|

काठमाडौं : नेपाली कांग्रेसका चर्चित युवा नेता हुन्, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मामा। पार्टीका युवा नेता गगन थापापछि उनकै चर्चा हुन्छ। कांग्रेसमा केही युवा नेताको एउटा समूह छ। 

त्यो समूहमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, प्रदीप पौडेल, कमला पन्तलगायत पर्छन्। उक्त युवा नेताहरूको समूहका शर्मा भने अटाएका छैनन्। तर यसअघि उनी पनि साेही समूहमा हुन्थे।

निर्वाचनमा हार व्यहोरेपछि गठबन्धन सुरु गरेका युवा नेताको समूहमा सुरुका दिनमा शर्मा पनि थिए। पार्टी सुधारका लागि उनीहरूले सामूहिक रूपमा विभिन्न एजेण्डा ल्याउँदै आएका थिए। तर पछिल्लो समय शर्मा भने युवाहरूको रिङबाट आउट भएका छन्। उनलाई युवा नेताहरूले एक्ल्याएका छन्। गत पुसमा पार्टी सभापति शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेपछि उनी युवा नेताकोे ‘रिङ’बाट ‘आउट’ भएका हुन्। 

देउवा समूहका मानिने शर्मा गत वर्ष भएको संसदीय निर्वाचनपछि युवाहरूको समूहमा सक्रिय थिए। युवाहरूको समूह फुटाउनका लागि देउवाले शर्मालाई प्रवक्ता नियुक्त गरेको चर्चा पनि चल्ने गरेको छ। युवाहरूको उक्त समूहमा देउवा निकटका नेता भने छैनन्। पार्टीको १३औँ महाधिवेशनमा देउवा समूहमा हाम फालेका युवा नेता चन्द्र भण्डारी पनि महामन्त्री डा. शशांक कोइरालाको समूहमा फर्किएका छन्। 

प्रवक्ता नियुक्त भएपछि शर्मा पनि उक्त समूहमा निस्कृय छन्। प्रवक्ता नियुक्त भएको करिब एक वर्ष हुनै लाग्दासमेत उनी युवाले आयोजना गरेको कुनै पनि गोप्य छलफल तथा कार्यक्रममा सहभागी छैनन्। सुरुका समयमा युवा नेताहरूले आफूहरूको गोप्य छलफलमा शर्मालाई बोलाउने गरेका थिए। तर शर्मा सहभागी नभएपछि उनीहरूले आफूहरूको समूहबाट शर्मालाई बाहिर राखेका छन्। 

शुक्रबार पनि पार्टीका विषयमा छलफल गर्न तीनकुनेस्थित सिद्धार्थ कटेजमा कांग्रेसका युवा नेताहरू भेला भएका छन्। उक्त बैठकमा पार्टी महासमिति बैठक, नेविसंघको अबको बाटो, पार्टीमा युवाको भूमिका लगायत विषयमा छलफल भइरहेको छ। 

उक्त बैठकमा प्रवक्ता शर्मालाई निमन्त्रणसमेत गरिएन। ‘प्रवक्ता नियुक्त हुनुभन्दा अघिसम्म उहाँ हामीसँगै सक्रिय हुनुहुन्थ्यो’, एक युवा नेताले भने, ‘प्रवक्ता नियुक्त भएपछि उहाँलाई केही बैठकमा पनि बोलायौँ। तर उहाँ आउन छाड्नुभयो। अहिले त हामीले पनि बोलाउन छाड्यौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.