वर्ष अघि लगाएका बिरुवाबाट दुई वर्ष मात्र फल खान पाएको सिद्धिचरण नगरपालlका ९ का टोकल श्रेष्ठको भनाइ छ। अघिल्ला दुई वर्ष प्रतिबोट एक डोकाका दरले फलेको सुन्तलाका बोट अहिले अधिकांश सुकेको श्रेष्ठले बताए। दुई वर्षअघि १ लाख ६० हजारभन्दा बढीको सुन्तला बेचेकी गाम्नाङटारकी सरस्वती भट्टराईले पनि अधिकांश बोट मरेको बताइन्। ‘जुनार सुन्तला बगान मासिँदै गयो। अलिअलि बाँचेकामा पनि झरेरै सकिने र एक वर्ष फलेको बोटमा अर्को वर्ष नफल्ने समस्या रहेको उनको भनाइ छ।

मौसम परिवर्तनका कारण सुन्तला मासिँदै भएको किसानको अनुमान छ। ‘हिमाल देखिने ठाउँमा अलि कम मरेका छन् हिमाल नदेखिने पाटाको बिरुवा धेरै मरेका लिखु–६ का कृषक तेजबहादुर खत्रीले बताए। पहिले फल्ने ठाउँमा नफल्ने र त्योभन्दा माथिल्लो उचाइमा फल्न थालेको उनको अनुभव छ। तत्कालीन जिल्ला कृषि विकास कार्यालयद्वारा प्रकाशित पुस्तकमा ८०० देखि १५ सय मिटर उचाइसम्म सुन्तला फल्ने उल्लेख छ। पहिलेभन्दा ढिलो सुन्तला पाक्न थालेको पनि किसानको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.